वाजुङ (पर्वत), असार ३० गते । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ५, वाजुङ फलाल्नेबासीहरु कृषिमा आत्मनिर्भर बन्ने प्रयासमा लागेका छन् । प्राकृतिक रुपले एकदम रमणीय स्थानमा रहेको फलाल्ने गाउँबासीको ध्यान अहिले कृषिमा आत्मनिर्भर बन्नेमै छ ।
‘वैदेशिक लगानी स्वदेशी उत्पादन, कृषिमा हाम्रो अभियान’ नारासाथ गाउँबासीहरु अहिले कृषिमा दत्तचित्त भएर सक्रिय हुनुहुन्छ । युवाहरु कामको खोजीमा गाउँ नै सुनसान हुनेगरी धमाधम विदेश पलायन हुन थालेपछि गाउँबासीहरु अहिले हरियाली अभियानमा लाग्नुभएको हो ।
कृषिमा उत्पादन बढाइ आत्मनिर्भर हुने र विदेश पलायन भएका युवालाई स्वदेश फर्काउने लक्ष्य आफूहरुको रहेको गाउँबासीको भनाइ छ । उर्वरभूमि रहेको वाजुङमा करिब ११ सय घरधुरी रहेको छ । सो गाउँका अधिकांशले व्यावसायिक कृषिमा लगानी गरिरहनुभएको छ । आधुनिक र प्राविधिक कृषिका लागि तालिम लिई अर्गानिक उत्पादन बृद्धि गर्ने लक्ष्यसाथ कृषिमा लागेको स्थानीय सावित्री केसी अधिकारीले बताउनुभयो । गाउँबासीमा कृषिको ज्ञान र चेतना आएकाले काम गर्न सहज भएको उहाँको बुझाइ छ ।
विदेशमा रहेर आधुनिक स्वदेशी कृषिमा लगानी गर्दै आउनुभएका समाजसेवी दुर्गाबहादुर गुरुङले गाउँलेहरुलाई आत्मनिर्भर बनाउने आफ्नो मुख्य ध्येय रहेको बताउनुभयो । करिब ४५ रोपनी जग्गामा कृषि फर्म स्थापना गरी कृषि उत्पादनमा आफूले लगानी गरिरहेको उहाँको भनाइ छ । कृषिबाटै नेपालीलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सन्देश दिन आफूले यस क्षेत्रमा लगानी गरेको उहाँले बताउनुभयो । कृषिमा वैदेशिक लगानी भित्र्याएर स्वदेशमै आत्मनिर्भर बनाउन र पलायन भएका युवालाई स्वदेश फर्काउने लक्ष्यसाथ आफूले लगानी गरिरहेको उहाँले सुनाउनुभयो ।
हङकङमा रहेर स्वदेशी कृषि उत्पादनमा आफूले लगानी बढाएको बताउँदै उहाँले केही समयमा आफू पनि स्वदेशमै फर्केर कृषि कर्म गर्ने र पलायन भएका युवालाई स्वदेशमै फर्काउने अभियान चलाउने सुनाउनुभयो । समाजसेवी गुरुङले भन्नुभयो, “म हङकङमा बसेको करिब ३० वर्ष भयो, यहाँको कमाइ स्वदेशको आधृनिक कृषि उत्पादनमा लगाएको छु, कृषि फर्म सञ्चालन गरी उत्पादन बढाएर गाउँबासीलाई आत्मनिर्भर बनाउने अभियानमा छु । राम्रो सफलता मिलेको छ । म केही समयमा स्वदेश फर्किन्छु ।”
कृषि फर्ममा किबी, सुन्तला, ड्रागन फ्रुट, कटहर, नासपाती, अलैची, रुख टमाटर, तिते भेन्टा, टिमुर, भटमास, अकबरे, डल्ले, जिरे खुर्सानी, तोरी, धान, गहुँ, कोदो, फापर, मकै, बेसारको खेती फर्ममा गर्दैआएको उहाँले बताउनुभयो । त्यस्तै, पशुपन्छीमा बाख्रा, राजहाँस, कालिज, लोकल हाँस, लुइचे, लोकल कुखुरा, माछा, जुत्ते र तालु खुइले कुखुरा पालन गरिरहेको उहाँको भनाइ छ । उत्पादित वस्तु र मासुको बजारमा कुनै समस्या नभएकाले आत्मनिर्भर बन्न सहज रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वाजुङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मानबहादुर अधिकारीले मुख्य सडकदेखि फलाल्ने गाउँसम्मको करिब ८ किलोमिटर बाटो पक्की भएमा कृषि उत्पादन र उत्पादित वस्तुको बजारका लागि सहज हुने बताउनुभयो । त्यसका लागि पहल भएको बताउनुभयो । एडिबीको सहयोगमा बाटो ढलान र कालोपत्रेको काम भइरहेको र आगामी तीन वर्षभित्र सबै बाटो बनिसक्ने उहाँले जानकारी दिनुभयो ।
मोटरबाटो सहज भएमा यहाँ उत्पादित अन्न, फलफूल, र मासुजन्य वस्तुको पोखरा बजारसम्म लग्न सहज हुने उहाँको बुझाइ छ । कृषि कार्यमा अभ्यस्त यहाँका कृषकहरु आफूमात्र आत्मनिर्भर नभएर यहाँ उत्पादित अन्नपात, फलफूल र अन्य मासुजन्य चिजवस्तु विक्री गरेर राम्रो आम्दानी गर्न सफल रहेको उहाँले बताउनुभयो । आगामी दिनमा अझ कृषिमा प्राविधिक विकास गरी युवाहरुलाई गाउँमै रोजगार बनाउनेगरी काम भइरहेको उहाँको भनाइ छ ।