इजिप्टको तेस्रो राष्ट्रपति अनवर सादतले भन्नुभएको छ, “आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो ।” यो भनाइ निकै वजनदार छ । समकालीन विश्व राजनीतिक नेताहरूको जीवनमा यो लागु गर्नलायक छ । हरेक व्यक्तिको दैनन्दिन जीवनमा पनि यो कार्यान्वयनयोग्य छ । नेपालको राजनीति त झन् सधैँ सङ्क्रमणबाटै गुज्रिरहन्छ । अनवरको भनाइ हाम्रा नेता र राजनीतिज्ञमा अझ गहकिलो कार्यान्वयनको खाँचो छ । हरेकको जन्मजात फरक प्रवृत्ति हुन्छ । कसैले कसैको भनाइलाई सहज ढङ्गले ग्रहण गर्छ, कसैले असहज ढङ्गले । कसैले भनाइको महìव पर्गेल्न सक्छ, कसैले सक्दैन । गरिब परिवारमा जन्मेका अनवर केही समय पत्रकारिता क्षेत्रमा काम गर्नुभएको थियो । पछि इजिप्टको उपराष्ट्रपति हुँदै राष्ट्रपति बन्नुभयो । इजिप्टको विकास र इजरायली शान्ति कायम गर्नमा ठुलो योगदान दिनुभएका अनवरको ६ अक्टोबर १९८१ मा हत्या गरिएको थियो ।
नेकपा (एमाले) का पूर्वमहासचिव मदन भण्डारीले भन्नुभएको छ, “सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुन पर्छ ।” तत्कालीन नेकपा (माले) र नेकपा (माक्र्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) निर्माणमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त अनुरूप एमाले अगाडि बढेको छ । उहाँको गहन विचार र मार्गदर्शनलाई एमालेले पछ्याइरहनु भनेको नेकपा (एमाले) को एकताका निम्ति हो । वाम शक्तिबिचको एकताका निम्ति हो । समृद्ध नेपाल निर्माण कमजोर राजनीतिक शक्तिले सम्भव छैन । मदन भण्डारीले देख्नुभएको सपना अनुसार समृद्ध नेपालका लागि बलियो शक्तिको खाँचो पर्छ । सिद्धान्त तब सफल हुन्छ, जब त्यसमा मानवीय जीवन जोडिन्छ । जीवनमा सफल कार्यान्वयन हुने सिद्धान्तले समाज रूपान्तरण गर्छ । उहाँको यो भनाइलाई समकालीन राजनीतिकर्मीले मनन गर्नु पर्छ । समाज रूपान्तरणको सपना बोकी राजनीतिमा होमिनुभएका भण्डारीको ४१ वर्षको उमेरमा चितवनको दासढुङ्गामा कार दुर्घटनामा रहस्यमय मृत्यु भयो । पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरूले उहाँको हत्या भएको अडकल गरे तर आजपर्यन्त घटना रहस्यको गर्भमा छ ।
राजनीतिक मियो
समकालीन राजनीतिको मियो प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बन्नुभएको छ । उहाँकै चर्चा, परिचर्चा र वरिपरि नेपाली राजनीति चलेको छ । संसद्मा दोस्रो ठुलो दलको अध्यक्ष र संसदीय दलका नेता रहनुभएका ओली अहिले देशको नेतृत्व गरिरहनुभएको छ । प्रमुख दल नेपाली कांग्रेसको समर्थन र सहयोगमा उहाँ प्रधानमन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहनुभएको छ । वाम शक्तिबिच अनेक उतार–चढाव र तिक्तता बढ्दा विपरीत ध्रुवको दल कांग्रेससँग सहकार्य गरी अध्यक्ष ओली प्रधानमन्त्री पदमा आसीन हुनुहुन्छ । उहाँको कार्यकाल पूरै एक वर्ष बाँकी छ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दुई दलबिच सहमति छ । राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि दुई प्रमुख दलबिच सहमति भएर सत्ता सहकार्य भएको थियो । सोही अनुसार सहकार्य र साझा कार्यक्रम अनुसार नै सरकारको काम अगाडि बढेको छ ।
अध्यक्ष ओली नेपालमा मात्र नभई विश्व राजनीतिक मञ्चमा आफ्नो स्थान बनाउन सफल हुनुहुन्छ । उहाँको राजनीतिक दूरदर्शिता, अडान र अध्ययनशील नेताको छवि छ । यही कारण एमालेजन र शुभेच्छुक देशको र पार्टीको नेतृत्वमा ओलीको आवश्यकता ठान्नुभएको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ अध्यक्ष ओलीकै ‘ड्रिम प्रोजेक्ट’ हो । यसलाई सार्थक बनाउने सपना उहाँकै हो । त्यसका लागि उहाँ अझै पार्टी र देशको नेतृत्वमा योगदान दिन तल्लीन हुनै पर्छ । उहाँमा अझै देश र जनताका निम्ति काम गर्ने जोस र जाँगर छ । योजना र भिजन छ । देश बनाउने उत्कट चाहना बोकेको नेतृत्वलाई सबै मिलेर साथ र सहयोग गर्नु पर्छ ।
विद्या डक्ट्रिन
नयाँ संविधानमा महिलाको अधिकार सुनिश्चित हुनुमा विद्या भण्डारीको पहलकदमीको अवमूल्यन गर्न सकिँदैन । समकालीन राजनीतिमा महिलाको प्रभावशाली नेतृत्व र संसद्मा ३३ प्रतिशत बढी महिला नेतृत्व सुनिश्चिततामा उहाँको योगदान प्रसंशायोग्य छ । महिला अधिकारको मुद्दा हरेक क्षेत्रमा सम्बोधन हुनु र हुँदै जानुमा पनि राजनीतिक नेतृत्वलाई जस जान्छ । त्यसमा विद्या भण्डारी, डा. आरजु राणा, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, पुष्पा भुसालसहितका महिला नेतृत्वको पहलकदमी छ नै । यसअघि राजनीतिक नेतृत्वमा रहेर भूमिका निर्वाह गर्नुभएका साहना प्रधान, शैलजा आचार्यसहितको योगदानको प्रसंशा गर्नै पर्छ ।
विद्या भण्डारी यसअघि एमालेको उपाध्यक्ष भइसक्नुभएको नेता हुनुहुन्छ । मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबज सिद्धान्त कार्यान्वयनमा आफ्नो भूमिका अरूभन्दा अब्बल हुनेमा उहाँमा विश्वास देखिन्छ तर उहाँ देशको दुई कार्यकाल राष्ट्रपति भएपछि मुलुकको अभिभावक हुनुभएको छ । अभिभावकीय भूमिका नै उहाँलाई शोभनीय हुन्छ । उहाँ मदन भण्डारीको धर्मपत्नी हुनुहुन्छ । सम्भवतः त्यही कारण उहाँ पुनः राजनीतिमा सक्रिय हुन खोज्नुभएको होला । अर्को कारण हुन सक्छ– एमाले जस्तो ठुलो पार्टीको नेतृत्वमा महिला पुग्ने इच्छा । मुलुकको प्रथम प्रधानमन्त्रीमा नाम दर्ज गराउने इच्छा पनि होला । पार्टीले चाहेमा यो अवसरको नजिक भण्डारी नै हुनुहुन्छ । गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपतिको पगरी उहाँले लगाइसक्नुभएको छ । वाम शक्तिबिचको एकता, मुलुकको समृद्धिमा योगदान गर्ने प्रतिबद्धता उहाँको होला । देश र जनताको लागि आफ्नो ऊर्जा र क्षमता सदुपयोग गर्ने तीव्र चाहना होला । एमालेले चाह्यो भने यसलाई ‘क्यास’ गर्न सक्छ । भण्डारी एक्लैले चाहेर यो सम्भव नहोला ।
विधान संशोधनको तरङ्ग
एमालेको विधानमा ७० बर्से उमेर हद र दुई कार्यकाल नेतृत्व गर्ने समयसीमा खारेज गर्ने विधान संशोधनको विषयलाई लिएर अहिले नेपाली राजनीति तरङ्गित छ । ७० बर्से उमेर हद र दुई कार्यकाल नेतृत्व गर्ने विषय नफुकाउने हो भने अध्यक्ष ओलीलाई अर्को कार्यकालका लागि ढोका बन्द हुन्छ । एमाले सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबाट समेत संशोधन प्रस्ताव पारित भएपछि बाटो सहज देखिएको छ । आगामी भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनले सोही प्रस्तावलाई पारित गर्ने निश्चित प्रायः छ । नेपाली राजनीतिलाई सही दिशाबोध दिएर राजनीतिबाट विश्राम लिने लक्ष्य बनाउनुभएका अध्यक्ष ओलीको कदमलाई एमालेजनले साथ दिने स्पष्ट धारणा देखिएको छ । सत्ता सहकार्य गरिरहेको दल कांग्रेसले समेत अध्यक्ष ओलीको खाँचो नेपाली राजनीतिमा अझै रहेको आशय व्यक्त गरेको छ । उसो त वाम शक्तिलाई एक हुन नदिन कांग्रेस नेतृत्व सदैव चनाखो नै छ । यसमा पनि एमालेजन सतर्क हुनै पर्छ ।
राजनीतिक दलका नेताहरू एमाले बैठकको गतिविधिलाई गम्भीरता साथ नियालेका छन् । कतिपय विरोधी नेताहरूको चाहना र प्रयास अध्यक्ष ओलीलाई नेतृत्वबाट विमुख गराउनु छ तर एमाले नेता तथा कार्यकर्ताको सुझबुझपूर्ण कदमले त्यो चाहना करिब तुहिएको छ । डेढ वर्षपछि हुने एमालेको एघारौँ महाधिवेशनले पुनः ओलीलाई अध्यक्षमा ल्याउने वैधानिक खाका तयार गरिरहेको छ । यसअघि २०७८ मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा भएको एमालेको १० औँ महाधिवेशनले अध्यक्षमा ओलीलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको थियो । तेस्रो कार्यकालका लागि अध्यक्षमा ओली आउने निश्चित जस्तै भएपछि त्यसपछिको नेतृत्वका लागि भण्डारीका लागि बाटो फुक्न पनि सक्छ । पार्टीका नेता, कार्यकर्ताले चाहेमा उहाँका लागि बाटो खोल्न अप्ठेरो हुँदैन । त्यसका लागि भण्डारीले वातावरण बनाउन अध्यक्ष ओलीको सहमति चाहिन्छ । त्यस घडीसम्म उहाँले प्रतीक्षा गर्नु पर्छ । एमाले एकतालाई बलियो बनाउने सूत्र पनि यही हो । हुन त दोस्रो तहका नेताहरू नेतृत्व लिन तयार भएर बस्नुभएको छ । भण्डारीको इन्ट्रीले आफ्नो पालो ढिलो आउने भय उहाँहरूमा पर्नु अस्वाभाविक होइन । यद्यपि माथि उल्लेखित नेता अनवर र मदन भण्डारीको भनाइले नेताहरू आफूलाई बदल्ने खुबी राख्नु पर्छ ।