मानव सभ्यताको विकासमा साहित्य र पत्रकारिताको निर्णायक भूमिका रहिआएको छ । संसारका सबै भेगका इतिहासमा पत्रकारिताभन्दा साहित्य जेठो रहेको पाइन्छ । मानव सभ्यताको विकाससँगसँगै विकसित भएर आएका धर्म, संस्कृति, दर्शन आदिले साहित्यकै माध्यमबाट जनमानसमा भिज्ने र फैलिने अवसर पाएका हुन् । शिक्षाको अवसर अत्यन्त सीमित वर्गलाई मात्र उपलब्ध रहेको त्यो युगमा साक्षरताको अवस्था पनि न्यून वा शून्यसरह हुनु स्वाभाविकै थियो । त्यस्तो अवस्थामा पनि लोकसाहित्यको माध्यमबाट जनमानसमा चेतनाको लहर फैलाउने काम साहित्यले नै गरेको थियो ।
आधुनिक पत्रकारिताको अवधारणाले जन्म लिनुभन्दा धेरै अघि विश्वविजयको महìवाकाङ्क्षा लिँदै रोमन सम्राट जुलियस सिजरले युद्ध अभियान चलाएका थिए । त्यस क्रममा उनले जारी युद्ध र प्लेग रोगको महामारीबारे जनसाधारणलाई आधिकारिक सूचना दिने परिपाटी चलाए । इसापूर्व ६९ मा पहिलो पटक रोम दरबारको बाहिर सार्वजनिक स्थानमा ‘एक्टा डिउर्ना’ नामको जानकारीपत्र प्रकाशित गरी युद्ध र महामारीबारे जानकारी दिने चलन चलाए । त्यतिखेर लेखपढ गर्न जान्ने मानिसहरू नगण्य मात्रामा हुने भएकाले पढ्न जान्ने दरबारका कर्मचारीले भेला भएका मानिसहरूलाई त्यसमा लेखिएका कुरा पढेर सुनाइदिने र कुरा बुझाइदिने गरिन्थ्यो भन्ने चर्चा रोमन इतिहासमा पाइन्छ । अहिलेसम्मको अनुसन्धान वा प्राप्त प्रमाणहरूका अनुसार त्यो ‘एक्टा डिउर्ना’भन्दा पहिले जनसाधारणलाई आधिकारिक रूपमा महìवपूर्ण जानकारी दिने उद्देश्यले त्यस प्रकारको व्यवस्था विश्वका अन्य स्थानमा भएको पाइएको छैन ।
बरु एक्टा डिउर्ना प्रकाशित हुन थालेपछि त्यसकै लोकप्रियताबाट प्रभावित भई रोमन साम्राज्यका अन्य स्थानबाट पनि ‘एक्टा सिनाटस’, ‘एक्टा पब्लिका’ आदि नामबाट सार्वजनिक चासोका विषयमा जनसाधारणलाई आधिकारिक जानकारी दिने व्यवस्था भएको पाइन्छ । त्यसैले एक्टा डिउर्नालाई नै पत्रकारिताको बीजारोपण मानिन्छ र यसको श्रेय सम्राट जुलियस सिजर र रोमन सभ्यतालाई दिने गरिन्छ ।
जहाँसम्म साहित्यको सन्दर्भ छ, पत्रकारिताको जस्तो साहित्यको जन्मको कुनै एक निश्चित समयविन्दु तोकेर भन्न सकिँदैन । किनकि मानिसको मन मस्तिष्कबाट अनायास नै सिर्जित लोकसाहित्यलाई कुनै एक निश्चित समयविन्दुमा किटान गरेर तोक्न सम्भव छैन । आजभन्दा करिब सात हजार वर्षअघिको घटना मानिएको रामायणको कथा संस्कृतका आदिकवि महर्षि वाल्मीकिले महाकाव्यका रूपमा लिपिबद्ध गरे । कुल पाँच सय सर्ग, सात काण्ड र २४ हजार श्लोक रहेको वाल्मीकि रामायणभन्दा अघि विश्वमा लिखित स्वरूपको यस्तो साहित्यिक कृतिको अस्तित्व रहेको प्रमाण भेटिएको छैन ।
रामायणभन्दा दुई हजार वर्षपछिको महाभारत पूर्वीय साहित्यको अर्को अत्यन्तै महìवपूर्ण धार्मिक साहित्य हो । एक लाख श्लोक रहेको महाभारतमा १८ पर्व रहेका छन् । यसका लेखक कृष्ण द्वैपायन हुन्, जो वेदव्यास ऋषिका नामले प्रसिद्ध छन्, उनैले वेद, पुराण, उपनिषद्समेत रचना गरेको मानिन्छ । यद्यपि स्वामी विवेकानन्दले वेदव्यास कोही एक व्यक्ति नभई प्रबुद्ध ऋषिमुनिहरूको एक समूह रहेको र त्यही समूहले विभिन्न कालखण्डमा हिन्दुत्वसम्बन्धी ती सबै महान ग्रन्थहरू रचना गरेका हुन् भन्ने तर्क गरेका छन् । यतिका सबै महान ग्रन्थहरू एक व्यक्तिले मात्र तयार गर्न सम्भव थिएन भन्ने उनको आशयमा विश्वास गर्न सकिने ठाउँ देखिन्छ । जे होस्, मानव सभ्यता आधुनिक युगमा प्रवेश गर्नुअघि नै कालजयी महान् साहित्यिक कृतिहरू दिनसक्नु पूर्वीय जगत्को कम ठूलो योगदान होइन ।
पश्चिमी जगतको प्राचीन साहित्यको कुरा गर्दा महान् ग्रिक कवि होमरको नाम सबैभन्दा अग्रपङ्क्तिमा आउँछ । उनले अनुमानित इसापूर्व आठौँ वा सातौंँ शताब्दीमा लेखेका इलियड र ओडिसी दुई महाकाव्यलाई युरोप महादेशकै सबैभन्दा प्राचीन साहित्यिक कृति मानिन्छ । ग्रिक भाषामा लिखित इलियडमा १५ हजार ६९३ पङ्क्ति छन् भने ओडिसी १२ हजार १०९ पङ्क्तिको छ । युद्धवीरहरूको गाथा र सुन्दरीहरूको कथा चित्रण गरिएका यी दुई कृतिको विश्व साहित्यमै ठूलो प्रभाव रहिआएको छ ।
यता प्राचीन विश्व साहित्यमा जापानको नाम पनि अग्रपङ्क्तिमा आउँछ । कालखण्डको हिसाबले रामायण, महाभारतजस्तो प्राचीन नभए पनि आजभन्दा करिब एक हजार वर्षअघि जापानी साहित्यकार मुरासाकी सिकिबुद्वारा रचित राजकुमार गेन्जीको कथालाई विश्वको पहिलो उपन्यास मानिन्छ । राजकुमार गेन्जीको जीवन र प्रेमसम्बन्धबारे रोचक चित्रण गरिएको यो उपन्यासकी स्रष्टा मुरासाकी एक नारी भएकीले पनि विशेष उल्लेखनीय मानिन्छ । आजभन्दा एक हजार वर्षअघि नै नारी स्रष्टाले ऐतिहासिक कृति रचना गर्न सफल भएको तथ्य एक अत्यन्त प्रेरणादायी उदाहरण हो । तर यो ऐतिहासिक तथ्यसँग आजका कति साहित्यकार तथा साहित्यप्रेमी परिचित होलान् ?
यी त भए प्राचीन साहित्यका केही प्रसङ्ग । साहित्यिक पत्रकारिताको प्रसङ्ग पनि यहाँ मननीय हुन आउँछ । यद्यपि प्राचीनताको दृष्टिले साहित्यभन्दा साहित्यिक पत्रकारिता धेरै कान्छो हो । पन्ध्रौँ शताब्दीको मध्यतिर सन् १४५५ मा जर्मनीमा जोहान गुटेनवर्गले मुद्रण प्रविधिको आविष्कार गरेपछि पुस्तक र पत्रपत्रिका छापिने क्रम सुरु भयो । आफूले आविष्कार गरेको प्रविधिको प्रयोग गरी गुटेनवर्गले सन् १४५६ मा प्रारम्भमा तीन सयप्रति बाइबल छापे । जर्मनी भाषामा रहेको त्यो बाइबललाई नै मुद्रण प्रविधिबाट छापिएको पहिलो पुस्तक मानिन्छ । गुटेनवर्गको प्रविधि सफल भएको परिणाम स्वरूप जर्मनीका विभिन्न सहरहरू र युरोपका विभिन्न मुलुकबाट पनि बेलाबेलामा सामयिक पत्रपत्रिका छापिने क्रम सुरु भयो । तीनमा फाट्टफुट्ट साहित्यिक सामग्री पनि प्रकाशित हुन्थे । सत्रौँ शताब्दीमा सन् १६६३ देखि सन् १६६८ सम्म जर्मनीको ह्यामवर्ग नगरबाट एक मासिक पत्रिका निस्कने गर्दथ्यो । यसका सम्पादक– प्रकाशक एक धार्मिक कवि जोहान रिस्ट थिए । यसमा धार्मिक तथा आध्यात्मिक भावनाका सामग्री प्रकाशित हुन्थे । यसैगरी सन् १६८४ मा फ्रान्सको राजधानी पेरिसबाट पियरे बोयलले ‘नुभेले दे ला रिपब्लिका लेटर्स’ प्रकाशित गरे । साहित्यिक सामग्रीको बाहुल्यता भएको त्यो मासिक पत्रिकाको सम्पादकीय साहित्यिक विषयमा केन्द्रित हुने गरेकाले यो पत्रिकालाई साहित्यिक पत्रिकामा गणना गरी युरोपको पहिलो साहित्यिक पत्रिकाको मान्यता दिइएको छ ।
भारतमा पत्रकारिताको इतिहास सन् १७८० मा जेम्स अगस्टस हिक्कीले कोलकताबाट साप्ताहिक बङ्गाल गजेट प्रकाशित गर्न थालेपछि भएको हो । हिन्दी साहित्यिक पत्रकारिताको प्रारम्भ भने सन् १९०० मा चिन्तामणि घोषद्वारा इलाहाबादबाट प्रकाशित ‘सरस्वती’ नामक साहित्यिक पत्रिकाबाट भएको पाइन्छ । प्रसिद्ध भारतीय साहित्यकार महावीरप्रसाद द्विवेदीले १७ वर्षसम्म यो पत्रिकाको सम्पादक भएर सेवा गरेका थिए । हिन्दी गद्य र पद्य साहित्यको लोकप्रियता वृद्धिमा ‘सरस्वती’को ठूलो योगदान रहेको बताइन्छ । त्यसो त योभन्दा धेरैअघि सन् १८२१ मै राजा राममोहन रायद्वारा कोलकाताबाट प्रकाशित बङ्गाली साप्ताहिक ‘संवाद कौमुदी’ले पनि बङ्गाली साहित्यको उन्नयनमा योगदान गरेको थियो । राजा राममोहन सती प्रथालगायत भारतीय समाजमा प्रचलित अमानवीय विभिन्न अन्धविश्वासका कट्टर विरोधी थिए । साहित्यका माध्यमबाट त्यस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउन राममोहनले ‘संवाद कौमुदी’लाई एक सशक्त माध्यम बनाएका थिए । भारतवर्षका भाषासाहित्यहरूमध्ये संस्कृतपछि तमिल साहित्यको इतिहासलाई प्राचीन मानिन्छ ।
नेपालका सन्दर्भमा कुरा गर्दा साहित्यकै जगमा नेपाली पत्रकारिताको विशाल मन्दिर उभिएको पाइन्छ भने पत्रकारिताकै माध्यमबाट नेपाली साहित्यले फैलिने माध्यम पाएको देखिन्छ । यद्यपि दक्षिण एसियाली पत्रकारितामा नेपाली पत्रकारिता निकै कान्छो हो, कठोर र निरङ्कुश राणा शासनका कारण शिक्षाबाट वञ्चित हुनुपरेकाले । नेपालभित्रैबाट पत्रिका प्रकाशन गर्न सकिने वातावरण नभएकाले नै बनारसमा विद्यार्थी जीवन बिताइरहेका मोतीराम भट्टले विसं १९५० मा रामकृष्ण बर्माको समेत सहयोग लिई उतैबाट मासिक ‘गोर्खाभारत जीवन’ प्रकाशित गरे । नेपाली भाषामा प्रकाशित त्यो नै पहिलो पत्रिका थियो । पर्याप्त प्रमाणहरूको अभावमा त्यस पत्रिकाका बारेमा विस्तृतमा केही भन्न नसकिए पनि मोतीराम आफैँ साहित्यसेवी भएकाले त्यस पत्रिकामा साहित्यिक सामग्रीलाई पर्याप्त स्थान दिइएको हुनुपर्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । नेपाली भाषामै र नेपालबाटै प्रकाशित पूर्ण साहित्यिक पत्रिका भने विसं १९५५ मा प्रकाशित ‘सुधासागर’ हो । यसको पूर्ण श्रेय नरदेव पाण्डेलाई जान्छ । यद्यपि सुधासागरका प्रतिहरू उपलब्ध नभएका कारण यसको योगदानबारे विश्लेषण गर्न सम्भव भएको छैन ।
त्यसपछि वि.सं.१९५८ वैशाखदेखि राज्यसत्ताकै सदिच्छाबाट ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशित भयो । यसका लागि तत्कालीन प्रधानमन्त्री देवशमशेर सधैँका लागि धन्यवादका पात्र बनेका छन् । सुधासागरका संस्थापक नरदेव पाण्डेलाई नै देवशमशेरले गोर्खापत्र प्रकाशनको गहन जिम्मेवारी सुम्पेकाले सुधासागरको साइनो गोर्खापत्रसँग जोडिएको छ । गोर्खापत्र नेपालको पहिलो अखबार भए पनि नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा यसको योगदान अतुलनीय रहिआएको छ । गोर्खापत्रका विशेषाङ्क र शनिवासरीय अङ्कहरूले नेपाली साहित्यका विकासका लागि फराकिलो बाटो दिँदै आएका छन् । पूर्ण साहित्यिक प्रकाशनको कुरा गर्दा शारदा मासिक (विसं १९९१), उद्योग ( १९९२), साहित्य स्रोत (२००४), घरेलु इलम पत्रिका (२००४), आँखा (२००५) आदिको पनि योगदान रहेको पाइन्छ । त्यसमा पनि विशेषगरी शारदा र उद्योगले धेरै साहित्यकारहरूलाई जन्माएको इतिहास छ ।
नेपाली साहित्य र नेपाली पत्रकारिताबीचको सम्बन्ध निकै घनिष्ठ र गहिरो छ । यो सम्बन्धको इतिहास उनै महान् विभूति युवक कवि मोतीराम भट्टको सत्कर्मदेखि नै प्रारम्भ भएको पाइन्छ । किनकि उनले नेपाली भाषामा पहिलो पत्रिका प्रकाशित गर्ने ऐतिहासिक साहस गरे भने उनी एक प्रतिभाशाली साहित्यकार त छँदै थिए । उनले बनारसबाट गोर्खाभारत जीवन मासिक पत्रिका निकाल्ने आँट नगरेका भए त्यसबाट प्रेरित भएर काठमाडौँबाट सुधासागर प्रकाशित हुने वातावरण बन्दैन थियो । सुधासागर प्रकाशित गरेर काठमाडौँमा एउटा सिर्जनशील वातावरण सिर्जना गर्न नसकेका भए नरदेव पाण्डेले गोर्खापत्र प्रकाशित गर्ने ऐतिहासिक जिम्मेवारी सायद पाउँदैन थिए होलान् । त्यसैले नेपाली भाषाको पहिलो पत्रिका गोर्खाभारत जीवन, नेपालबाट प्रकाशित पहिलो पत्रिका सुधासागर र नेपाली भाषाको पहिलो अखबार गोर्खापत्रको जन्म एकै शृङ्खलाका कडी बनेका छन् ।
नेपाली साहित्य र पत्रकारिताको विगत पल्टाउँदा एकै व्यक्तिले साहित्य र पत्रकारिता दुवै क्षेत्रमा सक्रिय योगदान पु-याएका प्रशस्त दृष्टान्त भेटिन्छन् । यस्ता महारथिहरूमा मोतीराम, नरदेव, जयपृथ्वीबहादुर सिंह मात्र हैन शारदाका सम्पादक ऋद्धिबहादुर मल्ल, घरेलु इलम पत्रिकाका सम्पादक भीमनिधि तिवारी, साहित्य स्रोत र पछि जागरण साप्ताहिकका पनि सम्पादक हृदयचन्द्रसिंह प्रधान, नेपालको पहिलो दैनिक अखबार आवाजका सम्पादक युगकवि सिद्धिचरण श्रेष्ठ, रेडियो नेपालका संस्थापक निर्देशक कथाकार तारिणीप्रसाद कोइराला आदिका नाम अग्रपङ्क्तिमा आउँछन् ।
साहित्य सिर्जना र पत्रकारिता दुवै क्षेत्रमा कलम चलाएर जीवनको भारी बिसाइसकेका हाम्रा अग्रजहरूलाई पनि यस सन्दर्भमा सम्झनै पर्ने हुन्छ । रूपरेखा साहित्यिक पत्रिकाको माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि प्रशस्त सेवा गरेका श्रद्धेय बालमुकुन्ददेव पाण्डे अखबारी पत्रकारिताका पनि एक हस्ती हुनुहुन्थ्यो । यसैगरी हाँस्यव्यङ्ग्यका महारथि भैरव अर्याल र केशवराज पिँडाली, आख्यानकार मदनमणि दीक्षितले पत्रकारिता क्षेत्रमा पु-याएको योगदान इतिहासमा स्पष्टसँग अङ्कित छ । समाचारकर्मीको पेसामा जीवन विताएका दुर्लभलालसिंह, बासु रिमाल यात्री, लीलासिंह कर्मा, अमृतलाल श्रेष्ठ, शिव अधिकारी आदिका साहित्यिक सिर्जना हाम्रो साहित्य भण्डारमा सुरक्षित रहेका छन् ।
विद्वान् म्याथु आरनोल्डले ‘पत्रकारिता हतारिएको साहित्य हो’ भनेका थिए । यस हिसाबले साहित्यलाई पनि फुर्सदको पत्रकारिता हो भन्दा गल्ती हुँदैन । किनकि साहित्य र पत्रकारिता दुवैको लक्ष्य मानिसलाई सजग, सचेत र संवेदनशील बनाउनु हो । साहित्य र पत्रकारिता दुवै संदेशवाहक हुन् भने अभिव्यक्तिका सशक्त माध्यम । कुनै एक देश वा भूगोलको मात्र होइन, समग्र मानव सभ्यताकै अग्रगामी यात्रामा साहित्य र पत्रकारिता एकै रथका दुई पाङ्ग्रासरह चलायमान रहँदै आएका छन् र रहिरहने छन् ।