• १६ वैशाख २०८३, बुधबार

भुरुङ तातोपानीमा बाढीले पाइपलाइन बगाएपछि खानेपानीको समस्या

blog

म्याग्दी (बेनी),  वैशाख १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अविरल वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित बनेको छ । आज दिउँसो भुरुङ तातोपानी बजारको शिरतर्फबाट बग्ने दुई खहरेखोलाबाट आएको बाढी बस्तीभित्र पसेपछि जनजीवन प्रभावित बनाएको हो । 

बाढी पसेर केही घरमा सामान्य क्षति पु¥याएको र खानेपानीको पाइपलाइन बगाएको स्थानीय होटल व्यवसायी अमृतमान शेरचनले जानकारी दिनुभयो । शेरचनका अनुसार बस्तीमा वितरणका लागि ल्याइएको पाइपलाइन बाढीले बगाएपछि तातोपानीमा खानेपानी अवरुद्ध बनेको छ । 

खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका शेरचनले तत्काल अस्थायी रुपमा खानेपानीको समस्या समाधानका लागि पाइपलाइन मर्मत गर्न बुधबार बिहानै श्रमदान कार्यक्रम राखिएको छ । पर्यटकीयस्थलको रुपमा परिचित तातोपानीमा रहेको होटलहरुमा पर्यटकहरुले खचाखच भएको समयमा खानेपानी अवरुद्ध बनाएपछि होटल व्यवसायीहरु समस्यामा परेका छन् । 

कूल ८२ घरधुरीको बसोबास रहेको भुरुङ तातोपानीमा साना ठूला गरी करिब ३० वटा होटल सञ्चालनमा छन् । मुस्ताङ प्रवेशमार्गका रुपमा रहेको प्राकृतिक तातोपानी कुण्डका कारण यहाँ पर्यटकहरुको हरेक दिन चहलपहल हुने गर्छ । बाढीले तातोपानीदेखि मान्द्रेढुङ्गा जाने सडकसमेत अवरुद्ध बनाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो । 

आज परेको अविरल वर्षाको कारण बेनी जोमसोम कोरला सडकअन्तर्गत महभीर, तातोपानी, गुइठेभीर, खामभित्ता र लाटोखोलामा बाढी र पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ जाने आउने पर्यटक र सर्वसाधारण बीच बाटोमै रोकिएका छन् । रासस