साहारा लिम्बू
फुङलिङ, साउन ११ गते । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा स्थानीय भावना विकको मृत्यु भएको हो ।
सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जात्रे क्रममा आइतबार बिहान करिब ९ बजे बोलेरो दुर्घटनामा परेको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बोलेरो ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको थियो । दुर्घटनाबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ३० वर्षीया विकलाई उपचारका लागि जिल्ला अस्पतालमा लाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष भट्टराईको भनाइ छ ।
दुर्घटनामा परेको बोलेरोमा विक र चालक मात्र रहेको बताइएको छ । चालकलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदैछ । उहाँको अवस्था सामान्य रहेको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट घटनास्थलमा प्रहरीको टोली पठाइएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।