• १६ वैशाख २०८३, बुधबार

काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १५ गते । यस वर्ष २५७० औँ बुद्ध जयन्तीका अवसरमा काठमाडौँदेखि लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ सुरु गरिएको छ ।  महासिद्ध स्यान्चुरी फर युनिभर्सल पिसले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूबाट आजदेखि सुरु गरिएको यात्रा यही वैशाख १८ गते बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा पुगेर सम्पन्न हुनेछ । 

नेपाल पर्यटन बोर्डले समन्वयमा विश्व शान्तिको पवित्र भूमि लुम्बिनीबाट शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउने उद्देश्यसहित सुरु भएको यात्रामा १०८ जना साइकल यात्री सहभागी छन् ।

सहभागीरू बुद्ध जयन्तीको दिन लुम्बिनीमा हुने विशेष समारोहमा मायादेवी मन्दिरमा पूजा, बोधिवृक्ष अगाडि ध्यान, विश्वशान्तिका लागि विशेष प्रार्थना तथा दीप प्रज्वलनमा सहभागी हुनेछन् । 

यात्रामा सहभागीले विश्वशान्ति तथा मानव कल्याणका लागि प्रार्थना, शान्ति, करुणा र चेतनाको सन्देश प्रवाह गर्ने आयोजक संस्थाका संरक्षक एवं बौद्ध धर्मगुरु श्याल्पा रिन्पोछेले जानकारी दिनुभयो । त्यस अवसरमा विगत चार दशकदेखि विश्वभर शान्ति र बौद्ध शिक्षाको प्रचार–प्रसारमा सक्रिय रिन्पोछेद्वारा लिखित पुस्तक ‘टू पाथ टू पर्फेक्ट फ्रिडम’को सार्वजनिकीकरण गरिने जनाइएको छ । 

यात्रा अवधिभर ‘गोइङ ग्रिन’ अवधारणाअनुसार कार्बन उत्सर्जन घटाउने तथा पर्यावरण संरक्षणबारे जनचेतना फैलाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । रासस