काठमाडौं, मंसिर २० गते । शैलुङ अर्थात् टाकुराको पर्यायवाची शब्दले दोलखा जिल्लाको पहिचान दिन्छ । ऐतिहासिक, प्राकृतिक तथा धार्मिक रुपले रमणीय शैलुङ नेपालको पर्यटकीय सम्भावना बोकेको उत्कृष्ट गन्तव्यमध्ये एक हो । यहाँको पूर्वाधार निर्माणलाई महत्व दिनसके नेपाली ग्रेटवाल चढ्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिन्छ ।
शैलुङ गाउँपालिका वडा ८ कालापानीमा पर्ने नेपाली ग्रेटवाल शैलुङ डाँडा उक्लिने प्रवेशद्वार हो । शैलुङको नाङ्गा डाँडा जहाँ भ्यूटावर निर्माण गरिएको छ । त्यो ठाउँ पुग्न कालापानीबाट करिब डेढ घण्टा समय खर्चेर उक्लिनु पर्छ । स्थानीयले पौने घण्टामा उक्लिन सकिने बताउने गरे पनि बाह्य पर्यटकले डाँडाको रमणीय अवलोकन गर्दै, तस्बिर लिँदै डेढ घण्टा लगाउने गर्छन् । प्राकृतिक छटाले त्यहाँ आउने आगन्तुकको मनलाई सजिलै मोहित गर्छ ।

नेपाली ग्रेटवाल
वि.सं. २०७८ सालमा निर्माण गरिएको नेपाली ग्रेटवाल नाम दिइएको डाँडाको पर्खालले बेजिङ (चीन) को ग्रेटवालको झल्को दिन्छ । चीनको ग्रेटवाल बलियो र फराकिलो छ । नेपालको ग्रेटवाल तुलनात्मक नेपालीपनको र साँगुरो छ । अहिले निर्माण गरिएको ५०० मिटर नेपाली ग्रेटवालमा ४८७ खुड्किलो मात्र छ । आगामी योजनामा थप ५०० मिटर निर्माणको काम हुने स्थानीयको भनाइ छ । थप निर्माण भएमा लम्बाई एक किलोमिटरको हुनेछ ।
बेइजिङमा निर्माण गरिएको विश्वकै ठुलो र लामो ग्रेटवालको लम्बाई २१ हजार १९६ दशमलब १८ किलोमिटर छ । जुन ग्रेटवाललाई चन्द्रमाबाट पनि अवलोकन गर्न सकिन्छ भनिएको छ । चीनको ग्रेटवालले वार्षिक करोडौं पर्यटकलाई आकर्षित गर्छ । नेपालको ग्रेटवाल एउटा सुरुवात मात्र हो । शैलुङमा पर्यटक आकर्षित गर्ने खुड्किलो मात्र हो भन्न सकिन्छ ।

तत्कालीन गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालको नेतृत्वमा शैलुङ ग्रेटवाल निर्माणको काम थालिएको थियो । नेकपा (एमाले) बाट गाउँपालिका अध्यक्ष रहनुभएका दुलालले ५०० मिटर लामो ग्रेटवाल निर्माण गर्नुभयो । ७० प्रतिशत संघीय बजेट र ३० प्रतिशत स्थानीय बजेटले सो निर्माण गरिएको छ । त्यसपछि थप विस्तारको काम हुन सकेको छैन । वडा ८ का अध्यक्ष धनबहादुर तामाङका अनुसार आउने बजेटमा थप ५०० मिटर विस्तार गर्ने बजेट परेको छ । तर काम सुरु हुन सकेको छैन ।
ग्रेटवालको काम अधुरो छ । त्यसैले होला ग्रेटवालबारे सूचना राखिएको छैन । कति बजेटमा निर्माण गरिएको हो ? कति मिटर लम्बाई छ ? कति खुड्किला छन् ? केही सूचना भेटिदैन । त्यहाँ आउने पर्यटकलाई स्वागत गेट समेत बनाइएको छैन । ग्रेटवाल प्रवेश गर्ने द्वारमा गेट निर्माण गरिएको भए पनि त्यसमा सूचना राखिएको छैन । अर्थात् त्यो पनि निर्माणाधीन अवस्थामा छ ।

शैलुङबाट देखिने हिमाल
शैलुङ डाँडाबाट उत्तरतर्फ गौरीशंकर, नुम्बुर, मकालु, मनास्लु, जुगल, लाङटाङ हिमाल आकर्षक देखिन्छ । दोलखामै पर्ने आकर्षक स्थानहरुमा कालिञ्चोक, चेर्दुङ, रामेछापको लामेडाँडा, सोलुखुम्बुको पिके र ओखलढुंगाको थोलेदेम्बा लगायतका स्थानहरु शैलुङबाट नियाल्न सकिन्छ ।
३ हजार १५० मिटर उचाइमा रहेको शैलुङ डाँडा धार्मिक पर्यटकको पनि गन्तव्य स्थल हो । बौद्ध धर्मावलम्बीहरु त्यहाँ ठुलो मात्रामा पुग्नेगरेका छन् । शैलुङ डाँडामा प्राचीन बुद्धको पाइला रहेको छ ।

शैलुङ डाँडाको अन्य आकर्षण
शैलुङ डाँडा वरिपरि भिमसेन तरवार स्थान छ । भीमसेनले आफ्नो खड्ग (तरवार) विश्रामका बेला त्यहाँ बिसाएका थिए भन्ने प्राचीन मान्यता छ । तरवारको आकृति ढुंगामा अंकित गरिएको छ । धर्मावलम्बीहरु भीमसेनको तरवारको पनि दर्शन गर्नेगरेका छन् ।
शैलुङमा शैलुङेश्वर महादेवको महिमा पनि प्रख्यात छ । भक्तजनहरुले विश्वको शक्ति स्रोत, सृष्टिको रक्षकको रुपमा पूजा गर्ने गर्छन् । महादेवको दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वास रहेको छ । मंसिर अन्तिम सातादेखि माघ महिनासम्म शैलुङ डाँडामा बाक्लो हिउँ पर्ने गर्छ । त्यसले पर्यटकको मनलाई लोभ्याउँछ ।
शैलुङमा डाँफेढुंगा, महादेव गुफा, गोदावरी फुल्ने गुफा, बुद्धको पाइला, गंगटो ढुंगा, बाघ ढुंगा, गाई ढुंगा, जुरे महादेव ढुंगा, गुप्तेश्वर महादेव, पृथ्वीको नाइटो लगायतका चर्चित ठाउँहरु छन् । सयवटा लुङ मिलेर शैलुङ बनेको छ । लुङको अर्थ टाकुरा हुन्छ । त्यो क्षेत्रमा सयवटा टाकुरा लहरै भएकाले शैलुङ नाम राखिएको स्थानीयको भनाइ छ ।

काठमाडौंबाट करिब १४० किलोमिटर दूरीमा रहेको दोलखाको शैलुङ डाँडाको वरिपरि चौरीगाईका खर्कहरु रहेका छन् । चौरीगाईको दुधबाट उत्पादित घ्यू र छुर्पीहरुले राम्रो बजार पाएको स्थानीय व्यापारी सुनिता थपलियाले बताउनुभयो । नयाँ वर्ष र जनैपूर्णिमामा ठुलो मेला लाग्ने शैलुङ आलु उत्पादनको हिसावले पनि प्रख्यात छ ।








