• ९ मंसिर २०८१, आइतबार

मार्ने हो कि डुबुल्की !

blog

धेरै भयो खोजिरहेको छु आफैँलाई । खोज्न खोज्छु, सकेसम्म गहिरिएर आफैँलाई । हेर्न खोज्छु, भित्रसम्म पुगेर देखिने गरी आफैँलाई । तर सफल हुन सकेको छैन अलिकति पनि । थाहा छैन कहिलेसम्म देख्न सकिन्छ होला । निश्चिन्त हुने कुनै सङ्केत पनि मिलेको छैन । त्यसैले थकाइ नमारी गरिरहेको छु निरन्तर प्रयास । ध्यान केन्द्रित भएको छु मनका आँखामा । 

आयुले आधा शताब्दी पार गरिसकेको छ जीवन । कपालहरू फुलेर अनुभवको लामो नक्सा देखाइरहेको छ । पढाइ, कमाइ, व्यवहार, समाजबाट कहिले टाढा भएको छैन । दुःख, सुख, समस्याका अनेक बाटाहरूमा अलिकति पनि अलमलेको छैन । सुख, सन्तोष र सफलताका बगैँचामा पनि रम्नसम्म रमाएको छु । व्यवहारबाट भाग्नुपरेको छैन अहिलेसम्म । दोहरो अङ्कको उमेरदेखि नै घरभित्र र बाहिर रमाउन थालेको मान्छे हुँ । 

भएर पनि किन देख्न सकिरहेको छैन जस्तो लाग्छ । गर्छु आफैँसँग प्रश्न । अरूसँग सोध्ने कुरै भएन । किन यति गाह्रो भएको होला आफैँलाई हेर्न पनि । ऐनामा देखिएजस्तै सजिलै देखिने त कुरो भएन । बाहिरी रूप देख्न सबैलाई सहजै हुन्छ । अरूले अरूलाई देख्ने पनि बाहिरकै स्वरूप मात्र त हो नि । व्यवहार पनि देखिने नै हुन्छ र थाहा पाउन सक्छन् । तर सबैभन्दा नजिकबाट बुझ्नुपर्ने र देख्नुपर्ने भने आफैँलाई नै हो । आफूलाई देख्न नसकेको म मात्रै होला कि अरू पनि ? थाहा हुने कुरा त होइन रहेछ यो ।

भन्न त भन्छन् जान्नेले र नजान्नेले पनि । गहिरिएर ध्यान गर्नसके देखिन्छ आफ्नो भित्री स्वरूप । तर गहिरो भनेको कतिसम्म ? यसको कुनै सीमा हुँदैन । बन्द गरेर रोक्न सके बाहिरका दृश्य । देख्न सकिन्छ भित्रसम्मका दृश्यलाई । कुरो त यो पनि गलत होइन । बाहिरको विपरीत भित्रै हुन्छ । अँध्यारोको विरोधी उज्यालो भएजस्तै । उज्यालोको विरोधी अँध्यारो भएजस्तै । परिभाषा गर्ने  आफू अनुकूल त हो नि जसले पनि जहिले पनि । नत्र कसरी हुन्छ विवाद । तर्क गर्न नपाउने भए नपढाए हुन्छ कानुन । नबने हुन्छ कोही पनि वकिल । बन्द गरिदिए हुन्छ सबै अड्डा अदालतहरू । 

 आफूलाई चिन्न सक्नेले सजिलै बढ्न सक्छन् अगाडि । नसक्नेहरू नै भइरहन्छन् असफल ।  समयअनुसार आत्मविश्वास बढाउन सक्नेहरू नै हुन् आफूलाई चिन्नेहरू । जति लामो तार भए पनि ठीक ठाउँमा जोडिएपछि बत्ती बलेजस्तै हो नि । नजिकै भए पनि ठीक ठाउँमा नपरुन्जेल बल्दै बल्दैन बत्ती । कुरा उज्यालो भए पनि  आफैँलाई देख्ने कुरा पनि हो । 

 आफूलाई चिन्न नसक्नेहरू नै हुन् जे गर्दा पनि हारिरहने । हतपति सफल हुनै नसक्ने । जुन क्षेत्रमा हात हाले पनि पछाडि नै पर्ने । अगाडि बढ्नै नसक्ने ।  आफूलाई चिन्न सक्नेले मात्र अरूलाई पनि राम्ररी चिन्न सक्छ । अरूलाई चिन्न सक्नेले सितिमिति हार खानुपर्दैन । धोका पाउनुपर्दैन । लिनुपर्दैन सहारा अरू कसैको । काफी हुन्छ जहाँ पुग्नलाई पनि आफ्ना दुई खुट्टा । काफी हुन्छ जस्तोसुकै काम गर्न पनि दुई हात । 

यस मामलाको कुरो  आफैँसँगको मात्र हो ।  आफैँलाई नबुझ्ने वा बुझ्नै नखोज्नेहरू त हुन् निराश भएर जीवनलाई निरर्थक बनाउने । आत्महत्या गर्नेहरू पनि त्यस्तै हुन् । आफैँसँग हारेपछि जित्ने कहीँ पनि र केही पनि हुँदैन धर्तीमा । 

हो सत्य नै यही ।  आफूलाई चिन्न सक्नेले जहिल्यै पाउँछ आत्मसन्तोष । भइँदैन कहिल्यै चाहिनेभन्दा बढी महत्त्वाकाङ्क्षी । नगरेपछि लोभ र आशा । हुनु पर्दैन कहिल्यै निराशा । हात लागेजतिमा हुन्छ सन्तुष्टि । पाएजतिमा मिल्छ आनन्द । देख्नै पर्दैन कहिले अँध्यारो । हुन्छ उज्यालो जता पनि र जहिले पनि । 

यही विश्वासमा नगहिरिएको होइन बारम्बार आफैँभित्र । जति खनेजस्तो लागे पनि नबनेपछि खाडल । देख्न कसरी पो सक्नु र ? त्यसैले कहिलेकाहीँ बढ्दै गइरहेको उमेरको अर्थ पनि खोज्न मन लाग्छ । अनुभव र व्यवहारको पनि अर्थ खोज्न मन लाग्छ । स्थायी ठेगाना बनाउन नसक्ने आकाशको बादलजस्तो पो भएँ कि जस्तो । न कुनै आकार न कुनै थातथलो । मात्र झिलिक्क हुने चट्याङ पर्दाको उज्यालोजस्तो । देखिरहुन्जेल मात्र साथै भइरहने सपनाजस्तो । बिउँझेपछि नभएजस्तो कुनै अर्थ र औचित्य । एकप्रकारको सत्य नै बनेजस्तो भ्रम । घुमीफिरी भ्रम नै बन्ने रहेछ कि क्या हो जीवन । सत्यको नजिक जति पुगेजस्तो लागे पनि घुमिरहने वरिपरि मात्र । 

कुरो  आफूले आफैँलाई चिन्ने नै हो । अरूलाई चिनाउने त छन् कति कति ? नाम छ । स्थायी र अस्थायी ठेगाना छ । आफ्नो वर्ण र स्वरूप छ । पेसा र बाबुआमाको नाम छ । जानिएको अतिरित्त कला र सिर्जना पनि हुन्छ । तर यी सब मात्र अरूका लागि । आखिर के रहेछ त आफ्नो नै भन्ने ? आफ्ना लागि भन्ने । सबै आधार मात्र रहेछन् बाँच्नका लागि । पारिवारिक व्यवहार । सामाजिक व्यवहार र सांस्कृतिक व्यवहार । 

नत्र के नै फरक भयो र ढुङ्गो हुनु र मान्छे हुनुमा । ढुङ्गो एक्लो भए पनि भीडमा भए पनि कुनै अर्थ राख्दैन । बगरमा भए पनि मन्दिरमा भए पनि मतलब हुँदैन । ठूलो भए पनि सानो भए पनि । जुनै आकारप्रकारको भए पनि । ढुङ्गो आखिर ढुङ्गोभन्दा फरक हुनै सक्दैन ।

त्यस्तै हो पानी पनि । अँजुलीमा भए पनि पानी । नदीमा बगेको भए पनि पानी । पोखरीमा जमेको भए पनि पानी । जति ठूलो समुद्रको भए पनि पानी । पानीले पनि आफूलाई कहिल्यै चिन्न सक्दैन । चिन्ने भनेकै मात्र अरूले हो । प्रयोग हुने भनेकै अरूका लागि हो । जस्तो भाँडामा राखिदियो त्यस्तै बन्ने । जस्तो ठाउँमा राखिदियो त्यस्तै बनिदिनुपर्ने । तिर्खा मेटे पनि हुने । फोहोर बनाए पनि हुने । बिजुली निकाले पनि हुने । व्यापार गरे पनि हुने । डुङ्गा चलाए पनि हुने । जहाज चलाए पनि हुने । जेजे गरे पनि सबै अरूका लागि । सधैँ अरूका लागि मात्र । पानी आफ्ना लागि कहिल्यै बन्नै सकेन र सक्दैन पनि । कारण त्यही हो, पानीले पनि आफू र आफ्नो शक्तिलाई बुझ्न सकेन र सक्दैन । 

यही सन्दर्भले सम्झायो बिर्सन नसकेको एउटा समाचार । भोक मेटाउन आफ्नै छोराछोरी बेच्ने अफगानीको । होलान् यस्ता घटना धेरै र अन्यत्र पनि । यो भने पश्चिमी अफगानिस्तानको घनाबस्तीको समाचार हो । हुर्केर दस वर्ष पुगेकी छोरीलाई बेच्ने मुटु भएको बाउको कथा । त्यो पनि आफू बाँच्नलाई होइन । बाँकी पाँच जना सन्तानलाई भोकै नराख्न बेचेको कथा । भनिएकै त्यस्तै थियो । धेरैलाई बचाउन एउटीलाई बलिदान दिनुपरेको । बाध्यता भने पनि कति क्रुर । कति हिंसात्मक । कति निराशाजनक । सुन्दै पनि छातीभित्र हुनसम्मको बलियो भुइँचालो गएजस्तो हुने । 

घटना गत वषको हो । तालिवानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछिको घटना । गरिबी, अभाव र बाध्यताले गर्न नसक्ने केही नहुँदो रहेछ । हुँदैन भन्ने केही हुँदैन रहेछ । नमिल्ने भन्ने केही नहुने रहेछ । 

क्वान्डी गुल हो उनको नाम । घरमा खुरुखुरु रोटी पाक्न थालेपछि सोधीखोजी गरेकी रहिछिन् बेचिनेकी आमाले । थाहा भएपछि बाउ बाध्यता भन्ने । आमा जसरी पनि बचाउन खोज्ने । तर कहाँबाट कसरी फिर्ता गर्ने एक हजार अमेरिकी डलर ? द्वन्द्व छ आफ्नै घरधुरीभित्र । द्वन्द्व छ आफ्नै रगतमाथिको ।

 बाउ क्रुर बन्नसक्ने बाध्यताको नाममा, आमा बरु आत्महत्या गर्छु भन्ने । होइन यो संवेदनाको मात्र कुरा । हो यो हृदयको कुरा । आखिर भएको उस्तै मुटु त हो दुवैमा । जन्म दिएको दुवैको सहकार्यले । हुर्काएको दस वर्ष दुवैले । भएर पनि किन यति धेरै फरक बनेका होलान् ? आकाश पाताल भनेजस्तै फरक । 

बाउ व्यवहार चलाउन खोज्ने । आमा हृदयको व्यवहार गर्ने । साँच्चै, दुईवटै मुटु जोख्यो भने कसको बढी र कसको घटी हुन्छ होला संवेदना ? धर्मले दियो भने कसलाई कस्तो न्याय हुन्छ होला ? कानुनले पायो भने कसलार्र्र्ई कस्तो सजाय दिन्छ होला ? 

समाचारसँगै अखबारमा बेचिने बालिकाको फोटो थियो । गहिरोसँग हराएका आँखाहरू । आँधी आएपछिका जस्ता ओठहरू । सुनामी गएपछिको जस्तै निराश र अँध्यारो अनुहार । फर्केर हेरिरहेकी छिन् सीमाहीन आकाशतिर । टाउकोमा छोपिएको सलले जीवनका बाँकी दिनलाई पूरै ढाकिदिएजस्तो । त्यही पनि बोकिरहेकी छिन् सानो भाइलाई । थाहा नपाए पनि दिदी बेचिएको कुरो । रोइरहेका छन् उनी दुवै आँखा बन्द गरेर । रुने भाइको के कुरा ? बोक्ने दिदीले पनि कहाँ बुझ्न र देख्न सकेकी रहिछिन् र आफूलाई ? हुन त बुझ्न सकेकी भए पनि के पो गर्न सक्थिन् र ? वधशालामा पुगेपछिको जीवले जस्तै । जति बलियो र जति चलाख भए पनि के गर्नु ? कुर्ने आफ्नो पालो नआउन्जेलसम्म मात्र हो । के गर्नु र बचाइएको नै अरूका लागि भएपछि । 

युद्धको आगो, खडेरीको आगो, गरिबीको आगो र भोकको आगोमा कोरोनाको आगो पनि फैलिएपछि भएको घटना हो यो । यस्ता सुन्नै नसक्ने घटनाहरू कति भएका होलान् विद्रोही राजमा । होलान् कतिकति लुकाइएका घटनाहरू पनि । सुन्दा पनि छियाछिया भएजस्तो हुन्छ छाती । घिन लागेर आउँछ । बेच्ने बाउ र किन्ने बाउ सम्झेर । कति दुखेका होलान् नजिकैबाट देख्नेहरूलाई । कति निचोरिएका होलान् झन् व्यहोर्नेहरूलाई । 

बालिका क्वान्डी गुलले पनि अरूलाई मात्र देख्न सकिन् । बाबुआमाले त देख्न सकेनन्  आफूलाई र आफ्नै रगतलाई । विचरी अबलाले के देख्न सक्थिन्  आफूलार्ई । लिलाममा बिक्री हुनुपर्ने नियति कसरी थाहा पाउनु उनले । थाहा पाएकी भए यही उमेरसम्म पनि देख्न पाउँथिन् कि पाउने थिइनन् । नभने पनि दुर्भाग्य नै हो छोरीआमाको ।  आफैँभित्र सुरक्षित राख्न सकिन् नौ महिना गर्भमा । झन् घर परिवार भएपछि जोगाउन सकिनन् । समाजमा आएपछि राज्यको बनेपछि, कानुन लाग्ने भएपछि जोगाउन सकिनन् । नसकेरै हो चिन्न आफ्नै गर्भलार्ई । जन्माएपछिकी छोरी र छोरीको भाग्यलाई ।

छोरी बेच्ने बाबुको कति होला दोष ? कि हुन्छ त्योभन्दा बढी  आफैँ भित्र हुर्काउने आमाको ? कसले गर्न सक्छ होला यस्तोमा निष्पक्षमा न्याय । हुन त नजिकको जत्तिको शत्रु टाढाको हुँदैन भनिन्छ । हो पनि नजिककाले जत्तिको बेइमानी टाढाकाले गर्नै सक्दैन । विभेद, हिंसा, दुव्र्यवहार पहिले सुरु हुने घरबाटै हो । भइरहेको पनि यस्तैैैैैैैैैै नै छ । 

हजार पटक मनमा गुन्जिरहने एउटै छ प्रश्न । किन मान्छेलाई मान्छे बन्न दिइँदैन ? भएको भए पनि एक्काइसौँ शताब्दी । मान्छेलाई अन्तरिक्ष पु¥याइन्छ । तर किन पृथ्वीमा भने बाँच्न दिइँदैन ? के भोक मात्रै हो जीवन ? के पेट मात्रै हो सबैथोक ? यसैलाई मान्ने हो भने । जीवनको सबैभन्दा ठूलो अवमूल्यन यही नै हुनेछ । 

यो समाचारले बनाएको मात्र समस्या होइन । अर्बौं जनसङ्ख्या भएको विश्वमा एक्ली क्वान्डी गुलको मात्र कुरा होइन । बाध्य हुने बाबु र सहने आमाको मात्र कुरा होइन । कुरा सबै बालिकाको हो । सबै आमाबाबु र समाजको हो । आईएनजीओको बजेटको पनि कुरो होला । संसारभरिका महिला एक हौँ भन्ने नाराको पनि कुरो होला । नारी अभियान र आन्दोलनको पनि कुरो होला । मुक्तिको गीत गाउनेहरूको पनि कुरो होला । के कानुन र संविधान भनेको अड्डा अदालतको मात्र विषय हो ? सन्धि, सम्झौता र सङ्गठन साइनबोर्डको भीड मात्रै हो ? समाचार र सन्देशका निर्माता कम्पनीहरू मात्र हुन् ?

घटना एउटा देशको भए पनि । विद्रोहीले सञ्चालन गरेको राज्यसत्ताको भए पनि । कुरा मुस्लिम धर्म मान्नेको भए पनि । गरिब परिवारको भए पनि । चासो र चिन्ता सबैको हुनुपर्छ । विषय एउटै विश्वको हो । सबैभन्दा ठूलो कुरा मान्छेको हो । एउटा होइन र संसारभरिको मानव अधिकार । नागरिकको सुरक्षा राज्यको पहिलो दायित्व होइन र ? विदेशमा रहेको एक जना नागरिकको सुरक्षाको लागि राज्यले जति पनि खर्च गरिदिने गरेको छ । एक जना नागरिकका कारण राज्य राज्यबीच नै विवाद भएको छ । राज्यका लागि नागरिकभन्दा ठूलो आधार के हुन सक्छ र ? 

कुरो मान्छेको मात्र पनि होइन । मान्छेले त आफूले  आफूलार्र्ई देख्न सकेन रे लौ । देख्ने बुझ्ने त अरू जति पनि छन् । समाज र संस्थाहरूले देख्दैन रहेछ । सरकार र कानुनले चिन्दैन रहेछ । खोइ देखेका यिनीहरूले पनि आफ्नो औचित्य ?

अचम्म लाग्छ । कहीँ केही नभए पनि प्रकृतिले गर्ने प्राकृतिक न्याय त इमानदार हुनुपर्ने । मान्छेलाई मान्छे नै भएर बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने । त्यही बालिका र उनका बाबुआमाले मान्ने धर्म थियो होला । रातदिन पुकार्ने प्रभु थियो होला । कति विचरा हुँदो रहेछ धमर्, कति असाहय हुँदा रहेछन् जेजे भनिए पनि ईश्वर । समाज, राज्य, कानुन सबै सक्नेका लागि मात्र रहेछन् । 

फर्किएर  आफैँ तिर हेर्छु । के भएको छ र नेदेखिएर  आफूभित्रको आफैँलाई । देख्न त कसले पो देखेका रहेछन् र ? जेजे नाम गरेका भए पनि । घुमिफिरी कुरो त्यही हो । आफूलाई चिन्न नसकेकैले हो बन्ने दुःखको कारण । एउटै हुँदोरहेछ दुवैको बिउ । 

भन्नेहरू त कति छन् कति साधु सन्तहरू । देखेको छु मैले  आफैँलाई राम्रोसँग भन्नेहरू पनि । देख्नुपर्छ भोलि जान्नलाई र सुधार्नलाई भन्नेहरू । प्रश्न उब्जिन थालेको छ । हो कि होइन यो जरुरी । त्यो आफ्नै ठाउँमा होला । विश्वासको भ्रम भने अवश्य हो । 

यसैलाई छरेर जोगाइरहेका छन् आपूmलाई र आफ्नो धन्धालाई । महान् महान् भनिएकाहरू । जयजयकार गरिएकाहरू । एक हजार कतिकति भन्नेहरू । धर्मका रक्षक भन्नेहरू । परसेवामा जीवन बिताएँ भन्नेहरू । 

फुत्केपछिको माछा ठूलो भएजस्तै । नभएपछि र नसकेपछि चित्त बुझाउने ठाउँ पनि हुन्छन् धेरै । मैले त बुझाएको छु चित्त मज्जाले । नसकेपछि गर्नु नै के र ? खोजेकै हो खोज्नसम्म गच्छेअनुसार । म ढुक्क छु त्यसैले । नसकेको मैले मात्र होइन क्यारे । सन्तोष मानेको छु ढुक्कले । सन्तोष नै रहेछ सुख । सन्तोष गर्न जानियो भने नपाइने पनि केही नहुँदो रहेछ । 

भन्छु, फेरि पनि भन्छु । आँखा खोलेपछि देखिने मात्र देखिन्छन् । नजिकका नजिकै देखिन्छन् भने टाढाको टाढै । आँखा बन्द गरेर हे-यो भने नदेखिने केही नि हुँदैन । पुग्न नसक्ने पनि कुनै ठाउँ हुँदैन । नदेख्ने भनेको  आफैँलाई मात्र हो सिधै । आफ्नो भविष्यलार्ई मात्र हो । 

त्यसैले नसके पनि आफैँलाई हेर्न । अनुभूतिको गहिरो पोखरीमा मार्ने हो कि एकफेर डुबुल्की ?