काठमाडौँ, साउन ३ गते । प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता दामोदर पौडेल बैरागीले सांसद बैठक अराजक देखिने गरे पनि आत्तिहाल्नुपर्ने अवस्था भने नभएको बताउनुभएको छ । सबै समुदायको प्रतिनिधित्व भएको संसद बैठकमा नागरिकको आवाज आउनु लोकतन्त्रमा स्वाभाविक भएको उहाँको बुझाइ छ ।
कास्की निर्वाचन क्षेत्र ३ बाट निर्वाचित सांसद बैरागीले गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’ भिडियो अन्तर्वार्तामा त्यस्तो बताउँदै भन्नुभयो, “कहिलेकाँही संसद सञ्चालन नियमावली उल्लङ्घन भएको हो कि जस्तो लाग्छ, त्यसलाई सांसदहरूले सुधार गर्नुपर्छ, अमर्यादित क्रियाकलाप सानो सङ्ख्यामा छ, त्यसलाई सुधार गरेर अघि बढ्नु पर्छ ।”
‘संसद बैठकमा सांसदले कपडै खोलेर प्रदर्शन गर्न विनियमावलीले दिँदैन, अर्थमन्त्रीको हातबाट ब्रिफ केस खोस्न पाइँदैन, कुर्सी भाँच्न पाइँदैन, केही घटना भएका छन् । मोबाइल फोन चलाएर बस्न मिल्दैन, त्यो पनि भएको छ । अमर्यादित शब्दहरू पनि रेकर्डबाट हटाइएका छन्’ सांसद बैरागीले त्यस्तो घटना निकै कम रहेको बताउनुभयो । साना घटनाले पनि संसदको गरिमामा आँच पुग्ने हुनाले त्यस्तो घटना हुन नदिन दलले आफ्ना सांसदहरूलाई प्रशिक्षित गर्न आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।
संसद बैठक ८० प्रतिशत अनुशासित छ । २० प्रतिशत अराजक घटना रहेको स्वीकार गर्न सकिने उहाँको भनाइ छ । सांसदहरू जनताको प्रतिनिधित्व गर्ने हुनाले आफूलाई केन्द्रमा राखेर प्रदर्शन गर्नुभन्दा जनताको प्रतिनिधित्व हुनेगरी भूमिका निर्वाह गर्न सके समस्या समाधान हुने उहाँको सुझाव छ ।
पर्यटकीय विकासमा कास्की अब्बल
सांसद बैरागीले पोखरा पर्यटकीय राजधानी घोषणा भएकाले त्यहाँको पूर्वाधार विकास तथा पर्यटकीय सचेतनामा नागरिकलाई प्रशिक्षित गर्न आवश्यक रहेको बताउनुभयो । पोखराको बहुचर्चित ताल फेला तालको वरिपरि रहेका जग्गा विवाद लामो समयदेखि कायमै रहेकाले त्यसको दिगो समाधानमा सरकार पनि लाग्नुपर्ने बताउनुभयो ।
‘साठी सत्तरी वर्षदेखि त्यहाँको जग्गा कमाएर बसेकाहरूलाई राज्यले क्षतिपूर्ति दिएर थप संरचना बनाउन पहल गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘मेरो निर्वाचन क्षेत्रको महत्त्वपूर्ण एजेन्डा एउटा यो पनि हो । म एक वर्षदेखि यो समस्या समाधानमा लागिरहेको छु । सरकारले यसमा साथ दिनुपर्छ ।’ सर्वोच्चले पनि यस विषयमा केही आदेश गरे पनि त्यसको कार्यान्वयनमा विवाद भइरहेको बताउनुभयो । तालको जल सतह बढेर पानीमुनि गएको जग्गाको क्षतिपूर्तिको दाबी स्थानीयले गरे पनि त्यसको निकास हुन बाँकी रहेको उहाँको भनाइ छ ।
प्राकृतिक देन यहाँ अथाह छ । धार्मिक सांस्कृतिक क्षेत्र यहाँ धेरै छ । विन्ध्यवासिनी, नारायणथान, फेवाताल, पञ्चासे, शान्ति स्तुपा, घोडेपानी डाँडा, अन्नपूर्ण, माछापुच्छरे लगायतका हिमाल यही पर्छ । भौतिक पूर्वाधार धेरै मात्रामा निर्माण भएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल बने पनि नियमित अन्तर्राष्ट्रिय उडान ल्याउन सकेका छैनौं । स्थलमार्ग र हवाईमार्गमा केही समस्या भएकाले चाहेजस्तो पर्यटकहरू ल्याउन नसकेको बताउँदै उहाँले सन् २०२५ लाई भ्रमणवर्ष घोषणा गरिएकाले पर्यटकको सङ्ख्या बढिरहेको चर्चा गर्नुभयो ।
मजदुर आन्दोलनबाट खारिएको नेता
पौडेल अवसर नपाएका नेतामा पर्नुहुन्छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएपछि उहाँ पहिलो पटक सांसद बन्नुभएको हो । झण्डै चार दशक राजनीतिमा लगानी गरिसक्नुभएका सांसद बैरागी उमेरले ५० वर्ष काट्नु भए पनि उहाँमा युवा सोच र जोश रहेको छ ।
पिता स्व.चक्रपाणि पौडेल उपाध्याय र माता तुलसी पौडेल उपाध्यायको कोखबाट कास्कीको, अन्नपूर्ण गाउँपालिका–५, झोबाङ चिसापानीमा २०२३ साल वैशाख ५ गते जन्मनुभयो । कास्कीको माछापुच्छरे गाउँपालिका–२, भुर्जुङखोला स्थायी घर भएका बैरागी हाल पोखरामा अस्थायी बासिन्दाका रूपमा बसोवास गर्नुहुन्छ ।
१३ वर्षकै उमेरमा वामपन्थी आन्दोलनमा होमिनुभएका पौडेल अनेरास्ववियु (एकता पाँचौं) को विद्यार्थी संगठनबाट राजनीतिक जीवन सुरु गर्नुभएको थियो । बैरागीले २०३७ सालदेखि २०३९ सालसम्म त्यस सङ्गठनमा काम गर्नुभयो । त्यसपश्चात नेकपा (माले) बाट राजनीतिलाई अगाडि बढाउनुभएका उहाँ २०४० सालदेखि अखिल नेपाल किसान सङ्घमा आबद्ध हुनुभएको थियो ।
२०४५ सालको भारतद्वारा गरिएको आर्थिक नाकाबन्दीविरुद्ध आन्दोलनको मजदुर क्षेत्रको उपकमान्डर, २०४६ सालको जन आन्दोलनमा सुरुमा मजदुर क्षेत्रको उपप्रमुख र फागुनको १५ देखि प्रमुख भएर नेतृत्व गर्नुभएको थियो ।
२०६१ साल वैशाखमा सेनाको अपहरणमा परी बङ्करमा चरम यातना भोग्नुभएका बैरागी पार्टीभित्र केन्द्रीय तहसम्मको अवसर पाउनबाट अझै बञ्चित रहँदै आउनुभएको छ ।
पर्यटकीय क्षेत्रको विकास पूर्वाधार निर्माणमा तल्लीन रहँदै आउनुभएका सांंसद दामोदर पौडेल बैरागीसँग गोरखापत्र अनलाइनका लागि निमित्त सम्पादक लक्की चौधरी, प्राविधिकतर्फ मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो अन्तरवार्ता –