काठमाडौँ, साउन २४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालकी उपमहासचिव तथा संसदीय दलको प्रमुख सचेतक रेखा यादवले सफल रूपमा घर चलाएका महिलामा देश चलाउने आँट पनि रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको भिडियो संवाद ‘सांसदलाई सवाल’ मा कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।
महिला सांसदहरू पुरुषहरूसँग हातेमालो गरेर सबै अधिकारका लागि काम गर्न चाहे पनि पुरुष सांसदहरूको प्रवृत्ति अझै नसच्चिएको उहाँको गुनासो छ । सदनमा हातेमालो गरेर अघि बढे सदन सक्षम रूपमा अघि बढ्ने उहाँको बुझाइ छ । ‘महिला अहिले सक्षम भइसकेका छन्, देश चलाउने आँट महिलामा छ, महिलाले सक्तैनन् भन्ने गलत भाष्य पुरुषहरूले निर्माण गरेका छन्’ उहाँले भन्नुभयो, ‘महिलाको काँधमा भारी हुँदाहुँदै पुरुषसँग प्रतिस्पर्धा गर्न सक्छ भने जिम्मेवारी पाउँदा किन काम गर्न सक्दैन ?’
महिलालाई घरको जिम्मेवारी सँगसँगै बाहिरको जिम्मेवारी पनि गर्नुपर्ने बाध्यता आइलाग्ने हुनाले काम गर्न चुनौतीपूर्ण रहने गरेको उहाँको भनाइ छ । पाएको जिम्मेवारी महिलाले सफल रूपमा गर्न सक्ने सक्षम रहेको उहाँले बताउनुभयो । अहिले देशको नीति, दलको विधान पुरुषमैत्री रहेको उहाँको दुःखेसो छ । ‘महिला उपाध्यक्ष, उपमेयर हुन लाई मात्र जन्मेका होइनन्, नेतृत्वका लागि सक्षम भएका छन्’ उहाँले भन्नुभयो । महिलालाई नेतृत्व नदिनु भनेको महिलाको अपमान गर्नु हो, उहाँको भनाइ छ ।
राज्यको नजरमा मधेश जहिले उपेक्षित हुँदा शिक्षा, स्वास्थ्य र रोजगारमा मधेसमा समस्या व्याप्त रहेको उहाँले आरोप लगाउनुभयो । जसपा नेपालबाट समानुपातिक सांसद रहनुभएका मोरङ निवासी यादवले भन्नुभयो, “तराई मधेशका नागरिकलाई राज्यले दोस्रो दर्जाको नागरिकको नजरले हेर्ने गरेको छ । त्यही भएर तराई मधेशको समस्या समाधान भएन ।”
मधेशबाट नेताहरू पटक पटक सरकारमा गए पनि हातखुट्टा बाँधेर काम गर्न नदिइएको उहाँको टिप्पणी छ । ‘मधेश प्रदेश दिइयो तर मुख्यमन्त्रीले सिडियो, प्रहरी प्रशासनलाई चलाउन सक्दैन, अधिकार नदिएर प्रदेश दिएर मात्र कसरी समस्या समाधान हुन्छ ?’ उहाँले भन्नुभयो । नयाँ संविधान बने पनि अधिकारहरू अझै सम्बोधन गर्न बाँकी रहेको उहाँको भनाइ छ । नयाँ संविधान जारी भएको दिनलाई जसपा नेपालले कालो दिवसको रूपमा मनाउने गरेको बताउनुभयो ।
सबै ठाउँमा राजनीतिक हस्तक्षेप भएका कारण देशमा विकास नभएको उहाँले टिप्पणी गर्नुभयो । भागवण्डाका आधारमा गरिने राजनीतिक नियुक्तीले सक्षम व्यक्तिहरू आउन नपाएको उहाँको बुझाइ छ । राजनीतिकरण भएकै कारण देशको उद्योग कलकाराखाना धरासयी भएको उहाँले टिप्पणी गर्नुभयो ।
मधेश अन्न भण्डार रहे पनि कृषकको समस्या समाधान नगर्दा उत्पादन चाहेजस्तो हुन नसकेको उहाँको भनाइ छ । समयमा सिँचाइ नपाउनु, मल बिउ नपाउनु, उत्पादन भएको अन्नको सही बजारभाउ नपाउनुले कृषकको समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो । कृषिका हिसावले उर्वरभूमिमा सहरीकरण गर्न नहुने उहाँले सुझाव दिनुभयो ।
प्रस्तुत छ, प्रतिनिधिसभा सदस्य रेखा यादवसँग गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक लक्की चौधरी, प्राविधिकतर्फ मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको ‘सांसदलाई सवाल’ का लागि भिडियो अन्तरवार्ता –