धीरेन्द्रप्रसाद साह
राजविराज, मङ्सिर १ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले भारतको बिहार प्रदेशमा सम्पन्न विधानसभा चुनाव २०२५ को नतिजाले प्रत्यक्ष–अप्रत्यक्ष असर नेपालको तराई–मधेश क्षेत्रमा पनि गहिरो रूपमा देखिने सम्भावना रहेको बताउनुभएको छ ।
भौगोलिक नजिकपन, सांस्कृतिक समानता, भाषिक एकरूपता र दैनिक सामाजिक अन्तरक्रियाका कारण बिहार र मधेशबिचको सम्बन्ध सामान्य छिमेकी सम्बन्धभन्दा धेरै गहिरो रहेको उहाँले बताउनु भएको छ ।
उहाँले सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै बिहारको राजनीतिको परिवर्तनले मधेशी समाजमा मनोवैज्ञानिक, सामाजिक र राजनीतिक तीनै तहमा प्रभाव पार्ने उल्लेख गर्दै साहले बिहारको ताजा नतिजाले मधेशका मतदाताको राजनीतिक सोच, एजेन्डा छनोट र नेतृत्व मूल्याङ्कनमा प्रत्यक्ष असर पार्ने विश्लेषण गर्नुभएको छ । ताजा निर्वाचनमा भारतीय जनता पार्टी (बीजेपी) ले ८९ र जनता दल (युनाइटेड) ले ८५ सीट जितेर एनडीए गठबन्धनले कुल २०२ सीटसहित बुलन्द बहुमत प्राप्त गरेको छ ।
यसैबिच राष्ट्रिय जनता दल २५ र कांग्रेस छ सिटमै सीमित भएपछि तेजस्वी यादव नेतृत्वको आरजेडीको प्रभाव उल्लेख्य रूपमा घटेको देखिन्छ, जसले बिहारको सामाजिक–राजनीतिक समीकरण नै परिवर्तन भइरहेको सङ्केत गरेको उहाँले बताउनुभयो । साहका अनुसार बिहारमा उठेका मुद्दाहरू जस्तै, विकास, रोजगारी, आरक्षण, शिक्षा र सुशासन—अब नेपाल मधेशमा पनि राजनीतिक प्राथमिकताका रूपमा प्रतिध्वनित हुन्छन् । बिहारी बहस, प्रचारशैली र नेतृत्व प्रस्तुतिले मधेशका मतदातालाई पनि मुद्दामुखीतर्फ प्रेरित गर्ने र सीमापार लोकप्रिय नेताहरूले मधेशका युवामा नेतृत्व–तुलनाको मनोविज्ञान उत्पन्न गर्ने उहाँले धारणा व्यक्त गर्नु भएको छ ।
पूर्वमन्त्री साहले बिहारको यो नतिजाले मधेश–केन्द्रित दलहरूलाई स्पष्ट राजनीतिक सन्देश दिएको जनाउँदै, विखण्डन होइन सहकार्य नै भावी राजनीति सञ्चालनको मुख्य आधार बन्नुपर्ने बताउनु भएको छ । बिहारमा कुनै पनि दल एक्लै बहुमतसम्म नपुगेका कारण गठबन्धनकै माध्यमबाट शक्ति गठन सम्भव बनेको छ, जुन सन्दर्भ मधेशका दलहरूका लागि पनि समान रूपमा लागू हुने उहाँले बताउनुभयो । पहिचान–केन्द्रित राजनीति अब पर्याप्त नबनेको उल्लेख गर्दै साहले पहिचानसँगै विकास–एजेन्डालाई जोड्नैपर्ने आवश्यकता मधेशमा तीव्र रूपमा बढेको उहाँले बिहारका मतदाताले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको देखिँदा मधेशमा पनि समान मनोविज्ञान विकसित भइरहेको निष्कर्ष बताउनुुभयो ।
साहले बिहारको परम्परागत यादव–मुस्लिम समीकरण कमजोर भएको विषयलाई विशेष रूपमा महत्वपूर्ण मान्दै यसले मधेश राजनीतिमा पनि दीर्घकालीन प्रभाव पार्ने बताउँदै बिहारमा दशकौँसम्म निर्णायक भूमिका खेलेको जातीय गोलबन्दी यसपटक कमजोर हुँदै गएको छ, जसका कारण यादव समुदायभित्र विभाजन देखियो, मुस्लिम मतदाताको प्राथमिकता विविधीकरण भयो र दलित–पिछडिएको वर्ग विकासमुखी दलतर्फ सर्ने प्रक्रिया तीव्र भएको विश्लेषण गर्नुभएको छ ।
यही प्रवृत्ति नेपालको मधेशमा पनि देखिन थालेको उहाँले उल्लेख गर्दै मधेशमा विभिन्न जातजातिका मतदाताले परम्परागत समर्थन–रेखालाई भन्दा विकास, रोजगारी र सुशासनलाई प्राथमिकता दिन थालेपछि जात–केन्द्रित राजनीति सीमित हुन थालेको सङ्केत स्पष्ट रूपमा देखा परेको दाबी गर्नु भएको छ । यस्तै, पहिचान–मात्रको एजेन्डाले अब पर्याप्त प्रभाव जमाउन नसक्ने भएकाले मधेशका दलहरूले बहुवर्गीय र बहु–समुदायिक गठबन्धन निर्माण नगरी दीर्घकालीन प्रतिनिधित्व सुनिश्चित गर्न कठिन हुने उहाँको भनाइ छ ।
साहका अनुसार बिहारमा जस्तै मधेशमा पनि मुस्लिम समुदायको राजनीतिक प्राथमिकता बदलिँदै गएको छ । भावनात्मक मुद्दाभन्दा सुरक्षा, शिक्षा, समान अवसर, अधिकार र आर्थिक प्रगतिलाई ध्यानमा राखेर राजनीतिक समर्थन निर्धारण गर्ने प्रवृत्ति तीव्र बन्दै गएको छ । नेपाल–मधेशका मुस्लिम समुदायले अब बढी जिम्मेवार, समावेशी र संस्थागत राजनीतिक एजेन्डा अपेक्षा गर्न थालेको साहले बताउनुभयो ।
उहाँले बिहारको चुनावी परिणामले नेपाल मधेशका लागि पहिलो गठबन्धन राजनीतिको आवश्यकता र दोस्रो, पहिचान र विकासबिच सन्तुलन कायम गरी दुई गहिरा सन्देश दिएको निष्कर्ष निकाल्नुभएको छ ।