कुनै पनि मुलुकको सफलतामा त्यस देशको सामाजिक दर्शनको भूमिका महत्वपूर्ण हुन्छ । सामाजिक दर्शन भनेको धर्म, संस्कृति, परम्परा र विविध जातीय अभ्यास र संस्कार पर्छन् । धर्म, संस्कृति र परम्पराको बलमा अडिएको नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक सहिष्णुता बेजोड हुनुको कारण पनि यही हो । समाज दर्शनको मूलभूत पक्ष नै धर्म र संस्कृति रहेकाले यसबाट हरेक मानिसलाई नैतिक बन्न प्रेरित गर्छ र यसैको प्रेरणाबाट असल समाजको निर्माण हुन्छ ।
समाज दर्शन भन्नाले समाजमा विद्यमान सोच, मूल्य, परम्परा र सामाजिक संरचनालाई बुझ्ने, विश्लेषण गर्ने, समय अनुसार परिमार्जन गर्ने र वर्तमान सन्दर्भ अनुसार सुधार गर्ने अभ्यासलाई पनि बुझिन्छ । यस अर्थमा धर्मका नाममा, संस्कृति र परम्पराका नाममा कायम रहेका विभेदजन्य गतिविधिलाई स्वीकार गर्न सकिन्न र यो समाज दर्शनभित्र पर्दैन । असल समाज निर्माणका लागि धार्मिक–सांस्कृतिक मूल्यको विश्लेषण गर्दै यसले पारेको सकारात्मक तथा नकारात्मक प्रभाव तथा श्रम र उत्पादनको सम्बन्धका विषयमा गहन विमर्श गर्नु पर्छ ।
कुनै पनि देशको आफ्नै धर्म, संस्कृति र परम्परा हुन्छन् र यसैलाई सम्बन्धित देशले आफ्नो चिनारीको आधार मानेका हुन्छन् । यसका साथ यिनै परम्परा, धर्म र संस्कृति आर्थिक विकासका लागि अनिवार्य मानिएको श्रम संस्कृतिको स्रोत पनि हो तर श्रम संस्कृतिलाई केवल जातीय विभेदको जामा भिराउने गलत अभ्यासले मुलुकमा धेरै नकारात्मक असर परेको छ । मानवताविरोधी विभेदले जरा गाडेको छ । जन समाज दर्शनको सिद्धान्तभित्र पर्दैन ।
जातीय विभेद कानुनी रूपमा मात्र होइन मानवताका हिसाबले पनि गम्भीर अपराध हो । मानव जन्मले नै स्वतन्त्र र समान रहेको हुँदा जात, धर्म, वर्ण, लिङ्गका आधारमा विभेदको सिकार हुनु समाज विकासको अवरोध हो तर यसको निराकरणको नाममा जे जस्तो राजनीतिक हथकण्डा अपनाइयो यसबाट आर्थिक विकासको मोरुदण्ड नै भाँच्ने काम भएको छ । जातीय विभेद अन्त्य र समानताको नाममा सिप, पेसा र गुणलाई ओझेलमा पार्दा यसले आर्थिक विकासमा ठुलै बाधा उत्पन्न गरेको छ ।
कानुनी प्रबन्ध र नीतिगत सुधार भए पनि सामाजिक व्यवहारमा अझै गहिरो विभेद कायम छ । तैपनि नेपाली समाजमा जातीय विभेदले गहिरो रूपमा जरा गाडेको भए पनि आजको समाजले त्यसविरुद्ध उभिन थालेको छ । अझै पनि शिक्षा, सचेतना र व्यवहार परिवर्तन जस्ता आधारभूत पक्षमा उल्लेखनीय उपलब्धि हासिल भएको छैन । विभेद अन्त्यको नाममा कताकता विद्वेष बढेको त छैन भन्ने प्रश्न पनि सँगसँगै उठेको छ ।
हरेक जातिले आफ्नो जातप्रति गर्व गर्ने वातावरण बनाउनु नै जातीय विभेद अन्त्यको दीर्घकालीन उपायका साथै समाज दर्शनको मर्मको संरक्षण गर्नु हो । समाज दर्शनको मूल मर्म धर्म, संस्कृति, परम्परालाई विभेदको तुलामा नराखी श्रम, सिप र पेसागत रूपमा हेरेर अगाडि बढ्ने पद्धतिको विकास हुने हो भने यो गरिबी तथा बेरोजगारी हटाउने उपयुक्त माध्यम हो भन्ने बुझ्न आवश्यक छ र समाज दर्शनको मूल सिद्धान्त पनि यही हो तर विडम्बना ! असमानताको नाममा यसलाई जात र राजनीतिमा सीमित राखेर सिप, श्रम मार्ने प्रयास जसरी भयो, यसले अर्को समस्या सिर्जना गरेको छ र समाज दर्शनको मेरुदण्ड खलबलिएको छ । बेरोजगारी र युवा पलायनको राजमार्ग बनेको छ ।
बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक नेपाली समाजको विश्वव्यापी पहिचान अभूतपूर्व सहिष्णुता हो र यसको कारण समाज दर्शनको पौराणिक मान्यतामा अभ्यस्त हुनु पनि हो तर सिक्काको दुई पाटो रहे जस्तै सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रभाव पर्छन् नै । नकारात्मकभन्दा सकारात्मक प्रभाव बढी अभ्यासमा रहेको छ । कहीँकतै धार्मिक विवाद खडा हुने गरे पनि त्यसलाई सबै धर्मावलम्बीका अगुवा मिलेर साम्य पार्ने गरेका उदाहरण अनेक छन् । मुलुकमा धार्मिक रूपमा विवाद सिर्जना हुनु हुँदैन भन्ने मान्यता नै नेपालको बलियो सामाजिक दर्शनको अभ्यास हो ।
धार्मिक विविधताले विभिन्न जातजाति र समुदायको संस्कृति, परम्परा, भाषा र चाडपर्वलाई संरक्षण गरेको छ । जस्तो कि– दसैँ, तिहार, छठ, बुद्धजयन्ती, उधौँली–उभौली, इद, क्रिसमस आदि सबैले नेपाली समाजलाई बहुरङ्गी पर्व बनाएका छन् । सबै जातजातिले आपसमा शुभकामना आदान प्रदान गर्छन् । यो धार्मिक सहअस्तित्वको परम्परा पनि हो । विविध धर्मावलम्बीबिच आपसी सहकार्य र सहिष्णुता छ । हिन्दु र बौद्ध धर्मका साझा मठमन्दिर छन् । यसलाई धार्मिक पर्यटनको दह्रो स्रोत बनाएर मुलुकले मनग्गे आयआर्जन गर्न सकिन्छ । यस दिशातिर नेतृत्व तहमा पुगेकाको भाषण मात्र बढी छ, काम न्यून । तीन तहकै सरकारले बहुधार्मिक सम्पदाको व्यापक प्रवर्धनका लागि एकसाथ प्रयास गर्नु पर्छ । जिम्मेवारी लिएका सबैले उच्च नैतिकता प्रदर्शन गर्दै कुशल नेतृत्व प्रदान गर्नु पर्छ ।
गतिशील समाजलाई अझ उन्नत बनाउने अनेक आयाममध्ये धर्म, संस्कृति, परम्परा र उच्चस्तरको नैतिकता प्रमुख हुन् र देशको समृद्धि, सुशासनका लागि शासक–प्रशासकमा नैतिकता, इमान र देशभक्ति हुनु पर्छ । हरेक व्यक्तिको सफलताको कारण उसको मेहनत, इमान र नैतिकता नै हो । नैतिक रूपमा बलियो मान्छे कुनै पनि सङ्कटको सामना गर्न डराउँदैन । मेहनती मान्छे जस्तोसुकै सङ्कटमा हरेस खाँदैन अनि इमान भएको मान्छेको शिर कहिल्यै झुक्दैन । यी तीन पक्ष व्यक्तिको सफलता, लोकप्रियता र सम्मानको आधार हो ।
कुनै पनि नीतिलाई सही मार्गमा डोर्याउने प्रमुख नीतिका वाहक वा चालकले नैतिकता र इमान देखाउन सकेनन् भने त्यो देशको अवस्था कस्तो हुन्छ हामीले विश्वका अनेक देशको वर्तमान अवस्थाले देखाइरहेको छ । नेपालमा पनि इमान र नैतिकताको ठुलो खडेरी परेको धेरैको टिप्पणी छ । राजनीतिक ओहदामा बसेकाले प्रदर्शन गर्ने उच्च नैतिकता र उच्च इमानदारिता नै मुलुकका अरू क्षेत्रका लागि सही मार्ग हो तर नेतृत्वमै यी दुई कुराको अभाव छ भनिन्छ ।
विश्वव्यापीकरण, आधुनिकीकरण र सूचना प्रविधिको अत्यधिक विकासले नयाँ पुस्ताको जीवन अत्यन्त सहज भएको र उनीहरू अत्यन्तै सचेत रहेको भन्ने गरिन्छ । उनीहरूको सहज जीवनले भविष्य कस्तो बनाइरहेको छ भन्ने हामी सबैले भुल्दै गएका छौँ । आज हरेक कुरामा प्रविधिको भर पर्दा मानवीय गुण प्रदर्शनको क्षमता कति विकास होला ? धर्म, संस्कृति, परम्परा र सामाजशास्त्रीय पक्ष कहाँ पुग्ला भन्नेतिर कसैको पनि चासो छैन । प्रविधिलाई समयानुकूल उपयोग गर्नु पर्छ भन्नेमा कसैको विमति छैन तर यससँगै आफ्नोपनको जानकारी लिने र दिने कामलाई पनि उत्तिकै प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ । आफ्नो धर्म, संस्कृति, परम्परा, चाडपर्व, संस्कार र सभ्यताको अध्ययन–अध्यापन गराउनै पर्छ । यदि त्यसो गर्न सकिएन र आधुनिकताको नाममा बहकिन थालियो भने आफ्नो परिचय वा चिनारी नै हराउने अवस्था आउन सक्छ ।
हामीले कहिल्यै बिर्सन नहुने वैदिक सूत्र ‘वसुधैव कुटुम्बकम्’ हो । यो हाम्रो धार्मिक–सांस्कृतिक मूल्य र मान्यता हो । यही मन्त्र भट्याउँदै विश्व बन्धुत्वको नारा घन्काउने पिता पुर्खाका अवधारणा हामीले कहिल्यै बिर्सनु हुँदैनन् तर आज यसैको ठुलो अभाव छ । विश्व बान्धुत्वको त के कुरा एउटै घरमित्र मिलाप छैन । त्यसैले व्यक्ति भौतिक सम्पत्तिमा जति सम्पन्न भए पनि उ सुखी र खुसी छैन । धनको पछाडि जति नै कुदे पनि मृत्युको बेला उसलाई चाहिने एकथोपा पानी मात्रै हो तर मानिस त्यो कल्पना नै गर्नै चाहँदैन । अहिले संसार नै यस्तै व्यक्तिवादी चिन्तनको शिकार भएको छ । जताततै ‘म’ नै ‘म’ को हालीमुहाली छ । ‘हामी’ भन्ने शब्दको अर्थ नै बेकार बनेको छ । यो सब इमान र नैतिकता स्खलित हुँदाको परिणाम हो । समाज दर्शनको मर्म नबुझ्नुको परिणति हो ।
एउटा कुरा पक्का छ– यदि कोही व्यक्ति इमानदार र नैतिकवान् छैन भने ऊ जीवनमा सफल हुनै सक्दैन । इमान र नैतिक बन्धनमा रहन समाज दर्शनको मेरुदण्ड धर्म, संस्कृति, परम्परालाई पछ्याउनु पर्छ । यसका राम्रा र सकारात्मक कुराहरूलाई लागु गर्दै खराब व्यवहार हटाउन पहल गर्नु पर्छ । जब मानिसमा धर्म, संस्कृतिप्रति चेतना जागृत हुन्छ त्यसले व्यक्तिलाई इमान र नैतिकवान् बनाउँछ । इमान नैतिकताले नै व्यक्तिको वास्तविक चरित्र प्रदर्शन गर्छ । समाज दर्शनको मूल ध्येय नै यही हो ।
नेपाली समाज धर्म, संस्कृति, परम्परा र हजारौँ वर्षदेखिको संस्कारमा बाँधिएको उच्च मानवीय गुणवत्ताले युक्त छ तर आधुनिक कालखण्डमा यस्ता पक्षहरूमा धमिरा लागेको छ । राजनीतिक वाद र सिद्धान्त भित्र्याउने वा लागु गर्ने नाममा समाज दर्शनलाई पूरै उपेक्षा गरिएको छ । वास्तविकता त के हो भने– धार्मिक विविधता नेपाली समाजको समृद्धि, सांस्कृतिक गहिराइ र सहिष्णुताको मूल आधार हो, समाजशास्त्रको मेरुदण्ड हो तर यसको उचित संरक्षण, व्यवस्थापन र समय अनुसारको अभ्यास नभएर भेदभाव जन्माएको छ ।
कानुनी रूपमा भेदभावरहित समाजको कल्पना गर्दै राजनीतिक रूपमा गगनभेदी नारा जति नै घन्किए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । यसो हुनुको कारण समाजशास्त्रीय दृष्टिकोणले अभ्यासमा नलैजानु हो । समस्याका हरेक पक्षको सूक्ष्म अध्ययन गर्ने अभ्यास नहुनु हो । यदि नेपाली समाजलाई अझै समुन्नत, सुसंस्कृत र समृद्ध बनाउने हो भने समाजशास्त्रीय दृष्टिकोणबाटै यसको समाधान खोज्नु पर्छ । धर्मले विभेद गरेको छ भने धर्मबाटै विभेद न्यून गर्न सकिन्छ भन्ने भुल्नु हुँदैन ।
कुनै पनि मुलुकको समृद्धि र शान्ति तथा जनताको सुख र खुसीको आधार समाज दर्शन रहेकाले राज्य र समाजले धार्मिक सहिष्णुता, समावेशिता र समानताको सिद्धान्तमा आधारित नीति अपनाएर सोही अनुसार अभ्यास गराउनु पर्छ । धार्मिक रूपमा स्थापित गलत मान्यता हटाउँदै रचनात्मक पक्षलाई प्रभावकारी रूपमा जनजनमा पु¥याउनु पर्छ । यही नै समाज दर्शनको अर्थ, महìव र अभ्यास हुने छ ।