• ९ मंसिर २०८१, आइतबार

साहित्य र आमसञ्चार

blog

साहित्य आफैँ पनि मानिसका विचार, भावना र आवेग–संवेगहरूलाई प्रभावकारी ढङ्गमा व्यक्त गर्ने एक माध्यम भएकाले यसलाई आमसञ्चारमाध्यममध्येकै एक मान्न खोजियो भने खासै अन्यथा भइहाल्दैन । तर आमसञ्चारका अन्य माध्यमहरूका तुलनामा साहित्य यसका सर्जकको दिमागको भन्दा बढी हृदयको नजिक हुने, यसको रचना प्रक्रिया नितान्त वैयक्तिक हुन सक्ने र यसलाई अभिव्यक्त गर्ने तरिका पनि सर्जकैपिच्छे विशिष्टीकृत हुनेहुँदा यसलाई जानिफकारहरूद्वारा सामान्यतः आमसञ्चारका अन्य अनेक माध्यमजस्तै एउटाका रूपमा लिइने गरेको भने पाइँदैन । साहित्य र आमसञ्चारका अन्य माध्यमबीचको विभाजन रेखा निकै पातलो हुन्छ । यति हुँदाहुँदै पनि साहित्यलाई आमसञ्चारका अन्य प्रचलित माध्यमकै रूपमा लिने र बुझ्ने प्रयत्न गर्दा त्यसले बहुधा दिन खोज्ने गहन सन्देश र बोक्ने अर्थ–गाम्भीर्यसम्म यसको उपभोक्ता अथवा पाठकले सहज रूपमा पहुँच बनाउँन नसक्ने हुनाले पनि साहित्यलाई आमसञ्चारका अन्य प्रचलित माध्यमभन्दा पृथक् राखेर विशिष्ठ महìवका साथ हेरिँदै आएको हुनुपर्छ । त्यसमाथि साहित्य मानव मात्रले आफ्ना विचार, भावना र आवेग–संवेगलाई प्रकट गर्न अपनाएका माध्यमहरूमध्ये सबैभन्दा पुरानाहरूमध्ये एक पनि हो । लोकभाकाका गीत र चित्रकारीपछि साहित्य सम्भवतः मानिसले आफूलाई अभिव्यक्त गर्नका लागि सन्धान गरी अवलम्बन गरेको सबैभन्दा पुरानो र सशक्त माध्यम हो । आमसञ्चारका आज अत्यधिक मात्रामा प्रचलित हुन पुगेका माध्यमहरूको नामनिसान नै नभएको बेलामा साहित्य नै मानवीय अभिव्यक्तिको एक सशक्त र मनोरम माध्यमका रूपमा लोकप्रिय भइसकेको थियो भन्ने कुरा पनि यहाँनेर स्मरणीय छ । साहित्य मानव सभ्यताले आफ्नो लामो यात्राका क्रममा टेकेको विशिष्ठ कलात्मक खुड्किलो हो ।      

आमसञ्चारका प्रचलित माध्यमहरूको उपभोग गर्ने क्रममा तिनका उत्पादक र उपभोक्ता दुवैको सहमतिमा गर्नुहुने र नहुने कामहरूको सूचीका आधारमा सबैलाई मान्य हुने किसिमको आचारसंहिता तयार गरेर लागू गरिँदै आएको देखिन्छ घटी–बढी मात्रामा संसारभरि नै । त्यस्ता आचारसंहिताहरू तयार गरी तिनको प्रभावकारी कार्यान्वयनको प्रत्याभूति गर्नका लागि अन्तर्राष्ट्रिय महासभाहरूको आयोजना गरिने गरिन्छन् र तिनले सदस्य राष्ट्रहरूमा आमसञ्चारसम्बन्धी वैश्विक नीति र आचारसंहिता लागू गर्ने परिप्रेक्ष्यमा विभिन्न सन्धिसम्झौताहरू गर्ने गर्छन् । ती सन्धि–सम्झौताका आधारमा तयार गरिएका त्यस्ता आचारसंहितासम्बन्धी हातेपुस्तक (म्यानुअलहरू)समेत लाखौँको सङ्ख्यामा छपाएर वितरण गर्ने गरिन्छ प्रत्येक साल । अन्तर्राष्ट्रिय अभिसन्धिहरूले पारित गरेर लागू गरेका आम–सञ्चारसम्बन्धी त्यस्ता आचार संहिताहरूको कार्यान्वयनको स्थिति कस्तो छ भनेर हेर्न मात्र पनि विभिन्न पर्यवेक्षण निकायहरू खडा गरिएका छन् । तिनीहरूले प्रत्येक वर्ष विश्वभरि आमसञ्चारसम्बन्धी आचारसंहिता कार्यान्वयनको स्थितिको मूल्याङ्कन गरी प्रतिवेदनहरू सार्वजनिक गर्ने गर्छन् । ती प्रतिवेदनका आधारमा आमसञ्चारको क्षेत्रमा आजको विश्व अथवा आजको प्रबुद्ध मानिस कहाँनेर उभिएको छ भन्ने कुराको निक्र्यौल गर्ने प्रयास गरिन्छ ।  

साहित्यको हकमा भने यस्ता कुराको कुनै अर्थ हुँदैन । न त साहित्य–सर्जकमाथि कुनै किसिमको नीति र संहिताको बन्धन लगाउन सकिन्छ न त कुनै पनि सिर्जना यसैगरी रचिएको हुनुपर्छ भनेर कुनै नमुना नै सुझाउन सकिन्छ । साहित्यबाहेकको आमसञ्चारको अन्य कुनै पनि माध्यमले त्यसको उपभोक्तामाथि पार्न सक्ने सकारात्मक वा नकारात्मक प्रभावको झन्डै झन्डै वस्तुगत आँकलन गर्न सकिन्छ तर साहित्यले त्यसको अमुक पाठक वा पाठकहरूको समूहमाथि यस्तै किसिमको प्रभाव पारेको छ भनेर निश्चित रूपमा कहिल्यै पनि भन्न सकिँदैन । साहित्य निजात्मक अन्तरङ्ग अभिव्यक्तिको स्वच्छन्द माध्यम भएकाले यसमाथि कुनै पनि किसिमको निषेध, वर्जना वा प्रतिबन्ध लगाउन खोज्नु नैसर्गिक मानवीय प्रकृतिको बर्खिलाप जाने विषय हो । साहित्यले आफ्ना पाठकहरूबाट पनि लगभग सर्जककै कोटिको संवेदना, अन्तर्दृृष्टि र ग्रहणशीलताको माग गर्ने हुनाले फलानो साहित्य खराब थियो र त्यो पढेकै कारणले अमुक पाठकलाई यति र यस्तो मानसिक क्षति भयो भन्ने किसिमको मनोगत दाबी गर्न मिल्दैन । कसैले त्यस्तो दाबी गरिहाल्यो भने पनि त्यसलाई तथ्यका आधारमा प्रमाणित गर्न असम्भव हुने हुनाले त्यस्तो कुनै पनि दाबी हास्यास्पद हुन जान्छ । यो कोणबाट हेर्दा साहित्यलाई सञ्चारको एउटा माध्यमका रूपमा लिन सकिने भए पनि यसको मौलिक चरित्र एकदमै बेग्लै छ र यसलाई आमसञ्चारको एक सामान्य माध्यमका रूपमा मात्र अथ्र्याएर हेर्न खोजियो भने त्यसले भ्रमको स्थिति मात्र सिर्जना गर्दछ भन्न सकिन्छ । 

अभिव्यक्तिको एक अत्यन्त प्रभावकारी माध्यमका रूपमा साहित्यको आमसञ्चारको क्षेत्रमा महìवपूर्ण स्थान छ भन्ने कुरामा कुनै विवाद छैन । हो, साहित्य आफ्नो विशिष्ठ प्रकृतिका कारण आमसञ्चारका अन्य माध्यमभन्दा निश्चित रूपले फरक छ तर यसको र आमसञ्चारका अन्य माध्यमका बीचको दूरी धेरै फराकिलो छ भन्ने पनि होइन । सञ्चारका यी सबै माध्यम मानवीय अभिव्यक्तिसँग गाँसिएका हुनाले यिनीहरूको अन्तर्य एउटै, मान्छेलाई आत्मवीक्षण गर्न सघाउन, एउटा समाजलाई अर्को समाजसँग भावनात्मक स्तरमा जोडिन मद्दत गर्न र समग्रमा मानिसलाई वाचाल र मुखर बनाउने प्रक्रियामा जान उत्प्रेरत गर्नमा निहित छ । त्यसैले यिनका बीचको अन्यान्योश्रित सम्बन्धलाई बुझ्न यी माध्यम कुन बिन्दुुमा कसरी अन्तक्र्रियात्मक हुन्छन् त्यस कुराको पडताल गर्नु जरुरी हुन आउँछ । साथै आमसञ्चारका आज प्रचलित विभिन्न माध्यमको उद्भव र विकास क्रमको तुलनात्मक अध्ययनले पनि यिनका बीचको अन्तर्सम्बन्धका विविध आयामलाई बुझ्न सजिलो बनाउँछ । 

आमसञ्चारका अन्य कतिपय माध्यमहरूको तुलनामा साहित्यको विकासयात्रा निक्कै लामो छ । मानव सभ्यताको यात्राका क्रममा मानिसलाई लडाइँ र झगडा, बारुद र बन्दुक, रगत र आँशुको भलबाट बाहिर निकालेर प्रेम, भ्रातृत्व, सहजीवन र सहयात्राको लोकमार्गमा हुलिदिने पुनीत कर्ममा कुनै एक तìवको सबैभन्दा ठूलो भूमिका छ भने निर्धक्कसँग भन्न सकिन्छ साहित्यको नै छ । धर्म, दर्शन, अध्यात्म, पराचिन्तनमुखी उपदेश जस्ता मानव समाजमा धेरै पहिलादेखि प्रचलित बौद्धिक विलासका विषयहरूको आदिस्रोत पनि साहित्य नै हो । साहित्यले नै छापा पत्रकारहरूलाई कसरी प्रभावकारी भाषा र भङ्गिमामा समाचार–कथाहरू सुनाउन सकिन्छ भनेर सिकाएको हो । साहित्यले नै टेलिभिजनमा बोल्ने वाचक–वाचिकाहरूलाई श्रोताको मनलाई छुने शब्द र तिनको ओजका बारेमा पाठ पढाएको हो । साहित्यले नै आमसञ्चारका अरू माध्यमहरूलाई शिष्ठता, सौमनस्य र वागदेवीको मर्यादा गर्न सिकाएको हो । साहित्यले नै प्रेमको जाहेरीका लागि गजल र विरह वेदनाको अभिव्यक्तिका लागि गीतको आविष्कार गरिदिएको हो । साहित्यले नै केटाकेटीहरूलाई अनुप्रास मिलेका रोचक गेयरचनाहरूसँग साक्षात्कार गराएको हो भने किशोर र युवा वयकाहरूलाई रहस्य–रोमाञ्च र साहसिक आख्यानमा आधारित गाथाहरूबाट अभिभूत । साहित्यको योगदान नहुँदो हो त आमसञ्चारका सिनेमा, टेलिभिजन, डक्युड्रामा जस्ता अन्य माध्यमहरू कमजोर, खल्ला, अनाकर्षक र भद्दा नै रहने थिए भन्नु अत्युक्ति हुनेछैन ।

साहित्य र आमसञ्चारका अन्य माध्यमबीचको सम्बन्धको पडताल गर्ने क्रममा यति कुरा लेखिसकेपछि आजको घडीमा दिन दुई गुना रात चौगुना बढ्दै गइरहेका आमसञ्चारका, विशेषगरी श्रव्य–दृश्य माध्यमको फैलावटबाट साहित्यलाई कत्तिको खतरा छ भन्ने विषयमाथि पनि दुई शब्द भन्नु उपयुक्त नै होला भन्ने ठान्छु । एकथरी जानिफकारहरूको मत छ, डिजिटल प्रविधिमा आधारित श्रव्य–दृश्य माध्यमको विशालकाय दैत्यले छिटै नै पुस्तकका माध्यमबाट पाठकसम्म पुग्ने छापा साहित्यको अस्तित्व नै नामेट गरिदिनेछ । अर्कोथरी भन्छन् पुस्तकको अस्तित्व मटियामेट नै त नहोला तर बेलैमा सावधान भएर आजका बालबालिका र किशोर–किशोरीहरूलाई अडियो–भिजुअल माध्यमको लतबाट बाहिर निकालेर उनीहरूमा पुस्तकप्रतिको अभिरुचि बढाउन सकिएन भने पुस्तकका माध्यमबाट प्रसारित हुने साहित्य जोखिमको परिधिभित्र अवश्य पनि आउने छ । मेरो मत पनि यो पछिल्लो विचारभन्दा धेरै फरक छैन । 

हामीले पुस्तकको प्रवद्र्धनका लागि व्यावहारिक नीति ल्याउन ढिला भइसकेको छ । सरकारले चाँडोभन्दा चाँडो राष्ट्रिय पुस्तक नीति लागू गरी पठन संस्कृतिको जगेर्नाका लागि उपयुक्त वातावरण निर्माण गर्नै पर्दछ । होइन भने आउँदो दुई तीन पुस्तापछि पुस्तकहरूलाई सङ्ग्रहालयमा मात्र देख्न पाइने हुन सक्छ ।