• १७ कात्तिक २०८२, सोमबार

जनकपुरधाममा सामा चकेवा महोत्सव

blog

सामाचकेवा महोत्सवमा समाचकेवा खेलको आफ्नो प्रस्तुति गर्दै दिदीबहिनीहरु । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, कात्तिक १६ गते । मैथिली विकास कोष जनकपुरधामले मधेश प्रदेशको राजधानी जनकपुरधामको जानकी मन्दिरको प्राङ्गनमा आइतबार साँझ सामा चकेवा महोत्सव २०८२ को आयोजना गरेको छ ।

 मिथिलाको कला सँस्कृतिको संरक्षण सम्बर्धनका लागि आयोजना गरिएको उक्त महोत्सवमा यस क्षेत्रका १३ वटा दिदीबहिनीको समूहले समाचकेवा खेलको प्रदर्शन गर्ने मैथिली विकास कोषले जनाएको छ । कोषले प्रत्येक समूहलाई समाचकेवा खेल प्रस्तुत गर्न २० मिनेटको समय दिएको र सो समयमा दिदी बहिनीहरुले आफनो खेल प्रस्तुत गर्नुको साथै सामाचकेवासँग सम्बन्धित विभिन्न खालका गीतहरु प्रस्तुत गरेका थिए । 

१३ वटा समूहमध्ये विजेता हुने प्रथम, द्वितीय र तृतीय समूहलाई क्रमशः ११ हजार, सात हजार र पाँच हजार नगदसहित प्रमाणपत्र उपलब्ध गराउने  मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले जानकारी दिनुभयो । 

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, जानकी मन्दिरका महन्थ राम तपेश्वर दाससहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । छठको खर्नावाट प्रारम्भ भएको सामाचकेवा पर्व कात्तिक पूर्णीमाको दिनमा सम्पन्न हुने गरेको छ । 

तराई मधेशमा मध्यरातिमा दिदी बहिनीले आफनो दाजुभाइकोे दीर्घायुको कामना गर्दै प्रत्येक दिन सामा खेल्ने गरेका छन् ।