• ११ साउन २०८२, आइतबार

वर्षाको कामना गर्दै धनुष मन्दिरमा चढाइयो दुध

blog

धनुष मन्दिरमा दुध चढाउँदै धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 
ढल्केबर, साउन ११ गते ।
वर्षाको कामना गर्दै धनुषाको धनुषाधामस्थित धनुष मन्दिरमा दुध चढाइएको छ । लामो समयदेखि वर्षा नभएपछि स्थानीय किसानले वर्षाको कामना गर्दै मन्दिरमा दुध चढाएका हुन् ।

धनुष मन्दिरमा दुध चढाएमा वर्षा हुने जनविश्वास छ । तीन वर्ष पहिला पनि यस्तै खडेरी लाग्दा दुध चढाएपछि वर्षा भएको स्थानीयको भनाइ छ । त्यही विश्वासले आइतबार बिहान विशेष पूजाको आयोजना गरी मन्दिरभित्र रहेको धनुषको टुक्रामा स्थानीय किसानले दुध अर्पण गरेको मन्दिरका पुजारी भरतदास वैष्णवले बताउनुभयो ।

वर्षाको पुकार गर्दै धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डललगायत चार सयभन्दा बढी किसानले दुध चढाएका छन् । पानी नपर्दा यसरी नै पुस्तौँदेखि यहाँ दुध चढाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । साउन महिनाको दोस्रो साता बितिसक्दा समेत वर्षा नहुँदा धान रोप्न नपाएर चिन्तित बनेका यहाँका किसानले घरघरबाट लिएर आएको दुध प्रसिद्ध धनुष मन्दिरमा चढाएको स्थानीय युवा नागेन्द्र महराले बताउनुभयो ।


पम्पिङ सेटबाट सिँचाइ गरेर कतिपय किसानले धान रोपेको भए पनि चर्को घामले धानबाली डढ्न थालेको छ । पानी नपर्दा मुठी छरेर मानो फलाउने आशा लिएर बसेका किसानले धानको बीउ छरे पनि रोप्न नपाएर चिन्तित देखिएको महराको भनाइ छ ।

धनुषालगायत तराई मधेशका क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ भने खानेपानीको सङ्कटसमेत उत्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश प्रदेशको पछिल्लो तथ्याङ्कअनुसार मधेश प्रदेशमा ३४ मात्र धान रोपाइँ भएको छ ।