रमेश विश्वकर्मा
गुल्मी, साउन ११ गते । गुल्मीको तम्घासस्थित नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्रले एक वर्षमा ४१ हजारभन्दा बढी नागरिकको आँखा उपचार गरेको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा यस संस्थाले सो सङ्ख्यामा आँखा परीक्षण गरेको बताइएको छ । आँखा उपचार सेवालाई नागरिकको पहुँचमा पुर्याउन यस शाखाले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गर्दै आएको छ ।
गतवर्ष जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र मार्फत २६ हजार ४४५ जनालाई ओपिडी सेवा र जिल्लाका विभिन्न विद्यालयमा पुगी १४ हजार ५८७ जना विद्यार्थीको आँखा जाँच गरिएको नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र तम्घासका प्रमुख सूर्यबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार गतवर्ष विद्यालय विद्यार्थी आँखा जाँच कार्यक्रमअन्तर्गत ४४६ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको छ । एक वर्षमा ५०९ जनाको मेजर अप्रेशन र १७ जनाको आँखाको माइनर अप्रेशन गरिएको हो ।
सेभा फाउन्डेशन, डाक नेपाल लगायतका अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा नेपाल नेत्रज्योति सङ्घको केन्द्रीय र प्रदेश समिति एवम् लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्रको मार्गनिर्देशन बमोजिम गुणस्तरीय सेवा प्रदान गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्रले नागरिकको आँखाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि स्थानीय तहसँग सम्झौता गरेको छ ।
हालसम्म सम्झौता गरेका सात स्थानीय तहका १७८ जना नागरिकले सेवा लिनुभएको छ । दुई नगरपालिका र दश गाउँपालिकामध्ये रेसुङ्गा नगरपालिकाका ५९ जना, इस्मा गाउँपालिकाका ३१ जना, गुल्मीदरबार गाउँपालिकाका ४० जना, छत्रकोट गाउँपालिकाका २६ जना, रुरुक्षेत्र गाउँपालिकाका १७ जना, धुर्कोट गाउँपालिकाका तीन जना र सत्यवती गाउँपालिकाका दुई जनाले सेवा लिनुभएको केन्द्रले जनाएको छ ।
गतवर्षदेखि यस संस्थमा स्वास्थ्य बिमा सेवा लागू भएको छ । स्वास्थ्य बिमा गरेका सेवाग्राहीले बिमा वोर्डको निमयअनुसार २० प्रतिशत भुक्तानी स्वयम् आफैले गर्ने गरेको केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार लक्षित समूहले भुक्तानी गर्नुपर्दैन । निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरेका पालिकाहरुले स्वास्थ्य बिमा गरेका नागरिकहरुको २० प्रतिशत भुक्तानी पालिकाले नै बेहोरेको बताउनुभयो । २०४७ सालमा स्थापना भएको यस शाखाले छिमेकी जिल्ला बागलुङ र अर्घाखाँचीका धेरै आँखाका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।
यहाँबाट नाम दर्ता, ओपिडी सेवा, औषधी, इमर्जेन्सी सेवा र शल्यक्रिया सेवा लिन सकिन्छ । जिल्ला आँखा उपचार केन्द्रमा गुल्मी जिल्लाको जुनसुकै स्वास्थ्य संस्थामा प्रथम सेवा बिन्दु मानेका नागरिकले रेफर लिएर सेवा प्राप्त गर्न सक्छन् । नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्रले विभिन्न निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको बताइएको छ । नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाअन्तर्गत जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रसहित सात वटा आँखा उपचार केन्द्र सञ्चालित छन् । जसमा कालिगण्डकी, रिडी, वामी, शान्तिपुर, सिमलटारी र पुर्कोटदहमा आँखा उपचार केन्द्र सञ्चालित छन् ।