हामी सबैलाई थाहा छ– मलिलो खेतमा झार उमार्न कुनै मेहनत गर्नु पर्दैन । त्यही खेतमा अपेक्षित र गुणस्तरीय फसल उत्पादन गर्न भने निरन्तर श्रम, अनुशासन र समयको आवश्यकता पर्छ । मानव जीवन पनि यस्तै खेत हो– जहाँ हामीले जे रोप्छौँ, त्यही फल प्राप्त गर्छौं । जीवनमा सफलता, समृद्धि र सन्तुष्टि चाहने हो भने पहिले सोच्नुपर्ने हो– हामीले आफ्नो मस्तिष्करूपी खेतमा कस्तो बिउ रोपिरहेका छौँ ?
हाम्रो सोच, विचार र दृष्टिकोण नै जीवनको बिउ हो । जस्तो सोच, त्यस्तै व्यवहार । जस्तो विचार, त्यस्तै परिणाम । सकारात्मक सोच राखे मात्र सकारात्मक ऊर्जा प्रसारण हुन्छ, नकारात्मक सोच राखे जीवनमा निराशा र असफलताको वर्चस्व हुन्छ । हामीले धान रोपेर आँपको फलको अपेक्षा राख्नु असम्भव हो । जीवनमा के हासिल गर्ने भन्ने निर्णयपछि त्यस अनुसारको सोच, गुण र व्यवहारलाई विकास गर्न आवश्यक हुन्छ ।
मिठो फलको छनोट गर्नु भनेको उत्तम बिउको चयन गर्नु हो । त्यो बिउ रोप्नु परिश्रम हो । आवश्यक समय कुर्नु विश्वास हो, निरन्तर स्याहार गर्नु भनेको अनुशासन हो । हामीमध्ये धेरैले सोच र निर्णय लिन्छौँ तर धैर्य राख्न सक्दैनौँ । आज रोपिएको बिउले भोलि नै फल दिन्छ भन्ने कुरामा विश्वस्त हुन्छौँ, जुन प्रकृतिको नियमसँग मेल खाँदैन । आँपको रुखले फल दिन बर्सौं लाग्न सक्छ । जीवनको लक्ष्य हासिल गर्न पनि समय, अनुशासन र निरन्तर प्रयासको आवश्यकता हुन्छ ।
हाम्रो मस्तिष्क शक्तिशाली खेत हो । यसमा रोपिएको बिउ समयपछि विशाल र प्रभावशाली वृक्ष बन्न सक्छ । हामीले त्यहाँ रिस, ईष्र्या, डर, घृणा र असन्तोष जस्ता बिउ रोप्यौँ भने, त्यसको परिणाममा चिन्ता, निराशा र असफलता उत्पन्न हुन्छ । हामीले माया, सहनशीलता, आत्मविश्वास, परिश्रम, धैर्य र सकारात्मक सोच रोप्यौँ भने, त्यो सोचले सफलताको मिठो फल दिन्छ ।
प्रायः मानिस तत्काल परिणाम खोज्छन् । एक दिन कसरत गरेपछि फिट हुने, एक साता पढेपछि परीक्षा टप गर्ने वा केही महिनाको प्रयासपछि जीवन सफल हुने अपेक्षा राख्छन् । प्रकृतिमा यस्तो केही छैन । रोपिएको बिउलाई समय, मल, पानी र सुरक्षाको आवश्यकता पर्छ । सोच पनि त्यही हो– त्यसलाई नियमित अभ्यास, वातावरण र निरन्तर मूल्य–परिवर्तनद्वारा हुर्काउनु पर्छ ।
सकारात्मक सोचको प्रभाव केवल व्यक्तिगत भावना र आत्मविश्वासमा मात्र सीमित हुँदैन । यसको प्रभाव सम्बन्ध, निर्णय क्षमता, समस्या समाधान गर्ने तरिका र जीवनमा अघि बढ्ने ऊर्जा सबैमा देखिन्छ । सकारात्मक सोच भएका व्यक्तिले चुनौतीमा अवसर खोज्छन् भने नकारात्मक सोच भएका व्यक्तिले अवसरमा पनि चुनौती मात्र देख्छन् ।
हामीले पाएको यो जीवन एक उर्वर खेत जस्तै हो– जो हामीलाई सित्तैमा प्राप्त भएको छ । हामीले कहिल्यै विचार गरिरहेका छैनौँ कि यसमा हामी के रोपिरहेका छौँ ? हामीले नियमित रूपमा नकारात्मकता, डर, ईष्र्या, द्वेष र आलस्य रोप्यौँ भने, त्यसको परिणाम घातक हुने छ । हामीले इच्छाशक्ति, सकारात्मक सोच, आत्म–अवलोकन, परिश्रम र धैर्य रोप्यौँ भने, त्यो जीवनमा आश्चर्यजनक परिणाम ल्याउने छ । यस्तो परिणाम धेरैले हासिल गरेका उदाहरण हामीसामु धेरै छन् । ३० वर्षको उमेरमा कखरा चिनेका काले राईले ठुलो लगनशीलता नदेखाएका भए संस्कृत जस्तो विषय अझ त्यसमा पनि वेद जस्तो ग्रन्थमा विद्यावारिधि गर्न उनलाई निकै हम्मे पथ्र्यो । डा. स्वामी प्रपन्नाचार्य उनको सुपरिचित नाम हो । कमल जस्तो सर्वसुन्दर फूलको जन्मस्थल हिलो नै हो– यो ध्र्रुवसत्य हामी सबैलाई थाहा छ ।
अब प्रश्न उठ्छ– हामीले कसरी उचित बिउ छान्ने ? उत्तर छ– उद्देश्य स्पष्ट गर्नु पर्छ । हामी जीवनमा के बन्न चाहन्छौँ ? त्यही उद्देश्य अनुरूपको सोच, गुण र व्यवहारलाई विकास गर्नु पर्छ । तपाईं सामाजिक सेवा गर्ने सोच राख्नुभयो भने, तपाईंले करुणा, सहानुभूति, निस्वार्थता, र सत्यनिष्ठालाई बिउ बनाउनै पर्छ । यदि तपाईं व्यवसायमा सफल बन्न चाहनुहुन्छ भने तपाईंले रणनीति, निर्णय क्षमता, परिश्रम, ग्राहकसँगको सम्मान र इमान्दारीलाई प्राथमिकता दिनु पर्छ ।
बिउ छानेपछि अर्को पाटो हो– निरन्तर मेहनत । मेहनतबिना कुनै बिउ अङ्कुरण हुँदैन । मेहनत पनि केवल शारीरिक होइन, मानसिक अभ्यास, आत्म–अवलोकन र सुधारको प्रक्रियालाई समेट्ने किसिमको हुनु पर्छ । धैर्य पनि अत्यावश्यक छ । किनभने सफलताको फल छिटो फल्ने साग होइन, बर्सौं लाग्ने आँप हो ।
आजैदेखि निर्णय गरौँ– म मस्तिष्कको खेतमा सकारात्मक सोच, लगनशीलता, आत्मविश्वास, धैर्य, इमानदारी, र कृतज्ञताको बिउ रोप्ने छु । म त्यसलाई नियमित स्याहार गर्ने छु–उचित पुस्तक पढेर, प्रेरणादायी व्यक्तिसँग सङ्गत गरेर, आत्म–अवलोकनद्वारा आफ्नो व्यवहार सुधार गरेर । जसरी खेतमा मौसम अनुसार बाली फल्छ, जीवनमा पनि सोच अनुसार प्रतिफल आउँछ । जीवनमा कठिनाइ अवश्य आउँछन् तर त्यहाँबाट उठ्ने शक्ति सकारात्मक सोचमा लुकेको हुन्छ । जब हामी आफैँप्रति विश्वास गर्छौं, सकारात्मक सोच राख्छौँ र उद्देश्यप्रति समर्पित हुन्छौँ, तब सफलता टाढा रहँदैन ।
हाम्रो जीवन हाम्रो सोच र विचारमा आधारित हुन्छ । हामी जे सोच्छौँ, त्यसै अनुसार व्यवहार गर्छौं, अनि परिणाम पनि त्यही अनुरूप प्राप्त हुन्छ । सकारात्मक सोचले जीवनमा आशा, ऊर्जा र सम्भावनाको ढोका खोल्छ भने नकारात्मक सोचले निराशा, डर र असफलताको बाटो देखाउँछ । त्यसैले जीवनका हरेक पाइलालाई सोचविचारपूर्वक अघि बढाउन आवश्यक हुन्छ । सफल र सन्तुष्ट जीवनको आधार सोचमै लुकेको हुन्छ ।
हामीले आज जुन विचार रोप्छौँ, त्यसले भोलि हाम्रो भविष्य निर्माण गर्छ । जीवन एक उर्वर खेत जस्तै हो, जसमा जे रोपिन्छ, त्यही फल्छ । त्यसैले त्यस खेतमा उत्कृष्ट बिउ–जसमा सकारात्मकता, आत्मविश्वास, परिश्रम, धैर्य र इमानदारिता मिसिएको हुन्छ–रोप्नु अत्यावश्यक छ । बिउ रोप्नु केवल पहिलो चरण हो; त्यसपछि त्यसको स्याहार गर्नु र फलको प्रतीक्षामा धैर्य धारण गर्नु पनि उत्तिकै महìवपूर्ण छ । अहिले रोपिएको सोचको बिउले भविष्यमा मिठो फल दिन्छ भन्ने कुरामा विश्वास गर्नु पर्छ तर त्यो फल तुरुन्तै आउँदैन; समय, लगन र अनुशासनको खाँचो पर्छ । धेरै मानिसहरू तत्काल परिणामको अपेक्षा गर्छन् तर जीवनमा गहिरो उपलब्धिका लागि निरन्तर प्रयास आवश्यक हुन्छ । सोच सकारात्मक भयो भने कठिनाइबिच पनि अवसर देख्न सकिन्छ ।
जीवनको सार यही हो–हाम्रो सोचले नै हाम्रो भविष्य निर्माण गर्छ । आजैदेखि हामीले आफ्नो मस्तिष्करूपी खेतमा सकारात्मक सोच रोपौँ, त्यसलाई नियमित स्याहार गरौँ र आवश्यक समयसम्म धैर्यपूर्वक प्रतीक्षा गरौँ । जब हामी सोचमा स्पष्टता ल्याउँछौँ, उद्देश्यमा समर्पित हुन्छौँ र व्यवहारमा अनुशासन अपनाउँछौँ, तब मात्र हामी साँच्चिकै सफल, समृद्ध र सन्तुष्ट जीवन जिउन सक्षम हुन्छौँ ।