• ११ साउन २०८२, आइतबार

ग्यास चुलोबाट आगलागी हुँदा दुई तला जलेर नष्ट

blog

नौरते नेपाली
सिँजा (जुम्ला), साउन ११ गते ।
जुम्ला पातारासी गाउँपालिका–६ मा आइतबार बिहान ग्यास चुलो प्रयोगका क्रममा भएको आगलागीमा एक घरका दुई तला पूर्ण रूपमा जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान करिब ६ः३० बजे अन्दाजी ३६ वर्षीया रणु महताराको तीनतले कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा एक्कासि आगो सल्किएको थियो ।

आगलागीले घरको दोस्रो र तेस्रो तलामा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी पोस्ट उर्थुचौताराले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनाको जानकारी बिहान ८ः३० बजे टेलिफोनमार्फत इलाका प्रहरी चौकी उर्थु्रचौतारामा प्राप्त भएको हो ।

सोही सूचनाको आधारमा प्रहरी हवल्दार मनोजराज गिरीको नेतृत्वमा तीन जना प्रहरी टोली खटिएका थिए । उक्त घर प्रहरी चौकीबाट करिब पाँच किलोमिटर उत्तरमा पर्ने स्थानमा अवस्थित रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार आगो हाल पूर्णरूपमा नियन्त्रणमा लिइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ ।

स्थानीयवासीका अनुसार कच्ची घरमा टिनको छाना भएकाले आगोले तीव्र गतिमा फैलिएको थियो । आगलागीबाट भएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ ।