• ९ मंसिर २०८१, आइतबार

कालीगण्डकीको अँध्यारो र सिल्भियासँगको रात

blog

र अझ त्यसमा उनको रातो बिकीनी । 

पानीमा तैरिरहेको उनको गोरो शरीरमा निकै आकर्षक ढङ्गले सजिएको छ रातो बिकिनी । त्यसो त हामी पनि पोखरीमा नै छौँ– आधा शरीर डुबाएर बसेको । उनी पोखरीको पेटीमा बस्छिन् र घुँडाभन्दा मुनिको भाग पानीमा डुबाउँछिन् । मलाई पनि त्यसै गर्न मन लाग्छ । तर गर्दिनँ । उनकै छेउमा पानीमा डुबेर उभिन्छु । 

‘तिमी पिउँछौँ ?’ पिउन लागेको क्यान मतिर तेर्साउँछिन् उनी । 

‘नाइँ, मैले कफी मगाएको छु ।’

‘तातो पानी र तातै कफी ?’ क्यानलाई डिलमा राखेर उनी पोखरीमा नै आउँछिन् । तातो पानीको पोखरीमा । उनी हाँसेजस्तो पनि लाग्छ । तर अनुहारमा देखिँदैन । आँखाका कुना कुनातिर चाहिँ हाँसोका मसिना किरणहरू देखिन्छन्– हो कि होइन जस्तो । अनुभवी कलाकारले बनाएको पोट्रेटमा देखिने सौन्दर्य उनको अनुहारमा देखिएको छ । अझ विशेष गरेर आँखामा । 

‘थोरङ्लाको चिसो बाँकी नै छ अझै ।’ म उनको पानीमा डुब्न बाँकी शरीर हेर्दै बोल्छु । 

‘म तातो बनाइदिऊँ ?’ सिल्भिया हाँसिन् । म पनि हाँस्छु । अलि उता पानीमा डुबेर बसिरहेका थाइल्यान्डका एक वृद्ध जोडी पनि हाँस्छन् । 

ठाकुर कफी बोकेर आइपुग्छ र म डिलमा बसेर कफी पिउन थाल्छु । उनी बियरको क्यान सक्छिन् । डिलमा टुक्रुक्क बसेर पिडुँला मिच्न थाल्छिन् । उनको यो स्थिति अहिलेसम्मको सर्वाधिक प्रिय र लोभलाग्दो देखिन्छ । 

इजरायलमा मस्तीका साथ विद्यार्थी जीवन बिताइरहेकी सिल्भिया एक हुल इजरायली साथीहरूसँग नेपाल घुम्न आएकी । उनीसँग मेरो परिचय बाटोको रूपसे छहरामा भएको । त्यहाँ हामीहरू सामूहिक तस्बिर खिज्दै थियौँ । उनी हाम्रो तुलमा लेखिएका नेपाली अक्षरको आकारले आकर्षण ग¥यो भन्दै हाम्रो तुल हेरिरहेकी थिइन् । म भने उनको सुन्दर अनुहार र कानमा लगाएको ठूलाठूला एयररिङमा अल्झिएको थिएँ । संसारकै लामोमध्येको एक रूपसे झरना र उनको कानको ठूलो एयररिङ । 

हामी लेखक हौँ भनेपछि उनी हामीसँग एकछिन गफिएर अगाडि बढेकी थिइन् । 

त्यसपछि एकैचोटि म्याग्दीको यही तातो पानीको पोखरीमा हाम्रो भेट भयो । रातमा रातो बिकिनीका साथ । 

‘मलाई दिउँसो नै शङ्का लागेको थियो । तिमी साँच्चिकै राम्री छौ ।’ म बगिरहेको काली गण्डकी हेर्दै भन्छु । 

‘किन ? कसरी ??’ उनी अलि नजिकिएजस्तो लाग्यो । तर होइन रहेछ– उनी जहीँको त्यहीँ थिइन् । 

‘तिम्रो आँखामा भिन्दै चमक छ ।’ पानीबाट बाहिर निस्कियो कि चिसो हुन्छ । त्यही भएर पानीमा पस्दै भन्छु । तल बगिरहेको कालीगण्डकी पक्कै पनि चिसो हुनुपर्छ । कात्तिकको अन्तिम साता । जाडो र अँध्यारोबीच एकनास बगिरहेको छ– कालीगण्डकी । कालीगण्डकीकै छेउमा उभिएका छन् दुई बडेमानको पहाड । एक बडेमान पहाडको काखमा हामी छौँ– सिल्भिया र म । अर्को बडेमानको पहाडको फेदीमा बगिरहेको छ कालीगण्डकी । जोमसोमदेखि हाम्रै साथमा हिँडिरहेको छ यो पनि । मनाङ नपुगेसम्म लमजुङको बेँसीसहरबाट मस्र्याङ्दी हाम्रो साथमा भएजस्तो । 

‘तिम्रो आँखामा भिन्नै चमक छ ।’ म फेरि पनि भन्छु । 

‘शरीरमा छैन ?’ उनी पानीभित्रैबाट खुल्छिन् । 

‘थाहा छैन ।’ म जोगिन्छु । यत्तिकैमा सिल्भियाको गाइडले माथि होटलमा नाचगान सुरु भएको खबर दिन्छ । उनी हतपत पोखरीबाट बाहिर निस्किन्छिन् र भिजिरहेको त्यो रातो बिकिनीमाथि एउटा लामो टीसर्ट भिरेर ‘बाई’ भन्दै होटलतिर उक्लिन्छिन् । 

कति निर्दयी रहिछिन् । सपाट मलाई छोडेर हिँडिन् उनी । भर्खरीसम्मका घट्नाक्रम र संवाद सपनाजस्तो अलपत्र छाडेर कसरी जान सकेकी सिल्भिया ? 

त्यसो त जो छोडेर जान सक्छ उही अगाडि पुग्छ सधैँ । आकर्षण विकर्षणका खेलमा भावुकतावश अल्मलिने मानिस न खुसी हुन सक्छ, न अगाडि बढ्छ नै । जिन्दगीको यो यात्रामा कतिले छाडेर हिँडे होलान् कतिलाई । खोइ, तिनको लेखाजोखा ? कसले राख्ने उनीहरूको दुःख र पीडाको हिसाबकिताब ? जिन्दगी भनेकै छोड्नु र हिँड्नु त रहेछ नि । हिँड्नु... हिँड्नु र हिँडिरहनु । पुग्नु त कहाँ नै छ र ? तैपनि जिन्दगी हिँडिरहनुपर्ने । 

म घडी हेर्छु रातको पौने नौ भइसकेछ । पनि पोखरीबाट निस्किन्छु र सँगैको अर्को पोखरीमा जान्छु । श्रीओम दाजु र ठाकुर पोखरीभित्रैबाट मलाई हेर्दै हाँस्छन् । 

‘रमाइलो भो ?’ रमेशदाई मलाई सोध्नुहुन्छ । 

म हाँसेर टारिदिन्छु । र उहाँहरू डुबेकै पोखरीमा छिर्छु । पोखरीको पानी उताको भन्दा अलि कम तातो छ । उता त बेला बेलामा बाहिर ननिक्ली बस्न नै सकिँदैन पोलेर । यता त निरन्तर बसिरहन सकिन्छ– पानीभित्रै । यताको पानी मनतातो छ । उताको उमालेर राखेजस्तो तातो । 

यसअघि हामी आज बिहान जोमसोङको २७१३ मिटरको उचाइबाट हिँडेको । बास बस्न आइपुगेको म्याग्दीको तातोपानीमा । यहाँको उचाइ भन्नु नै ११८९ मिटर मात्रै हो । त्यसो त हामी ५४१६ मिटरको उचाइमा रहेको थोरङ्लाबाट ओर्लिएका । हामी हिँडेको बिहान के भन्नु ? खाना खाएर निक्लिएको । जोमसोममा हाम्रो सम्मानमा प्रमुख जिल्ला अधिकारीले आयोजना गरको कवि गोष्ठी सकेर । 

हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा पानी धेरै पर्दैन । यहाँको पहाड उजाड छ । पठारजस्ता छन् । अचाक्ली चिसो छ । सिरेटो पनि चिसै । जोमसोममा दस बजेपछि उत्तरतिर बेजोडले हावा बहन सुरु गर्दो रहेछ । यहाँका प्रत्येक रुख बिरुवाका हाँगाहरू उत्तरतिर मात्र पलाएका छन् र उत्तरतिर मात्र नुहेका छन् । देख्दै अचम्म लाग्ने । तर यहाँका मानिसका लागि यो कुनै नौलो कुरा होइन । दिन हुर्किंदै गएपछि चल्ने हावामा हिँड्नै सकिँदैन । बाटोभरि भेटिन्छन् स्याउका बारीहरू । झुलिरहेका स्याउ र टिप्दै गरेका किशोरी हातहरू । कि भेटिन्छन् भारीका भारी स्याउहरू । 

जोमसोममा हामीले किनमेल पनि ग¥यौँ स्याउको सुकुटी, सिमीको दाल, छोपको अचार र स्याउका तितौराहरू । साथीहरूले त स्याउ पनि किन्नु भयो । मैलेचाहिँ बोक्न सास्ती हुन्छ भनेर १५ रुपियाँ किलोको स्याउ पनि छाडेर हिँडे । जोमसोमको किनमेलमा हाम्रो साथमा बाबा पनि थिए । गीतकार दुर्गाबहादुर शाह बाबा । त्यसो त यिनी हाम्रो थोरङ्लाको १० दिने यात्राभरि नै साथै छन् । पोखराका यी लेखक गीतहरू भने राम्रै लेख्छन् । उनी आफूलाई कवि भन्छन् । तर कसो कसो मलाई उनका कविता मन पर्दैनन् । उनका गीतहरू नै राम्रो । राष्ट्र बैङ्कका जागिरे यिनी इमानदार र सहज छन् । यिनले नै हो, भीष्मदाइलाई जोमसोम– पोखराको एयर टिकट मिलाई दिएको । 

भीष्मदाइ पोखरा उडेपछि नै हो, जिपमा हामी मार्फातिर ओर्लिएको । 

जिपमै भेटिए जीवन गुरुङ । स्याउका भारीसँग उनी जिपमा चढेका  थिए । 

‘यत्रो स्याउ किन ?’ मैले सोधेथेँ, ‘खैरेलाई ब्रेकफास्ट ख्वाउन ।’

‘नेपालीले खाँदैनन् ?’

‘खैरे पनि घटिसके । नेपाली त कति नै पो आउँछन् र ?’ स्थानीय पर्यटन व्यवसायी जीवन नयाँ बाटो बनेका कारण पर्यटक घटेकोमा दुःखी रहेछन् । भन्छन्, ‘अन्नपूर्ण फेरोमा सडक पुगेपछि पर्यटकको आकर्षण घटेको छ ।’ म्याग्दीको बेनीदेखि जोमसोमसम्म सडक मार्ग पुगेकाले पर्यटकको छनोटमा यो क्षेत्र पर्न छाडेको उनको दाबी थियो । 

‘कुनै कुनै क्षेत्रमा भौतिक विकासले मात्र फाइदा नपुग्दो रहेछ ।’ अधबैँसे व्यवसायी दुःखी मुद्रामा देखिए, ‘विकाससँगै पर्यटकका लागि अन्नपूर्ण क्षेत्र उत्कृष्ट सूचीबाट पनि बाहिरिएको छ ।’

अहिले बेनीदेखि जोमसोम, रानीपौवासम्म मोटर सञ्चालन भएकाले यो साइडमा हिँड्नै पर्दैन । सन् १९७७ बाट विदेशीका लागि खुला गरिएको अन्नपूर्ण क्षेत्र परिक्रमा गर्न पहिले २० दिन लाग्थ्यो रे । अहिले घटेर नौ दिनमा सीमित भएको छ । 

‘जति नै हिँड्ने मानिस भए पनि सुविधा पाएपछि त्यसको उपयोग गर्न चाहान्छन् ।’ जीवनले हामीलाई नै भनेझँै लाग्यो । हुन पनि हो अहिले हामी जिपमा गुडिरहेको बाटो पहिले हिँडेर पार गर्नुपथ्र्यो । 

हुन पनि पदमार्ग छेउछाउ ब्लास्ट गर्ने, मोटरको हर्न र धुवाँका कारण पदयात्रीलाई नकारात्मक असर पर्छ नै । पदयात्रीको मर्कालाई बुझेर अन्नपूर्ण क्षेत्र संरक्षण केन्द्र एक्याप र टे«किङ एजेन्ट्स एसोसियसन अफ नेपाल टानले संयुक्त रूपमा वैकल्पिक पदयात्रा मार्गको पहिचान गर्ने काम सुरु गरेको रहेछ । एक्यापकै एक साथीले बताएअनुसार किर्कुपास हँुदै सिक्लेस पुग्ने बाटो वैकल्पिक मार्गका रूपमा एक्यापले अगाडि सारेको रहेछ । टानले भने माछापुच्छे मोडल ट्रेक नाम दिएर नयाँ मार्ग पहिचान गरेको रहेछ । अन्य केही पदमार्गको पहिचान भइसकेको भए पनि अन्तिम निर्णय भने भइसकेको रहेनछ । 

कालोपानी पुगेपछि आँखाभरि खुल्छ, सूर्यको प्रकाशमा चम्किएका नीलगिरि हिमालका सुन्दर दृश्यहरू । धौलागिरि हिमालको काखमा रहेको कालोपानीमा केहीबेर अल्मलिएर हामी फेरि अगाडि बढ्छौँ । 

हरियाली डाँडाकाँडा । झुन्डझुन्ड कुहिरोको मुस्लो । अनि धौलागिरि र नीलगिरि हिमालबाट झरेका सेताम्मे खोली । साँघुरिएर  बगेको कालीगण्डकी । जोमसोमतिर फिजारिएर बगेको यो कालीगण्डकी यता साँघुरिएको छ । पानी र मानिसको मन उस्तै हुँदोरहेछ । खाली भयो कि फैलिहाल्ने । 

‘घासा आइपुग्यो ।’ कोही बोलेको हुनुपर्छ । तर यो आवाजले भन्दा पनि खच्चडमाथि भारी राख्दै गरेको दृश्यले मलाई तानिरह्यो । यो यात्राभरि बाटामा भारी बोकेका र भारी नबोकेका खच्चडहरू पटक पटक देखे पनि मैले भारी हालिरहेको देखेको थिइनँ । 

हामी घासामा ओर्लियौँ । योभन्दा उता बाटो बिग्रिएको रहेछ । जिप नजाने भएपछि हिँड्ने तयारीमा लाग्यौँ हामी । 

रूपसे छहरा नपुगुञ्जेल हामी एकनास हिँडिरहन्छौँ । ओरालो ओलिएको बाटो । ठाउँठाउँमा झर्दै जानु पर्ने । कच्ची बाटो । मानिसको जिन्दगीमा सम्बन्धले दिएको दुःखजस्तो ठाउँठाउँमा पहिरोले दुःख दिएको बाटोलाई । हेर्दै टिठ लाग्ने । कालीगण्डकीको तीरैतीर उकालो र घुम्ती म्याग्दीको रूपसेसम्म पुगियो । विश्वप्रसिद्ध झरना रूपसे । कहाँ हो कहाँबाट डरलाग्दोगरी तलतिर हाम्फालेको झरना । यति लामो झरना कहाँ देख्नु यसअघि मैले । धित मरुन्जेल हेर्छु म । फोटो खिच्छु । झरनाको पानीले भिजाउन खोज्छ । चिसो पानीको छिटाले पनि चिसो बनाउँछ । आफ्नो प्रिय मानिसले छोडेर गएको बेलाको जस्तो चिसो । हामीले फोटो खिचिरहँदा यही भेट भएको हो इजरायली सिल्भियासँग । 

यही बगलमा पर्दोरहेछ, विश्वप्रसिद्ध खोँच । ‘यो विश्वकै सबैभन्दा गहिरो खोँच हो ।’ रमेशदाइले बताउनुभयो । यो खोँचको बारेमा मैले यसअघि सुनेको थिइनँ । रूपसेका बारेमा त कति सुनियो कति । तर यो अन्ध गल्छी देख्दै पनि डरलाग्दो रहेछ । तर यसबारेमा केही थाहा थिएन । रूपसेपछि झरनाको सिलसिला नै सुरु हुन्छ । जताततै झरना नै झरना । बाटामा भेटिएका यी अनगिन्ती झरना र जिन्दगीमा भेटिने अनेकौँ मानिस दुवै उस्तैउस्तै लाग्छ मलाई । दुवैमा रमाउन सकिन्छ, हेर्न, अनुभव गर्न र सिक्न सकिन्छन् धेरै कुरा । तर कहाँ राख्न सक्नु सधैँ आफूसँग ? 

मानिसका चहलपहल सुरु हुन्छ । गाउँबस्ती सुरु हुन्छ । ससाना घरहरू । गोठहरू । सुन्तला फलेका बोटहरू । बगेका कालीगण्डकी यी सब पछ्याउँदै हामी दाना आइपुग्छौँ । चिया पिउँछौँ । दिनको उज्यालो सकिने क्रममा छ । अस्ताउँदो घाम आँखैमा छ । तर दिउँसोको जस्तो अप्रिय छैन । 

रूपसेदेखि नै हामीले म्याग्दी टेकिसकेका रहेछौँ । आजको हाम्रो बास म्याग्दीमै छ । दानाबाट फेरि जीप र बस पाइदो रहेछ । बाग्लुङसम्म जाने । भीड भएका कारण हामीले गाडी चढेनौँ र फेरि हिँड्यौँ । बिस्तारी सकिन्छ दिनको उज्यालो र बिस्तारी बढ्छ अँध्यारो । 

साँझ बाक्लिँदै गएपछिको यो अँध्यारोमा हामी एकोहोरो हानिन्छौँ । भोकभन्दा पनि थकाइ लागेको छ, यतिखेर । गोडाहरू उचालिन नै मान्दैनन् । लगातार नौ दिनदेखि हिँडिरहेका छौँ । गाडी चढेको भन्नु हिजो साँझ मुक्तिनाथदेखि जोमसोमसम्म र अहिले बिहान जोमसोमदेखि घासासम्म नै हो । नत्र लमजुङको भुलभुलेबाट हिँड्न थालेको हामी हिँडेको हिँड्यै छौँ । 

त्यसो त कहिलेदेखि हिँड्न थालियो ? त्यसको के लेखाजोखा ? जन्म आफँैमा हिँडाइको आरम्भ रहेछ । जन्मदेखि निरन्तर हिँडिरहेको जीवन थाहा छैन कहाँ कहिले गएर रोकिने हो ? मृत्युसँगै सायद रोकिन्छ यो यात्रा । फेरि मृत्यु नै हिँडाइको समाप्ति हो भन्ने ग्यारेन्टी पनि के छ र ? मृत्यु पछि पनि न हिँडिरहनु पर्ने पो हो कि– एक शरीरबाट अर्को शरीरतिर ? मलाई भाउन्न हुन्छ, यो यात्राको सिलसिला केलाउँदा । 

अलि पर केही बत्ती बलेको देखियो । त्यही हुनुपर्छ तातोपानी । नभन्दै त्यही नै रहेछ तातोपानी । तर पुग्न अझै आधा घण्टाजति लाग्छ रे । अँध्यारो भएकाले बत्ती नजिकै देखिएको रहेछ । तीनवटा जति घुम्ती पार गरेपछि हामी आज बस्ने ठाउँ म्याग्दीको तातोपानी पुग्छौँ रे । अझै आधा घण्टालाई शरीर तयार पार्नु छ । थाकेको शरीरमा ‘अब त आइहाल्यो नि’ भनेर म फूर्ति भर्ने कोसिस गर्छु । कोसिस खेर जाँदैन । तर भनेजति फूर्ति पनि चढ्दैन शरीरमा । थकाइले लखतरान परेको शरीरमा फूर्ति आओस् पनि कहाँबाट ? धन्य यति भए पनि शरीरले साथ दिएको छ । 

थोराङलाको उकालो पार गरेको यो शरीर । साततले र नौतले भीरमा नआत्तिएको यो शरीर । हुम्देको पठारजस्तो उदेकलाग्दो ठाउँमा नगलेको यो शरीर । मलाई आफ्नै शरीरलाई स्यालुट गर्न मन लाग्छ । धन्यवाद भन्न मन लाग्छ । 

यो शरीर नहुँदो हो त, मन मात्रैले के पार गर्न सक्थ्यो थोरङला ?

हिँड्दा हिँड्दै म टक्क अडिन्छु, आफ्नो सम्पूर्ण शरीरलाई महसुस गर्छु आफूभित्र । विपश्यनाको प्रारम्भिक ध्यानमा सिकाएजस्तो म महसुस गर्छु आफ्नो समग्र शरीरलाई र खुट्टा बजारेर स्यालुट गर्छु आफूलाई । आफ्नो यो शक्तिशाली शरीरलाई । मनको इच्छा र आकाङ्क्षाहरू पूरा गर्ने शरीरलाई । 

मसिना बिजुलीका साना गुलुपहरू बलेको सानो बस्ती । खुला पसलैपसल । होटल भनेर लेखिएका साना साना घरहरू । कपडा र खाद्यान्नका पसलहरू । कालीगण्डकीको तीरमा रहेको एउटा सानो बजार रहेछ तातोपानी । अँध्यारोमा अरू केही देखिएन । रमेशदाइले एउटा होटलमा कुरा मिलाउनु भयो र हामी त्यही होटलमा छि¥यौँ । यहाँ पनि ठाकुर र म एउटै कोठामा बस्छौँ । हतार हतार कपडा फेर्छौं । हातगोडा धुन्छौँ । तातो चिया पिउँछौँ र केहीबेर आराम गर्छौं । 

गोविन्द, रमेश दाइ तातोपानीको पोखरीतिर ओर्लिनुहुन्छ । हामी पनि एउटा सानो टाबेल बोकेर कालीगण्डकीको तीरै तीर लाग्छौँ । कालीगण्डकीको तीरमा अवस्थित दुई खुला कुण्ड रहेछन्– तातोपानीका । एउटा सानो काउन्टर रहेछ । जहाँ नेपालीले पाँच रुपियाँ र विदेशीले एक सय पाँच रुपियाँ तिर्नुपर्ने रहेछ, तातोपानीमा डुब्नलाई ।  एउटा सानो लुगा फेर्ने ठाउँ पनि रहेछ । जस्ताले बारेको । 

एउटा रमाइलो कुरा के रहेछ भने तातोपानीको कुण्डमा डुब्नुपूर्व तातोपानीको धारामा नुहाउनुपर्ने रहेछ । साबुन लगाएर मजाले तातोपानीको धारामा नुहाइसकेपछि मात्र तातोपानीको कुण्डमा डुब्न पाइँदोरहेछ । तातोपानीको पोखरीमा डुबेपछि नै हो, मैले रातो बिकिनीमा सिल्भियालाई देखेको । 

उनी के मुस्कुराइन् उज्यालियो कालीगण्डकीको अँध्यारो तीर ।