• २ मंसिर २०८२, मङ्गलबार

पर्यटकको पर्खाइमा कुम्भर अड्डा स्मृति पार्क (फोटो फिचर)

blog

वर्दियाको कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क ।

बर्दिया, मंसिर २ गते । बारवर्दिया नगरपालिका –१० बर्दियाको सेमरहवामा अवस्थित कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दैगएको छ । आन्तरिक पर्यटकहरुको पिकनिक (वनभोज) खाने स्थल, सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएकाहरु फर्किन्छन् कि भनेर प्रतिक्षा गर्ने केन्द्र पनि स्मृति पार्क बनेको स्थानीयको भनाइ छ । 

२०५२ फागुन १ गतेदेखि सुरुभएको तत्कालीन माओवादीको सशस्त्र युद्धमा राज्यपक्ष र माओवादी पक्षबाट गरेर करिब १७ हजार बढीको ज्यान गएको थियो । एक हजार तीनसय बढी मानिसहरु बेपत्ता भएका थिए । त्यसमध्ये थारु बहुल जिल्ला बर्दियाका हजारौं थारु बेपत्ता सूचीमा अझै छन् । संयौंको संख्यामा थारुहरुको ज्यान गएको थियो । बेपत्ता भएकाहरुको परिवारका सदस्यहरुले अझै पनि आफ्नो मान्छे फर्किन्छन् कि भनेर आश नमारेको बताउने गरेका छन् । स्मृति पार्कले बेला बेला आश जगाउने गरेको स्थानीय लहानी चौधरीले बताउनुभयो ।

उहाँको श्रीमान कर्णबहादुर थारु सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका थिए । अहिलेसम्म उहाँको अवस्था अज्ञात छ । श्रीमान् फर्किने आश अझैसम्म नमरेको लहानीले आशा व्यक्त गर्नुभयो । सोहीअनुसार सोही ठाउँका तेजबहादुर थारुले आफ्नो छोरा रामदुलारे थारु फर्किने आशमा अझै बस्नुभएको छ । द्वन्द्वकालमा सेनाले समातेर व्यारेकमा लगे पनि आफ्नो छोरा अझै नफर्केकाले कुनै दिन फर्किने आशा नमरेको उहाँले पीडा सुनाउनुभयो । बेपत्ता भएको लामो समय भइसकेकाले छोरा अब नफर्किने गाउँले सबैले भन्ने गरे पनि बुवाको मनले आश मार्न नसकेको उहाँले पीडा सुनाउनुभयो । 

सो पार्कमा २५० बढी बेपत्ताहरुको सूची राखिएको छ । पार्कमा स्तम्भ बनाएर बेपत्ताको सूचीमा सबैको नाम कुँडिएको छ । घरका सदस्यहरु सोही स्मृति पार्कमा गएर नाम हेर्दै आफन्त आउने आशमा प्रतिक्षा गर्नेगरेको स्मृति पार्कका महासचिव टीकाराम परियारले बताउनुभयो । लाश फेला नपर्दासम्म आफन्तमा आश हुने गरेको उहाँले बताउनुभयो । 

महासचिव परियारका अनुसार ३५ हेक्टर क्षेत्रमा फैलिएको स्मृति पार्कमा शहिदहरुको स्तम्भ मात्र छैन, बेपत्ताहरुको प्रतिक्षाको सूची समेत राखिएको छ । बेपत्ता भएकाहरुको स्मृतिमा प्रतिक्षालय बनाइएको छ । २०६६ सालमा पेरहवा सामुदायिक वन उपभोक्ता समूहले स्मृति पार्कका लागि जग्गा दिएपछि त्यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने जमर्को स्थानीयले गरेको उहाँले बताउनुभयो । 

स्मृति पार्कमा टाढा टाढाबाट वनभोज खान मान्छेहरु आउने गरेको, कलाकारहरु सुटिङका लागि आउनेगरेको सुनाउँदै उहाँले पिकनिकका लागि दिनभरीमा १५० रुपियाँ शुल्क निर्धारण गरिएको भए पनि व्यक्तिका लागि २० रुपियाँ शुल्क तय गरिएको उहाँले बताउनुभयो । सोहीअनुसार स्मृति पार्कमा आउने आगन्तुकले थारु पहिरन लगाएर तस्बिर लिन चाहेमा भाडामा थारु पहिरन, पोषाक पनि उपलब्ध गराउने गरिएको उहाँले बताउनुभयो ।

पहिलेभन्दा अहिले स्मृति पार्क बारेमा प्रचारप्रसार भएपछि आन्तरिक पर्यटकको संख्या बढ्दैगएको परियारको भनाइ छ । वर्दियाको सदरमुकाम गुलरिया बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको सो स्मृति पार्कमा पर्यटक भित्रिनसके स्थानीय पर्यटन प्रवद्र्धन र योद्धाहरुको स्मृतिलाई अझ ताजा पार्ने बुझाइ स्थानीयको छ ।

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।