• ११ साउन २०८२, आइतबार

माइतीघरमा नगर प्रमुख भट्टराईको सत्याग्रह सुरु

blog

माइतीघर मण्डलामा सत्याग्रहमा बस्नुभएका नगर प्रमुख तीर्थराज भट्टराई । तस्बिर : प्रमुख भट्टराईको सचिवालय

राजकुमार भट्टराई
खोटाङ, साउन ११ गते ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । विभिन्न सात बुँदे माग राख्दै प्रमुख भट्टराईले साउन ११ गते (आइतबार) बिहानबाट सत्याग्रह सुरु गर्नुभएको हो ।

खेर गइरहेको बाँसबाट आर्थिक समृद्धि हुने निर्णय गर्न प्रमुख भट्टराईको विशेष माग रहेको छ ।  बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग भट्टराईको छ । बाँस, बाँसबाट बनेका मान्द्रो लगायतका सामग्री, परालबाट निर्माण भएको गुन्द्री, राडी लिएर खोटाङबाट साउन ४ गते काठमाडौँ जानुभएका प्रमुख भट्टराईले आज बिहानबाट सत्याग्रह सुरु गर्नुभएको हो ।

तीन दिनसम्म माइतीघर मण्डलामा भोक हड्ताल बस्ने प्रमुख भट्टराईको भनाइ छ । तीन दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भोक हड्तालमा बस्दा पनि माग सुनुवाइ नभए साउन १४ गते बिहान ९ बजेदेखि आमरण अनसन बस्ने उहाँको भनाइ छ । कपाल मुन्डन गरेर, खाली खुट्टा भोक हड्तालका लागि बाँस लिएर सिंहदरबारको दक्षिण गेटमा पुग्नुभएका प्रमुख  भट्टराईलाई माइतीघर मण्डलामा लगेर नेपाल प्रहरीले छाडेको छ । हाल प्रमुख भट्टराई माइतीघर मण्डलामा गुन्दी, राडी ओछ्यार बाँस लिएर भोकहड्ताल बस्नुभएको छ ।

नगर प्रमुख भट्टराईको बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई सदुपयोग गरेर आम्दानी लिने वातावरण निर्माणको माग छ । स्थानीय कच्चा पदार्थ प्रयोग गर्नेगरी सङ्घीय ऐन बनाउनका लागि पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दा सङ्घीय सरकारले बेवास्ता गरेकाले प्रमुख भट्टराईले हड्तालमा उत्रिएको बताउनुभएको छ ।

बाँस र अन्य कच्चा पदार्थ सरकारी कार्यालयहरूमा प्रयोग गर्न विल्डिङ कोड र नम्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, वन र उद्योग मन्त्रालय तथा मातहतका सबै निकायले फर्निचर खरिद गर्दा बाँस, काठ, राडीपाखी, वातावरण र पर्यावरणमैत्री फर्निचर र भवन संरचना बनाउने नीतिगत निर्णय गर्नुपर्ने, खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्ने लगायतका माग प्रमुख भट्टराईले राख्नुभएको छ ।

बाँसको महत्त्वलाई उजागर गर्नका लागि नगरपालिकाले गत २०८१ फागुन १५ गतेदेखि फागुन १७ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गरेको थियो ।

यस्तै, गाउँ घरमा बाँदर लगायतका जङ्गली जनावरबाट किसानले लगाएको खेतीपाती जोगाउन सरकारले उचित निर्णय लिनुपर्ने लगायतका माग पनि प्रमुख भट्टराईले राख्नुभएको छ ।