विष्णुप्रसाद पोखरेल
दमक, साउन १० गते। झापामा प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ। गोप्य सूचनाका आधारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न जाँदा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको जनाएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नम्बर ५ मा शनिबार दिउँसो भारतीय नागरिक मोहम्मद इस्लामलाई गोली हानेर पक्राउ गरिएको छ। लागुऔषध ब्यूरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले लागुऔषध कारोबारी पक्राउ गर्न खोजेको थियो।
पक्राउ परेका इस्लामको खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको र हाल प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ। प्रहरीले दुई राउन्ड गोली चलाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुले घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो।