देशमा राणा शासकहरूको जगजगी मचेका बेला दाङको तत्कालीन हेकुली गाविस–१, बैबाङ गाउँमा महेश चौधरीको २००७ कात्तिक १३ गते जन्मभयो । उहाँ जन्मेको चार महिनापछि २००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्रको उदय भयो । चौधरी एक मध्यम परिवार किसानको घरमा जन्मनु भए पनि छोटै उमेरमा समाजमा विद्यमान पछौटेपन, अन्धविश्वास, शोषण तथा उत्पीडन अन्त्य अभियानमा आफूलाई समर्पित गर्नुभयो । समाजमा चेतनाका किरण प्रवाह गर्ने ऐनाको रूपमा उहाँको जन्म भयो । उहाँ जन्मँदा थारु समाजको चेतनास्तर निकै कमजोर थियो । पढेलेखेका मानिस गाउँमा पाउन मुस्किल हुन्थ्यो । जग्गा जमिन भएका जमिन्दार र पढेलेखेका ठालुहरूले गरिब, सामान्य परिवारका सदस्यमाथि थिचोमिचो र शोषण गर्थे । विना पारिश्रमिक पशु समान घरखेतमा नागरिकलाई काम लगाउँथे । समाजमा शोषकको विरुद्ध बोल्ने कोही थिएनन् । अर्थात् शोषण दमनको ग्राफ उच्च थियो । महेश २०८० जेठ २४ गते सदाका लागि धर्तीबाट अस्ताएपछि थारु समुदायले एक अथक योद्धा र अभिभावक गुमाएको अनुभूति गरेको छ ।
महेश चौधरी मध्यम परिवार किसानका छोरा भएकाले पढ्ने अवसर पाउनुभयो । पढाइलाई निरन्तरता दिनुभयो । फलतः उहाँको चेतनास्तर पनि बढेर आयो । समाजमा भएका संस्कार, संस्कृति, प्रथा परम्परा बारेमा पर्गेल्न सक्षम हुनुभयो । थारु समाजमा त्यतिबेला औँलामा गिन्न सक्ने युवाहरू शिक्षित थिए । समाज अन्धकार युगमै थियो । गाउँ समाजमा अन्धविश्वास र रुढीवादी व्याप्त थियो । ठूलाले सानालाई हेप्ने, शोषण गर्ने प्रवृत्ति थियो । जमिन्दारले गरिब गाउँलेलाई बेगारी (विना शुल्क गरिने काम) लाउँथे । घरमा काम गर्ने कमैया राखेका हुन्थे । कमैयालाई पशु सरह मोलमोलाई गरी किनबेच गरेर घरको कममा लगाउँथे । एक जमिन्दारको घरबाट अर्को जमिन्दारले खरिद विक्रीगरी सौंकी (कमैयाको थाप्लोमा लागेको ऋण) सहित जिम्मा लिने र काम गराउने प्रचलन थियो ।
थारू लेखक तथा संस्कृतिविद महेश चौधरी
गाउँघरमा औषधिमुलो थिएन । गुरुवा, धामीझाँक्रीको मन्त्रको सहाराले झारफुक गर्ने, वैदवा (वैद्य) ले दिने जडीबुटीको औषधि सेवनगरी बिरामी निको पार्ने गरिन्थ्यो । विदेशी औषधि, ओखती गाउँसम्म पुगेको थिएन । बोक्सी प्रथा व्याप्त थियो । गाउँका कोही सदस्य दुःख बिमार पर्दा बोक्सी, बोक्सा लागेको, दैव पिचास, भूत लागेको मानिन्थ्यो । त्यहीअनुसार ओखतीमुलोको जोहो गर्ने गरिन्थ्यो । त्यस्तो समाजलाई रूपान्तरण गर्न, सचेतना फैलाउन र आधुनिक समाज निर्माणको जिम्मा महेश चौधरीजस्ता शिक्षित युवाको काँधमा थियो । समाजलाई सही बाटो देखाउने जिम्मेवारी र कर्तव्य उहाँजस्ता शिक्षित युवालाई आइलाग्यो । आफू अघि लागेर गाउँ समाजका युवाको नेतृत्व गर्नुपर्ने भयो । उहाँहरूले त्यही भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभयो ।
गोचालीको जन्म
महेश चौधरी आफ्नै सक्रियतामा दाङमा थारू भाषा तथा साहित्य सुधार समिति गठन गर्नुभएको थियो । सोही समितिमा आवद्ध रहेका शिक्षित थारू युवालाई समाज परिवर्तनका निम्ति परिचालित गर्नुभयो । गाउँमा मौखिक रुपमा अभियान चलाएर रुपान्तरण सम्भव थिएन । कतिका घरमा गएर अभियान चलाई सक्नु ? घर–घर, गाउँ–गाउँ अभियान चलाउन सम्भव हुने कुरै भएन । त्यतिबेला यातायातका लागि आजजस्तो बाटोघाटो, पुलपुलेसा बनेको थिएन । यातायातका साधनको पर्याप्तता थिएन । थारू समाज रुपान्तरणका लागि साथीहरुसँग लामो छलफलपछि उहाँहरुले एउटा थारू भाषाको पत्रिका प्रकाशन गर्ने र त्यसमार्फत समाजमा परिवर्तन सम्भव हुने निचोडमा पुग्नुभयो । थारू भाषा तथा साहित्य सुधार समितिलाई प्रकाशक बनाएर थारू भाषाको पहिलो पत्रिका उहाँहरुले जन्माउनुभयो । त्यो पत्रिका थियो ‘गोचाली’ । २०२८ सालमा पहिलो अंक प्रकाशन भएको यही पत्रिका नै थारूभाषाको प्रथम पत्रिका थियो । त्यतिबेला महेश २१ वर्षको हुनुहुन्थ्यो । पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी उहाँ आफैले लिनुभयो । उहाँलाई सहयोग गर्ने सहसम्पादक मण्डलमा अरविन्द चौधरी, भगवतीप्रसाद चौधरी, श्यामनारायण चौधरी, अम्मरराज चौधरी हुनुहुन्थ्यो । त्यस्तै, व्यवस्थापकको जिम्मेवारीमा देबबहादुर चौधरी, चन्द्रप्रसाद चौधरी, गजराज चौधरी, तुलसीराम चौधरी, सगुनलाल चौधरीलगायत हुनुहुन्थ्यो । सोही समूहले समाज रुपान्तरण गर्नेखालका सचेतनामूलक खुराक, सामग्री राखेर गोचाली पत्रिका प्रकाशन थाल्यो । गोचाली शब्द ठेट थारू शब्द हो । जसको अर्थ हुन्छ ‘साथी’ । अर्थात् सो पत्रिकालाई समग्र थारू समाजको साझा साथीको रुपमा प्रचार गर्नुभयो । रुपान्तरणको सारथी बनाएर अघि बढ्नुभयो । अभियानले थारू गाउँबासीलाई केही भए पनि रुपान्तरण गर्न सफल भयो । समाजमा विद्यमान अन्धविश्वास, रुढीवादी प्रथा परम्पराको अन्त्य, शिक्षाको महत्वबारे चेतना जगायो । समाज रुपान्तरणको पहरेदार (सिपाही) को भूमिका निर्वाह गरेको थियो । त्यो समयमा अभियानको ठूलो अर्थ र महत्व थियो । पत्रिकाले ३६ वर्षसम्म अर्थात् २०६४ सम्म निरन्तरता पायो । अहिले प्रकाशन बन्द छ ।
थारू भाषा तथा साहित्य सुधार समितिलाई प्रकाशक बनाएर थारू भाषाको पहिलो पत्रिका उहाँहरुले जन्माउनुभयो । त्यो पत्रिका थियो ‘गोचाली’ ।
पत्रिकाको पहिलो अङ्कमा महेश चौधरीले ‘थारू किसान बिग्रनुको कारण र सुधारको उपाय’ शीर्षकमा लामो लेख लेख्नुभयो । लेखको मुख्य आशय नै थारूमा विद्यमान अन्धविश्वास, गलत परम्परा, कुसंस्कारको अन्त्य गर्न शिक्षाको महत्व बारेमा थियो । समाजमा चेतना फैलाउन संगठनको खाँचो पर्ने, भोगविलासीता त्याग्नुपर्ने, थारू भाषाको विकास गरिनु पर्ने, गरिबी हटाउनु पर्ने, सचेतना फैलाउन शिक्षामा जोड दिनुपर्ने विषय प्रधान थिए । सोहीअनुसार पत्रिकामा सम्पादकीयमार्फत् थारू भाषाको पत्रिका प्रकाशन गर्नु जातीवादलाई प्रसय गर्नु र समाजमा साम्प्रदायिकता फैलाउनु नभई थारू भाषा साहित्यको उत्थान, विकास र समाजमा रहेका पछौटेपनलाई हटाई नागरिकलाई सचेत गराउने, शोषणको अन्त्य गर्ने अभियानको रुपमा बुझिदिन पाठकसमक्ष आग्रह गरिएको थियो । त्यतिबेला पञ्चायती शासकको दवदवा थियो । शासकविरुद्ध बोल्न, पैरवी गर्ने छुट थिएन । महेशको समूहले लुकीछिपी भारतको बनारस गएर पत्रिका छपाएर ल्याउँथ्यो । गाउँघरमा लुकिछिपी पत्रिका वितरण गर्ने र सचेतना अभियान सञ्चालन गथ्र्यो ।
राजनीतिक जीवन
महेशमा राजनीतिक चेतना पनि २०२८ सालमै आएको देखिन्छ । उहाँले समाजमा व्याप्त शोषण, दमन र विभेददेखि आजित भएर कम्युनिष्ट अभियानमा लाग्नुभयो । समाजमा व्याप्त शोषण, गरिबी र अन्धविश्वासको अन्त्य वर्गीय राजनीतिले मात्र सम्भव हुने देखेर आफू कम्युनिष्ट अभियानमा सरिक भएको उहाँको भनाइ थियो । २०१६ साल माघ १७ गते दाङमा किसान विद्रोह भएको थियो । त्यसपछि पटक पटक त्यस्ता विद्रोह अन्य जिल्लामा पनि भए । जहाँ गुमरा थारूलगायतलाई तत्कालीन प्रशासनले गोली हानी हत्या गरेको थियो । सो घटनालाई किसान विद्रोहको रुपमा लिइन्छ । किसानलाई तत्कालीन कम्युनिष्ट नेताहरुले साथ दिएका थिए । उनीहरु नै किसानलाई वर्गीय विद्रोह र आन्दोलनका लागि संगठित गराउने गरेकाले त्यसबाट प्रभावित भएर आफू कम्युनिष्ट आन्दोलनमा समाहित भएको चौधरीको भनाइ थियो ।
२०१६ साल माघ १७ गते दाङमा किसान विद्रोह भएको थियो । त्यसपछि पटक पटक त्यस्ता विद्रोह अन्य जिल्लामा पनि भए ।
२०४८ सालमा राष्ट्रिय सभा सदस्य भएर जिम्मेवारी निर्वाह गर्नुभएका चौधरी २०५४ सालमा लोकेन्द्रबहादर चन्द नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री हुनुभयो । त्यस्तै, नेकपा (एमाले) को तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सभासद हुनुभयो । यसैबीच उहाँ एमालेको पार्टी जिम्मेवारीमा रहेर लामो समय काम गर्नुभयो । केन्द्रीय सल्लाहकार परिषदको सदस्य भएर जिम्मेवारी निर्वाह गरे पनि नेकपा विघटनपछि उहाँ एमालेमै फर्किनुभयो । यद्यपि राजनीतिमा सक्रिय रुपमा लाग्नु भएन । आफ्नै गाउँमा अर्गानिक मल उद्योग सञ्चालन गरी व्यवसाय गर्नुभयो ।
प्राध्यापनमा सक्रियता
राजनीतिक जीवन सँगसँगै उहाँ प्राध्यापन पेशामा पनि सक्रिय रहनु भयो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट भूगोल विषयमा स्नातकोत्तर गर्नुभएका चौधरीले दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा लामो समयसम्म अध्यापन गर्नुभयो । त्यसअतिरिक्त उहाँले विभिन्न सञ्चार माध्यममा थारु भाषा संस्कृति, इतिहास तथा राजनीति विषयका आलेख, साहित्यिक सामग्री र विचारहरु प्रकाशन गरी समाजलाई सुसूचित गराइरहनु भयो ।
लेखनमा सक्रिय
महेश चौधरीले जीवनमा दर्जन बढी पुस्तक तथा कृति लेखेर प्रकाशन गर्नुभयो । जसमध्ये उहाँको लेखन सम्पादनमा प्रकाशन भएका कृतिहरु ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरु’, ‘स्थवीरहरुको प्राचीन इतिहास र संस्कृति’, ‘हिडन ट्रेजरर अफ दि लो ल्याण्ड अफ नेपाल’, ‘थारु लिरौसी व्याकरण’, ‘छारा’ गीति नाटक, ‘बड्कीमार‘ लोकसाहित्य, ‘झुमरा’ गीत लोकसाहित्य, ‘कमैयक पुकार’ (कविता संग्रह) मुख्य छन् । उहाँले तयार गर्नुभएका कैयौं कृति प्रकाशन हुन बाँकी छन् । यसका साथै उहाँले नियमित रुपमा राष्ट्रिय मिडियामा सयौं फुटकर लेख रचना प्रकाशन गरी समाजलाई जीवनपर्यन्त जागरुक बनाइ रहनुभयो ।
थारू भाषाविदको पहिचान बनाउन सफल योद्धा महेश चौधरीको २०८० जेठ २४ गते उपचारकै क्रममा दाङमा निधन भयो ।
जीवनको अन्तिम अवस्थासम्म लेखन कार्यमा सक्रिय रहनुभएका लेखक, पत्रकार, विश्लेषक, राजनीतिकर्मी, संस्कृतिकर्मी, इतिहासविद, भूगोलविद तथा थारू भाषाविदको पहिचान बनाउन सफल योद्धा महेश चौधरीको २०८० जेठ २४ गते उपचारकै क्रममा दाङमा निधन भयो । उहाँको निधन भए पनि समाजलाई लगाउनु भएको गुनको सदैव कदर हुनेछ । उहाँका लेखकीय रचना र समाजका लागि गरेका योगदानले उहाँलाई युगौंयुगसम्म अमर बनाइरहने छ ।