साहित्यिक पत्रकारिताको ढोका कहिले खुल्यो ! यतातिर सोच्ने हो भने म कताकता बरालिन्छु । जसका बारेमा केही सोचिएकै थिएन, त्यतातिरको लक्ष्य, चुली देखिने कुरो पनि भएन । यस्तोमा अगाडिको यात्रामा पाइला लम्काउने कुरै थिएन ।
तर बिउ तीस वर्षअघिदेखि नै ब्याडमा अल्झिएको रहेछ कि ! त्यस्तै लाग्छ । यो मेरो भ्रम पनि हुन सक्छ । कहिलेकाहीँ भ्रममै रमाउँदा पनि आनन्द त लाग्छ नि ।
यद्यपि यो भ्रम होइन, यथार्थ हो । यदि अन्तरकुन्तरमा बिउ नअड्किएको भए साहित्यिक पत्रकारिताले तान्दैनथ्यो होला । आज यसरी साहित्यिक पत्रकारितामा रमाइन्थेन होला ।
थोरै भए’नि त्यसले बल पक्कै दिएको हो । त्यही बलले आज पाइला अघि सर्दैछ ।
२०५२÷५३ सालदेखि एफएम रेडियो परम्परा भित्रियो । त्यसैले भिœयायो मलाई पनि आवाजको परिवेशमा । अनि रेडियोमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै गइयो । सुरुमा गुडनाइट एफएम । पछि केएटीएच एफएम ९७.९ (अहिलेको इमेज) ।
त्यहाँ प्रवेशसँगै गजल कार्यक्रमसँग जोडिएँ । परन्तु एउटा साहित्यिक कार्यक्रमसँग म जोडिएको छु भन्ने हेक्का कहिल्यै भएन !
साहित्यको काव्य विधामा गजलको आफ्नै महìव छ । आज गजल विधाले बेजोडको उचाइ लिएको छ । मैले इमेज रेडियोमा ‘साम–ए–गजल’ चलाउँदा गीत गजलको कार्यक्रमका रूपमा मात्रै चलाएँ, न कि साहित्यिक ।
साहित्यको एउटा विधा यो पनि हो भन्ने सोच नै भएन कहिल्यै ! जब कि कार्यक्रम चलाउँदा हिन्दी÷उर्दू गजल बजाए पनि (रेकर्ड भएका नेपाली गजल कम थिए) अनेकानेक साहित्यिक पत्रपत्रिकाहरूमा प्रकाशित नेपाली गजलहरू वाचन गर्दै आएको थिएँ ।
यसै क्रममा थाहा पाएको थिएँ, नेपाली गजल लेख्ने पनि टन्नै छन्– मनु ब्राजाकी, बूँद राना, ज्ञानुवाकर पौडेल, सनतकुमार, रवि प्राञ्जल, करुण थापा, ललिजन रावल, वियोगी बुढाथोकी, दिव्य गिरी, रामलाल जोशी, श्रेष्ठ प्रिया पत्थर, कृष्णहरि बराल, घनश्याम परिश्रमी, गोपाल अश्कलगायत ।
यसरी हेर्दा रेडियोमा साहित्यिक कार्यक्रम नै चलाइरहेको थिएँ कि । जब कि मानसिक रूपमा साहित्यिक कार्यक्रम सञ्चालन गरिरहेको छु भन्ने नै थिएन !
हठात् ‘सारस्वत’को सञ्चालन मेरो काँधमा आइपुग्यो । रेडियोमा साहित्यिक कार्यक्रम भनेर घोषित प्रस्तुति थियो ‘सारस्वत’, जुन श्रीओम श्रेष्ठ रोदनले सञ्चालन गर्थे । र, उनले एफएम छोडेपछि स्टेसन म्यानेजर भरत शाक्यले कार्यक्रम मेरो जिम्मा लगाएका थिए ।
साताको एक घण्टा बज्ने यस कार्यक्रममा साहित्यकारहरूसँगको कुराकानी प्रस्तुत हुँदै आएको थियो ।
यो प्रस्तुति मेरा लागि सहज थिएन् । ‘साम–ए–गजल’मा धेरै साहित्यकारका गजल वाचन गरे पनि साहित्यकारहरूसँग मेरो खासै सङ्गत थिएन् । त्यसैले श्रीओमले एफएम छोडे पनि ‘सारस्वत’मा भूमिगत उपस्थिति भने जनाइरहे, मेरा लागि । उनले मलाई हरेक कार्यक्रमको निर्माण र प्रस्तुतिमा सहयोग गरे ।
एफएम रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालनमा त आयो तर त्यसले सोचेजस्तो व्यापार दिन नसकेको तर्क गर्दै कार्यक्रम बन्द भयो । त्यसपछि साहित्यिक कार्यक्रमका लागि भनेर समय नै तोकिएन !
आज विचार गर्दा लाग्छ, एफएमहरूमा नगेन्द्रराज शर्मा र रोचक घिमिरेजस्ता अग्रज साहित्यिक पत्रकारझैँ सोच्ने कोही भइदिएको भए कसै न कसैले ‘सारस्वत’लाई सञ्चालन गरिरहेका हुने थिए ।
साहित्यिक पत्रकारितामा म यसरी नै छिरेँ । बिनाकुनै टेको । तर बिउ उहिलेकै थियो, जतिखेर योगानन्द वैद्य दाइले ‘यौवन डाइजेस्ट’का लागि केही लेख्न भन्थे र म धर्मयुग, मुक्ता, सरिताबाट अनुवाद गर्दै बुझाउँथे । छापिन्थ्यो पनि ।
जागृति साप्ताहिकका सम्पादक शक्तिराम भण्डारी (सान्दाइ) पनि यदाकदा पत्रिकामा साहित्यिक सामग्री राख्ने गर्थे । त्यसैले मलाई लेख्न हौस्याउँथे । त्यसैले त उतिखेर गरिएको सुदूरपश्चिम यात्राबारे संस्मरण लेख्न हौस्याए । मैले लेखेँ, सायद यात्रा विवरण । छापियो पनि ।
उप्रान्त एक दिन सान्दाइले एक जनासँग कुराकानी गरेर फिचर बनाउन भने । ती मानिस थिए, गुमानसिंह चाम्लिङ । जो दार्जिलिङबाट काठमाडौँ आएका थिए । उनी पुतलीसडकबाट कुमारी हल जाने बाटोको एउटा होटलमा बसेका थिए ।
कवि साहित्यकार चाम्लिङसँगको साहित्यिक भलाकुसारी जागृतिमा छापियो । के छापियो कसरी छापियो, आज स्मृतिमा छैन । वश, उनीसँगको भेटघाट मात्रै सम्झनामा छ ।
यसरी नै बिउ बाँकी रहेको थियो होला साहित्यिक पत्रकारिताको ! योसँगै अर्को बिउ रङ्गमञ्च पत्रकारिताको थियो । तिनताक नाटक हेरिन्थ्यो अनि त्यसबारेमा साप्ताहिक पत्रिकाहरूमा लेखिन्थ्यो ।
तीसको दशकको अन्त्य र चालीसको प्रारम्भको त्यो समय नेपाली नाट्य क्षेत्रले गज्जबको उचाइ पक्डेको थियो । नाटकले सबैलाई तानेको थियो । सिनेमा हेर्नभन्दा पनि नाटक हेर्न बढी दर्शक आएका हुन् कि भन्ने भान हुन्थ्यो ।
नाचघर, सभागृह, प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय, अनि त्यहाँ नाटक देखाउन नपाए कीर्तिपुरस्थित अडिटोरिएम; यी सबैतिर कुनै न कुनै नाटक मञ्चन भइरहेका हुन्थे । दर्जनौ नाट्य संस्थाहरू रङ्गमञ्चमा क्रियाशील थिए । कहीँकतै हल खाली भएको सम्झना छैन ।
अझै सर्वनाम नाट्य समूहले त सडक नाटक अभियान नै सुरु गरिसकेको थियो । सर्वनाम मञ्चमा मात्रै होइन, सडकमा पनि नाटक गथ्र्यो ।
म सभागृह र नाचघरमा हुने नाटकहरूको नियमित दर्शक थिएँ । कुनै पनि समूहले गरेको नाटक होस् अथवा नाचघरकै नाटक किन नहोस्, हेर्न पुग्थेँ । हल मात्रै नभएर सडकमै उभिएरै कति नाटक हेरेको छु ।
त्यसैताका जागृतिसँगै नेपालवाणी, नेपाल पुकार, प्रकाशदीपसहित आधा दर्जनभन्दा बढी साप्ताहिक पत्रिकाहरूसँग म आबद्ध थिएँ । कतै न कतै केही न केही लेखिरहन्थेँ । त्यसैले नाटक हे-यो र तिनका विषयमा टिप्पणी लेख्यो ।
यसैगरी मेरो साहित्यिक पत्रकारिता (?) चलिरहेको थियो । नाटक पनि साहित्यको एउटा विधा भएकाले नाटक र त्यसका कलाकारहरूबारे लेखिनुलाई साहित्यिक पत्रकारिता भन्न सकिन्थ्यो होला ।
मभने त्यसबेला साहित्यिक पत्रकारिता गरिरहेको थिइनँ । साहित्यिक पत्रकारिताको मार्गमा छु, यो ज्ञान ममा पटक्कै थिएन । यो विषयलाई लिएर कसैले केही भनेका पनि होइनन् । मनले मलाई मूलधारकै पत्रकारिता गराइरहेको थियो ।
त्यो समय पुस्तकालयमा भेटिएका साहित्यिक पत्रिकाहरू पढिन्थ्यो । विशेषगरी गोरखापत्र शनिबारीय पृष्ठ, मधुपर्क, रचना, अभिव्यक्ति, रूपरेखा, दीपिकासँगै हिन्दी भाषाका सारिका, हंस र कादम्बिनी । त्यसबाहेक पुस्तकालयमा भेटिने मुक्ता, सरिता, नवनीतलगायतले ध्यान खिच्थे ।
साहित्यिक पत्रिकाहरूले उहिल्यै ध्यान ताने पनि साहित्यिक पत्रकारिताले निकैपछि मात्रै आफूतिर आकर्षित ग-यो । त्यसैले एक पटक साहित्यिक पत्रिका निकाल्ने टुङ्गोमा हामी केही साथीभाइ पुगेका थियौँ ।
केही साथीहरूको एउटा जमघटमा साहित्यिक पत्रिका प्रकाशन गर्ने कुरो उठ्यो । हामी छ भाइ थियौँ जमघटमा । वासु, रमेश, उद्धव, सुरेन्द्र, राजेन्द्र र म उपस्थित त्यस जमघटमा केही गर्नुपर्छ भन्ने छलफल गर्द मलाई जिम्मा लगाउनेगरी साहित्यिक पत्रिका प्रकाशनको चाँजोपाँजो मिलाइयो ।
तर केही दिनमै ‘साहित्यिक पत्रिका निकाल्न गाह्रो हुन्छ । बरु डाइजेस्ट म्यागेजिन निकालौँ’ भन्ने कुरो चल्यो । त्यसो त डाइजेस्ट म्यागेजिनको प्रकाशन पनि सहज थिएन । तथापि साहित्यिक पत्रिकाभन्दा केही सजिलो हुने सबैले ठान्यौँ । साहित्यिक पत्रिका भाषागत रूपमा अत्यन्तै बलियो हुनुपर्ने, प्राप्त सामग्री पनि स्तरीय हुनुपर्ने भएकै कारण डाइजेस्ट सजिलो ठानिएको थियो । यसरी नै एउटा पत्रिका सुरु गरियो ।
त्यो पनि समयमा प्रकाशित गर्न सकिएन । जहिल्यै तोकेको मितिभन्दा दुई चार महिना पर धकेलिने ! प्रकाशित भए खर्च धान्न गाह्रो । विज्ञापन छाप्न त सकिन्थ्यो तर पैसो उठाउन सकिन्थेन । त्यसैले असमय त्यो पत्रिका स्थगनको मार्गभित्र पस्यो ।
यति बेलासम्म पनि श्रीओमसँग निकट सम्बन्ध भएकाले उनले पटक पटक साहित्यिक पत्रकारितामा लाग्न भनिरहे । तर मैले टार्दै गएँ ।
जब हिमालय टाइम्स दैनिकमा आर्टिकल (विचार) पृष्ठ हेर्न थालेँ, त्यसपछि भने शनिबारका लागि साहित्यिक लेख–रचनाको खोजीमा जुट्नुपर्ने भयो । साहित्यिक रचनाको खोजी बाध्यता थियो । हरेक शनिबारका लागि दुई–चार रचना आवश्यक पथ्र्यो । कथा, कविता, निबन्ध, यात्रा संस्मरण, साहित्यकारसँगका कुराकानी । (यही समयमा मेरा संस्मरणहरूले पनि जन्मिने मौका पाएका हुन् ।)
आज बाह्रखरी डिजिटल न्युजको साहित्य पृष्ठ संयोजनले साहित्यिक पत्रकारिता कति गम्भीर विषय हो भन्ने सिकाएको छ । अर्थात् जेजसो गरेर भए पनि साहित्यिक पत्रकारितामा होमिएपछि अनुभूत भएको छ, साहित्यिक पत्रकारिता वास्तवमै कठिन कार्य हो । सजिलो छैन । सहज पनि छैन ।
सहज छैन, सजिलो छैन भन्दाभन्दै पनि यसैमा एकोहोरो लाग्नेहरूले आज पनि छापा माध्यमबाट साहित्यिक पत्रिका निरन्तर प्रकाशित गर्दै आएका छन् । निःशुल्क वितरण गरिनु त्यो अर्के पाटो हो । तर प्रकाशित भइरहेका छन् । यतातिर लाग्नेलाई ऊर्जा दिइरहेका छन् ।
‘अभिव्यक्ति’का नगेन्द्रराज शर्मा, ‘रचना’का रोचक घिमिरे पचास साठी वर्षअघिदेखि साहित्यिक पत्रकारितामा छन् । निरन्तर छन् । ती दुवै, हामीजस्ता अनुज पुस्ताका लागि उत्प्रेरक छन् । यी दुवैसँगको सङ्गतले साहित्यिक पत्रकारितामा लाग्ने हामीजस्तालाई अथाह बल मिल्छ । ऊर्जा प्राप्त हुन्छ । यस्तै ऊर्जा समेटेरै त छापा माध्यमका दायित्व, जनमत, शिवपुरी सन्देश, शारदा, नवप्रज्ञापन, शब्दाङ्कुर, कल्पतरु, शब्द संयोजनलगायतका दर्जनौँ पत्रिका निरन्तर प्रकाशित भइरहेका छन् । र, निरन्तरताको दौडाइमा छन्, तिनका सम्पादकहरू ।
अनि तिनै अग्रजहरूको निरन्तरताबाट ऊर्जा ग्रहण गर्दै पछ्याउँदो छु म पनि, समयानुकूलको डिजिटल मिडियाबाट ।