• २ जेठ २०८३, शनिबार

साँघु स्वास्थ्य चौकीको दुईवटा भवन निर्माण

blog

शुक्रबार उद्घाटन गरिएको साँघु स्वास्थ्य चौकीको नवनिर्मित भवन ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु स्वास्थ्य चौकीको दुईवटा भवन एकसाथ निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक स्रोतबाट साँघु स्वास्थ्य चौकीको दुईवटा भवन निर्माण गरिएको हो ।

उक्त भवनहरु निर्माण सम्पन्न भएसँगै शुक्रबार औपचारिक रुपमा उद्घाटन गरी भवन सञ्चालनमा ल्याउनुका साथै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । कुल एक करोड १७ ला ७७ हजार १८७ रुपियाँको लागतमा स्वास्थ्य चौकी भवनहरु निर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार एउटा ११ कोठा र अर्को पाँच कोठा भएको स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । बर्थिङ सेन्टर (प्रसूति कक्ष) र २४ घण्टा नै स्वास्थ्य सेवा सुनिश्चित गर्न नर्सिङ कर्मचारीका लागि आवास सुविधासहितको भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

नेपाल सरकारको मापदण्ड अनुसारको संरचना निर्माण भएका र भवनहरु निर्माण भएसँगै स्वास्थ्य चौकीबाट सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य चौकीका लागि मैवाखोला गाउँपालिका–३ का स्थानीय नवराज भट्टराई, रवीन्द्र भट्टराईसहित उहाँहरुका परिवारले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।

दुईवटै स्वास्थ्य चौकी भवन तेल्लाबुङ कन्स्ट्रकसनले निर्माण गरेको हो । गाउँपालिका अध्यक्ष वनेम र उपाध्यक्ष कमलकुमारी लिम्बूले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । यता भवन उद्घाटन गर्नुहुँदै अध्यक्ष वनेमले पालिकाभित्र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।