• १० साउन २०८२, शनिबार

उदाउँदो भारत : विज्ञान र प्रविधिमा निरन्तर फड्को

blog

संसारमा छिटो आर्थिक प्रगति गर्ने राष्ट्रमा भारतको नाम अग्रपङ्क्तिमा छ । भारतीय अर्थतन्त्रको वार्षिक वृद्धि सात प्रतिशतभन्दा बढी रहेको छ । शिक्षा, पूर्वाधार, सुशासन, सीप विकास, औद्योगिकीकरण, प्रविधि र समावेशी नीति जस्ता अनेकौँ विषयले भारतलाई विश्वकै बढदो प्रमुख अर्थतन्त्रको रुपमा स्थापित गरेको छ ।

भारतका वैज्ञानिक शुभांसु शुक्ला दुई हप्ता अन्तरिक्षमा विभिन्न अन्वेषण गरेर फर्केका छन् । अमेरिकास्थित नासाबाट वैज्ञानिक परीक्षणका लागि अन्तरिक्ष गएका विभिन्न देशका चार सदस्यीय समूहमा शुक्ला समूह क्पाप्टेन हुनुहुन्थ्यो । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)को छनौटमा परी शुक्लासहितको टोली जुन २५ मा अन्तरिक्षतर्फ प्रस्थान गरेको थियो । यही जुलाइ १५ (असार ३१ गते) अमेरिकाको क्यालिफोर्नियास्थित समुद्री तटमा सकुशल फर्कनुभएका शुक्लाले अन्तरिक्षमा २० दिन बिताउँदै विभिन्न ६० वटा वैज्ञानिक प्रयोग सम्पन्न गर्नुभएको थियो । यसअघि भारतीय अन्तरिक्ष यात्री राकेश शर्माले सन् १९८४ मा अन्तरिक्ष कक्षमा पाइला टेक्नुभएको थियो । शुक्लाको अन्तरिक्ष जाने क्रममा लागेको मिशन खर्च करिब पाँचसय करोड भारतीय रुपियाँ भारत सरकारले व्यहोरेको छ । शुक्लाले मांसपेशी क्षय रोक्न सप्लिमेन्ट परीक्षण, स्पेश एग्रिकल्चरअन्तर्गत मुँग र मेथी खेती, डिजिटल स्क्रिनको आँखामाथिको प्रभाव, अक्सिजन उत्पादन, व्याक्टेरिया व्यवहार अध्ययन लगायतका वैज्ञानिक प्रयोग गर्नुभएको छ । भौतिक विज्ञान, जीव विज्ञान, कृषि अनुसन्धान र अन्तरिक्षमा स्वास्थ्य व्यवस्थापनसम्बन्धी अनुभवहरु लिएर फर्किने पहिलो भारतीय अन्तरिक्ष यात्री शुक्लाको यो सफलतापछि भारतीय युवालाई प्रेरित गर्ने र विज्ञान तथा अनुसन्धानतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ ।  


विज्ञान र प्रविधि क्षेत्रमा भारतले गरेको प्रगतिको ताजा उदाहरण हो यो । अहिले भारतभरि वैज्ञानिक शुक्लाको चर्चा छ । भारतमा मात्र होइन, संसारभरि नै शायद उहाँसँगै भारतले विज्ञान र प्रविधिको क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिको चर्चा भइरहेको छ । भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउमा जन्मनुभएका शुक्लाको लखनउमा चर्चा नहुने कुरै भएन । दुई साताअघि यो पङ्क्तिकार लखनउमा हुँदा शुक्लाको चर्चामा सरिक हुन पायो । लखनउमा जन्मेका, हुर्केका र अध्ययन गर्नुभएका शुक्लाको परिवारभन्दा कम खुशी र प्रसन्नता लखनउबासीमा थिएन । एक अटो चालक श्यामाकान्तले भन्नुभयो–‘सर तपाईलाई थाहा छ, लखनउका शुभांसु आज अन्तरिक्षमा पुगेका छन्, हामी त खुशीले गदगद् छौ, लखनउजस्तो शहरका व्यक्ति अन्तरिक्षमा पुगेर देशकै नाम उँचो बनाएका छन् ।’ अहिलेसम्म लखनउ नबाबहरुको शहरको रुपमा परिचित थियो, तर आज शुक्लाको नामले चर्चित बनेको छ । 


भारतको परराष्ट्र मन्त्रालयअन्तर्गतको बाह्य प्रचारप्रसार तथा सार्वजनिक कूटनीतिक विभागले आयोजना गरेको भारत परिचय यात्राको क्रममा हामी लखनउ पुगेका थियौ । नेपाल र भारतका १०/१० जना पत्रकारको संयुक्त टोलीले यही जुलाइ २ देखि ९ सम्म (असार १८ देखि २५ गतेसम्म) भारतको विभिन्न शहर र विभिन्न स्थानको अवलोकन गरेको थियो । त्यस क्रममा ७ जुलाई (असार २३ गते) सोमबार लखनउको इन्दिरानगरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडको कार्यालय पुगेका थियौ । त्यहाँ पनि वैज्ञानिक शुक्लाकै चर्चा भयो । हिन्दुस्तान एरोनेटिक्स लिमिटेड वायु, हेलिकोप्टर र विमानहरुका सहायक उपकरण बनाउने सरकारी कम्पनी हो । यसले ‘एयरोस्पेस र रक्षा उद्योगमा विश्वव्यापी नेता बन्ने’ दृष्टिकोण राखेको छ । सन् १९४० डिसेम्बर २३ मा स्थापित यो कम्पनी विश्वको सबैभन्दा पुरानो र सबैभन्दा ठुलो एयरोस्पेस र रक्षा निर्माताहरुमध्ये एक हो । विश्वका एयरोस्पेस कम्पनीहरुमध्ये ४२ औँ स्थानमा रहेको यो कम्पनीले सन् १९४२ मा भारतीय वायु सेनाको लागि हार्लो पीसी–५, कर्टिस पी–३६ हक र भल्टी ए–३१ वेन्जेसको इजाजतपत्र प्राप्त उत्पादनका साथ विमान निर्माण सुरु गरेको थियो । भारतको विभिन्न चार स्थानमा उत्पादन एकाइअन्तर्गत ११ अनुसन्धान र विकास केन्द्र छन् भने २१ उत्पादन विभाग रहेका छन् । सन् २०२४ मा यस कम्पनीलाई महारत्नको दर्जा दिइएको थियो । यसले लडाकु जेट, हेलिकप्टर, जेट इन्जिन र समुद्री ग्यास टर्बाइन इन्जिन, एभियोनिक्स, हार्डवेयर विकास, स्पेयर पार्टस आपूर्ति, ओभरहल र भारतीय सैन्य विमानको स्तरोन्नतिको डिजाइन र निर्माण गर्दछ । 

द्रुत गतिमा चल्ने मेट्रो ट्रेनले शहरी यातायातमा क्रान्तिकारी परिवर्तन ल्याइदिएको छ । मेट्रो ट्रेनमा ‘कवच’ जस्ता स्वचालित सिग्नल प्रणाली जडान गरिएको छ । कवच र बन्दे भारत जस्ता नयाँ प्रविधिले भारतीय रेलमा नयाँ युगको सुरुवात गरेको छ ।

‘विज्ञान र प्रविधिको क्षेत्रमा हामीले निकै फड्को मारेका छौ, लखनउकै शुभांसु शुक्ला आज अन्तरिक्षमा पुगेका छन्, भारतलाई हामी थप उचाइमा पु¥याउन प्रयत्नशील छौ’, हिन्दुस्तान एयरोनेटिक्सका लखनउस्थित विभागीय प्रमुख केके भट्टले भन्नुभयो–‘भारतीय सैन्य विमानका लागि हामीले विभिन्न उपकरण उत्पादन गर्छाै, हाम्रो उत्पादन विश्वमै उच्चस्तरको छ ।’ यस कम्पनीका उत्पादनबाट निर्मित लडाकु विमानहरुमा तेजस, सुखोइ सु–३० एमकेआइ, धु्रव एएलएच, एचएएल रुद्रा, एचएएल एलसीएच, मिराज २०००, सितारा, मिग–२१ र जगौर लगायत छन् । भारतीय वायुसेनामा पायलटका रुपमा सन् २००६ मा सेवा सुरु गरेका वैज्ञानिक शुक्लाले हिन्दुस्तान एयरोनेटिक्स कम्पनीबाट उत्पादित उपकरणबाट निर्मित सुखोइ सु–३० एमकेआइ, मिग–२१ र जगौर लगायतका लडाकु विमान उडाउनुभएको छ । केही समयअघि पाकिस्तानसँगको युद्धमा भारतमै निर्मित युद्धक विमानहरु नै अधिकांश प्रयोग भएको अधिकारीहरुले बताउनुभयो । विभिन्न देशको सहयोगमा भारतले निर्माण गरेको लडाकु विमानहरुमध्ये बह्मोस र चेतक बहुचर्चित छन् । रुससँग मिलेर भारतले बनाएको ब्रह्मोस एक सुपरसोनिक क्रुज मिसाइल हो, जसले जल, थल र आकाशबाट प्रहार गर्न सक्ने क्षमता राख्छ । भारतको ब्रह्मपुत्र नदी र रुसको मास्कवा नदीको नामलाई संयोजन गरी ब्रह्मोस राखिएको  हो । पाकिस्तानको युद्धमा भारतले प्रयोग गरेको ब्रह्मोसको निर्क चर्चा भएको थियो । लखनउ सहरको कतिपय स्थानमा ब्रह्मोसको प्रतिमा बनाएर राखिएको छ । जसले भारतको रक्षा क्षमतालाई उजागर गर्दछ । 

वनस्पतिबाट औषधी निर्माण 

भारतीय वनस्पति अनुसन्धानको प्रयोगशालाको रुपमा केन्द्रीय औषधीय तथा सुगन्धित वनस्पति संस्थान (सिम्याप) रहेको छ । यो वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद्  (सिएसआइआर)को एक प्रमुख अनुसन्धान संस्था हो । सिएसआइआर भने भारत सरकारको विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको संगठन हो जसले भारतभर वैज्ञानिक संस्थाहरु सञ्चालन गर्छ । सिम्यापले औषधीय र सुगन्धित वनस्पतिको अनुसन्धान, विकास, खेती प्रविधि र व्यवसायिक उत्पादनमा सहयोग गर्ने गरेको छ । लखनउमै केन्द्रीय कार्यालय रहेको यो संस्थानले औषधीय र सुगन्धित बोटबिरुवाको आनुवांशिक सुधार र अनुसन्धान, नयाँ औषधीय यौगिकहरुको खोज, सुगन्धित तेल, अर्क र अन्य प्राकृतिक उत्पादनहरुको विकास, कृषक र उद्योगलाई प्रविधि हस्तान्तरण, जैविक प्रविधि, औषधि निर्माण र प्राकृतिक उत्पादनहरुको व्यवसायिक उपयोगका बारेमा सिकाउँछ । आयुर्वेद, युनानी, होमियोप्याथी, आधुनिक औषधी, परफ्युम (सेन्ट), हर्बल उत्पादन, कस्मेटिक्स, तथा कृषि र जैविक कीटनाशक औषधी उत्पादन गरी प्रविधि हस्तान्तरण गर्ने कार्य सिम्पापले गर्दछ । विभिन्न ३८ प्रयोगशाला रहेको यसले १५० भन्दा बढी उत्पादन गरी प्रविधि हस्तान्तरण गरिसकेको छ । सिम्यापले नेपालको वनस्पति विभागसँग मिलेर नेपालका पश्चिम क्षेत्रमा अनुसन्धानको लागि छलफलसमेत चलाइरहेको सिम्यापका निर्देशक डा. प्रवोधकुमार त्रिवेदीले जानकारी दिनुभयो । नेपालमा पाइने विभिन्न जडीबुटी र वनस्पति औषधी उत्पादनका लागि महत्वपूर्ण रहेकाले त्यस विषयमा चाँडै दुवै देशका सरकारी निकायबिच समझदारी हुनसक्ने बताइएको छ । 

रेलवेमा स्वचालित सिग्नल प्रणाली 

अत्याधुनिक प्रविधिमार्फत भारतले रेलवे सञ्चालनको क्षेत्रमा पनि निकै प्रगति गरेको  छ । उत्तरप्रदेशको राजधानी लखनउमै मुख्य कार्यालय रहेको अनुसन्धान डिजाइन र मानक संगठन (आरडीएसओ) भारत सरकारको रेलवे मन्त्रालयअन्तर्गत पर्छ । यसले भारतीय रेल अन्तर्गतको अनुसन्धान, अवस्था निर्धारण र मानक निर्माण गर्दछ । भारतीय रेलवेमा भित्रिने नयाँ नयाँ प्रविधि यसै संस्थाले अनुसन्धान गरेको हो । भारतीय रेल क्षेत्रमा सुरक्षित, सुसंगत र गुणस्तरीय मानकहरुको विकासमा क्रियाशील यो संस्थाले रेलवे उपकरण, सुरक्षा प्रणाली र नवप्रवर्तनमा योगदान पुर्‍याउँदै आएको छ । यसको नवीनतम प्रविधि ‘कवच’ र ‘बन्दे भारत’ बहुचर्चित छ । यो ‘मेक इन इण्डिया’ अवधारणामा विकास गरिएको हो । कवच भारतीय रेलको स्वदेशी सुरक्षा प्रणाली हो जसले दुर्घटना रोक्नमा ठुलो भूमिका खेलेको छ । एउटै ट्रयाकमा रहेका दुई रेलबिचको आपसी टक्कर रोक्नु, अत्यधिक गति नियन्त्रण गर्नु, मानव त्रुटि न्युन गर्नु र रेलवे सिग्नल प्रणालीलाई सुरक्षित बनाउनु कवचको मुख्य कार्य तथा उद्देश्य हुन । यदि एउटै ट्रयाकमा दुई विपरीत दिशाबाट दुई रेल आइरहेको छ र चालकले सिग्नलको अवज्ञा गर्छ भने पनि कवचले चालकलाई चेतावनी दिने, सिग्नलबारे जानकारी दिने र केही दुरीमा आफै स्वचालित रुपमा गति नियन्त्रण हुन्छ । यो प्रणाली भारतको दक्षिण–मध्य रेलवेअन्तर्गत हैदरावाद–वारंगल खण्ड लगायतका क्षेत्रमा परीक्षण गरी प्रयोगमा ल्याइएको छ । यसलाई क्रमशः भारतका अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको आरडिएसओका महानिर्देशक उदय बर्नबोर्करले जानकारी दिनुभयो । 


नेपाल र भुटानका पत्रकार टोलीलाई स्वचालित सिग्नल प्रणाली कवचका बारेमा जानकारी दिदै आरडिएसओका प्राविधिक कर्मचारी ।

यस्तै ‘मेक इन इण्डिया’ अवधारणामा निर्मित ‘बन्दे भारत’ एक्सप्रेस ट्रेन भारतको पहिलो अर्ध उच्च गतिको स्वदेशमा निर्मित विद्युतीय बहुइकाइ भएको ट्रेन हो । यात्रुहरुका लागि उच्च गुणस्तरीय सेवा, एयरक्राफ्टजस्तै सिट र सुविधा, उर्जा दक्ष र कम उत्सर्जन तथा यात्रा समय कम लाग्ने गरी बनाइएको यो विद्युतीय ट्रेन पनि अहिले चर्चाको विषय बनेको   छ । करिब सयभन्दा बढी ट्रेन बनाएर भारतका विभिन्न स्थानमा सञ्चालन गरिने योजना रहेको महानिर्देशक बर्नबोर्करले बताउनुभयो । ‘प्रविधिले निकै विकास गरिसक्यो, अब हामी पछाडि रहनसक्दैनौ, प्रविधिको प्रयोग गरेर नयाँ प्रणाली विकास गर्दैछौ’, उहाँले भन्नुभयो–‘हाइड्रोजन ट्रेन, सोलार पावर ट्रेन जस्ता नयाँ प्रविधियुक्त ट्रेनका विकासमा हामी लागिपरेका छौ ।’ समयको गतिसँगै कुद्न भारत तयार रहेको र निकट भविष्यमै भारतका विभिन्न २० सहरमा मेट्रो ट्रेन सञ्चालन गरिने योजना उहाँले सुनाउनुभयो । भारतको राजधानी दिल्लीमा सन् २००२ मा पहिलो पटक सञ्चालन भएको मेट्रो ट्रेन अहिले कोलकत्ता, मुम्बइ, हैदरावाद, चेन्नइ, बेंगलुरु, नोयडा र लखनउ लगायत विभिन्न १५ सहरमा सञ्चालन भइरहेको छ । बढदो सहरी जनसङ्ख्या र ट्राफिक समस्यालाई व्यवस्थापन गर्न यो अत्यन्त उपयोगी सावित भएको छ । दु्रत गतिमा चल्ने मेट्रो ट्रेनले शहरी यातायातमा क्रान्तिकारी परिवर्तन ल्याइदिएको छ । मेट्रो ट्रेनमा ‘कवच’ जस्ता स्वचालित सिग्नल प्रणाली जडान गरिएको छ । कवच र बन्दे भारत जस्ता नयाँ प्रविधिले भारतीय रेलमा नयाँ युगको सुरुवात गरेको छ । 

अब्बल प्राविधिक शिक्षा 

भारतको राजधानी दिल्लीमा रहेको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) विश्वस्तरीय प्राविधिक शिक्षाको केन्द्रको रुपमा परिचित छ । जवाहरलाल नेहरु विश्वविद्यालयको पश्चिमतर्फ दक्षिण दिल्लीमा रहेको यो संस्थान विभिन्न नयाँ नयाँ प्रविधिको अनुसन्धानमा केन्द्रित रहेको छ । यहाँ प्राविधिक शिक्षा अध्ययन अध्यापन गराइन्छ । सन् १९६१ मा कलेज अफ इन्जिनियरिङको नामबाट स्थापना भएको यो संस्थाको नाम पछि इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी राखियो । यहाँ विटेक, एमटेक, एमबिए, एमएससी, पिएचडी तहको अध्ययन हुन्छ भने विभिन्न नविनतम प्रविधिहरुको अनुसन्धान तथा परीक्षण गर्ने गरिन्छ । यहाँ विद्यार्थीले बनाएका विभिन्न उपकरण उदाहरणीय छन् । पानीको शुद्धता परीक्षण गर्ने उपकरण र वायरलेस प्रविधिबाट विद्युतीय सवारीसाधन चार्ज गर्ने उपकरण आकर्षणको केन्द्रविन्दु बनेको छ । भारतको ‘डिजिटल इण्डिया’, ‘स्टार्टअप इण्डिया’ जस्ता कार्यक्रमहरुले ठुलो डिजिटल इकोसिस्टम बनाएको छ । युवा पुस्तालाई प्रविधिसँग जोडन सकिए विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सकिन्छ भन्ने पाठ यहाँको भ्रमणले सिकाएको छ । 

भारतको ‘डिजिटल इण्डिया’, ‘स्टार्टअप इण्डिया’ जस्ता कार्यक्रमहरुले ठुलो डिजिटल इकोसिस्टम बनाएको छ । युवा पुस्तालाई प्रविधिसँग जोडन सकिए विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सकिन्छ भन्ने पाठ यहाँको भ्रमणले सिकाएको छ ।

विपत् प्रतिरोधी पूर्वाधार 

जलवायु तथा प्राकृतिक विपत्तिबाट आहत बनेका मुलुकहरुका लागि भारतकै सक्रियतामा स्थापना भएको विपत् प्रतिरोधी पूर्वाधारका लागि गठबन्धन (सिडिआरआई) एक अन्तर्राष्ट्रिय साझेदारी सङ्गठन हो । सन् २०१९ मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गर्नुभएको थियो । उहाँकै विशेष पहलमा स्थापना गरिएको यसको मुख्य उद्देश्य आपतकालीन स्थितिमा टिकाउ र सुरक्षित पूर्वाधार विकास गर्नु हो । दिगो विकासको समर्थनमा जलवायु र विपत् जोखिमहरुलाई नयाँ र अवस्थित पूर्वाधार प्रणालीहरुको लचिलोपनलाई यसले बढावा दिने गरेको छ । भारत, अमेरिका, जापान, बेलायत, फ्रान्स, इटली, अष्ट्रेलिया, जर्मनी र नेपाल लगायतका विभिन्न ४६ देश र संयुक्त राष्ट्रसङ्घ, विश्व बैङ्क र एसियाली विकास बैङ्क सहितका आठ वटा अन्तर्राष्ट्रिय सङ्गठन यसका सदस्य साझेदार छन् । यसले शिक्षा क्षेत्रमा भवन, विद्यालय, अस्पतालको संरचनात्मक सुरक्षा, यातायातको क्षेत्रमा सडक, रेल र पुलहरुको आपतकालीन प्रतिक्रिया क्षमताको मूल्याङ्कन, उर्जाको क्षेत्रमा जलवायु अनुकूलन उर्जाको पूर्वाधार जस्तै पावरग्रिड र सबस्टेशन, डिजिटल क्षेत्रमा डिजिटल नेटवर्क र सञ्चार प्रणालीमा आपतकालीन योजना निर्माण गर्ने गरेको छ ।

सिडिआरआइको सहयोगमा भूस्खलन जोखिम, स्वास्थ्य पूर्वाधार, उर्जामैत्री समाधान, टिकाउ सडक निर्माण र नीति तथा अनुसन्धान क्षेत्रमा नेपालका विभिन्न स्थानमा परियोजनाहरु सञ्चालन भइरहेका छन् । यी परियोजनाहरुले स्थानीय सरकार, अनुसन्धान संस्था र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुसँग सहकार्य गर्दै नेपालमा पूर्वाधारलाई दिगो सुरक्षित र लचिलो बनाउन योगदान दिएको सिडिआरआइका अधिकारीले जानकारी दिनुभयो । लचिलो स्वास्थ्य पूर्वाधार पहलअन्तर्गत यसले सातै वटा प्रादेशिक अस्पतालमा अस्पताल सुरक्षा सूचकाङ्क परीक्षण गर्नुको साथै स्वास्थ्यकर्मीलाई आपतकालीन तयारीमा तालिम प्रदान गरेको छ । यस्तै नेपालका पहाडी क्षेत्रहरु विशेष गरी बागमती, गण्डकी प्रदेश र पूर्वपश्चिमका चुरे पर्वतीय भूभागहरुमा भूस्खलन क्षेत्रहरु नक्साकृत गरिएको र मुख्य नदी तथा यातायात क्षेत्रमा जोखिम पहिचान गरिएको बताइएको छ । ती क्षेत्रमा अपनाउनुपर्ने उपायका बारेमा समेत सुझाव दिइएको तथा सिडिआरआइले त्यसमा गर्नसक्ने सहयोगका लागि तयार रहेको पनि उहाँले बताउनुभयो ।   

व्यवस्थापनमा कृत्रिम वौद्धिकताको प्रयोग

कृत्रिम बौद्धिकता (एआइ)ले अहिले प्रविधिको क्षेत्रमा नयाँ चुनौति थपिदिएको छ । यसले नवीनतम अवसर पनि सिर्जना गरेको छ । यसको सदुपयोग र दुरुपयोग दुवै पाटा छन् । जसलाई शिक्षा क्षेत्रले आत्मसात गर्नुपर्ने भएको छ । अध्ययन अध्यापनमा पनि यसको माग बढदो छ । सन् १९८४ मा लखनउमा स्थापना गरिएको इण्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (आइआइएम) एक प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा रहेको छ । व्यवस्थापन संकायमा स्नातकोत्तर र विद्यावारिधिको अध्ययन हुने यस संस्थामा विभिन्न देशबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् । नेपाल र भुटानका विद्यार्थीका लागि विशेष छात्रवृत्ति योजना निकट भविष्यमै ल्याउन लागिएको जानकारी आइआइएम लखनउका निर्देशक प्राडा. मनमोहनप्रसाद गुप्ताले दिनुभयो । व्यवस्थापनका हरेक क्षेत्रमा कृत्रिम वौद्धिकता तथा प्रविधिलाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे अध्ययन अनुसन्धान गरिरहेकोसमेत उहाँले बताउनुभयो । यहाँबाट उत्पादित विद्यार्थीले विश्वका हरेक कुनामा नाम र प्रतिष्ठा आर्जन गरेका रहेछन् । 

प्रादेशिक बजार : दिल्ली हाट

खुला आकाशमुनि सञ्चालन गरिएको व्यवस्थित बजारको रुपमा दिल्ली हाट रहेको छ । यहाँ प्रादेशिक हस्तकला सामग्री, स्थानीय खाना, लोक कला र शिल्पबजारको रुपमा दिल्ली हाट चर्चित छ । सन् १९९४ मा स्थापना गरिएको यो स्थानमा ६० भन्दा बढी स्टल रहेका  छन् । जहाँ हरेक महिना दुई प्रदेशका उत्पादनहरुको प्रदर्शनी गरिन्छ । अर्थात् हरेक १५/१५ दिनमा भारतका विभिन्न राज्यका शिल्पकारहरुलाई अत्यन्त न्यून शुल्क (एक सयदेखि तीनसय रुपियाँसम्म)मा स्टल उपलब्ध गराइन्छ । भारतको पर्यटन मन्त्रालयमातहत रहेको यो स्थानमा भारतको विविधता झल्कने सामग्रीहरु पाइन्छ । विभिन्न राज्यका सांस्कृतिक सम्पदाको बहुआयमिक प्रस्तुतिस्थलको रुपमा यो स्थान परिचित छ । करिब एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा ३६ वटा राज्य छन् । राजधानी दिल्लीमा सबैको सहज पहुँच र सबैको समान प्रतिनिधित्व हुने गरी व्यवस्थित हाट बनाइएको छ, जहाँ दिल्लीमा रहेका विभिन्न राज्यका बासिन्दा वा पर्यटकले आफू सुहाउँदो सामग्री खरिद गर्छन । दुई महिनाअघि मात्रै अप्रिलमा यहाँ आगलागी भएको थियो, जसमा करिब ३० स्टल ध्वस्त भएका थिए । ग्रामीण परिवेशमा निर्मित स्टलहरुको पुनर्निर्माण गरी पुनःसञ्चालनमा ल्याइएको छ ।     


नयाँ दिल्लीको इन्नामार्केटमा रहेको दिल्ली हाटको अवलोकन गर्दैै नेपाल र भुटानका पत्रकार टोली ।

दिल्ली : हरित सहर व्यवस्थित सहर 

भारतको राजधानी दिल्ली कुल क्षेत्रफलको २४ प्रतिशतभन्दा बढी भूभाग हरियालीले ढाकिएको छ । भारतको वन सर्भेक्षण प्रतिवेदनअनुसार सन् २०११ मा १२ प्रतिशत भूभागमात्रै हरियाली रहेकोमा अहिले दोब्बरले बृद्धि भएको छ । विभिन्न क्षेत्रमा लगाइएका बोटबिरुवाले हरियाली प्रदान गरेको छ । सडकका दुवै किनारमा लगाइएका रुख, विभिन्न स्थानमा निर्माण गरिएका पार्कले हरित सहरको झल्को दिन्छ । दिल्लीमा भारतकै उत्कृष्ट बायोडायभर्सिटी पार्क नेटवर्क निर्माण गरिएको छ । यमुना बायोडायभर्सिटी पार्क, आरावल्ली बायोडायभर्सिटी पार्क, तिलपथ भ्याली र कमला नेहरु रिज यसका उदाहरण हुन् । यहाँ विद्युतीय कार, बस र रिक्सा बढी प्रयोगमा छन् । कुनै बेला दिल्ली अत्यन्त प्रदुषित र उजाड सहरको रुपमा परिचित थियो । तर अहिले दिल्लीको मुहार नै फेरिएको छ । दिल्लीका सडक चिल्ला र फराकिला छन् । प्रायः बाटो एकतर्फी बनाइएका छन् । ओभरफ्लाइ र अण्डरपासले यातायातमा सहजता छ । ट्राफिक लाइट छन् तर सडकमा ट्राफिक प्रहरीको उपस्थिति त्यति छैन । स्वचालित ट्राफिक लाइटलाई अनुसरण गर्दै सवारी गन्तव्यतर्फ हुइकिन्छन् । 

नेपालले उर्जा, व्यापार, पूर्वाधार, प्रविधि, शिक्षा र  पर्यटन जस्ता क्षेत्रमा कूटनीतिक व्यवहारिकता अपनाएर भारतको प्रगतिबाट लाभ लिनसक्छ । भारतको आर्थिक प्रगति र विकास नेपालका लागि विकासको सवारीमा चढने अवसर हो ।

दिल्लीमा भएको योजनाबद्ध विकास र सुदृढ यातायात व्यवस्थाले यसलाई व्यवस्थित सहरको रुपमा स्थापित गरेको छ । दिल्ली विकास प्राधिकरणले ‘दिल्ली विकासको युरुयोजना २०४१’ लागु गर्दैछ । यही गुरुयोजनाअन्तर्गत खानेपानी, विद्युत, सञ्चार, सडक, ढल लगायतका विभिन्न सार्वजनिक सेवामुलक संस्थाहरुले समन्वयात्मक रुपमा कार्य गर्ने गरेका छन् । स्मार्ट सहरको योजना पनि कार्यान्वयनमा छ । विश्वकै उत्कृष्ट मानिएको मेट्रो ट्रेन दिल्लीमा सञ्चालित छ, जसमा दैनिक लाखौँ मानिस आवतजावत गर्छन । करिब तीनसय किलोमीटर लामो दुरीमा सञ्चालित मेट्रोका लागि विभिन्न तीनसय जति स्टेशन निर्धारण गरिएको छ । दु्रत गतिमा चल्ने मेट्रो ट्रेनले सहरी यातायात र आवागमनलाई अत्यन्त सहज र सुलभ बनाइदिएको छ । दिल्ली र यसवरिपरि रहेका विभिन्न पर्यटकीय स्थानहरु इण्डिया गेट, लालकिल्ला, कुतुबमिनार, हुमायुको चिहान, लोटस मन्दिर, अक्षरधामले पर्यटकलाई आकर्षित गर्छन । ब्रिटिशकालीन समयदेखि स्वतन्त्रता प्राप्त भइ अहिलेसम्म विभिन्न कालखण्डमा भएका घटना तथा इतिहास झल्काउने विषयवस्तुलाई राखेर बनाइएका विभिन्न सङ्ग्रहालयले भारतको विकासक्रमलाई दर्शाउँछ । इण्डिया गेटमा दिनहुँ हजारौ पर्यटक झुम्मिने गरेका छन् । इण्डिया गेटकै सिधा अगाडि रहेका राष्ट्रपति भवन र त्यसवरपरका पार्कले पर्यटकलाई लोभ्याउने गरेको छ । भारतीय प्रधानमन्त्री मोदीको स्वच्छता अभियानको प्रभाव पनि दिल्लीमा छ । सरसफाइ र स्वच्छतामा दिल्लीले नयाँ पहिचान बनाउँदैछ । यसरी दिल्ली हरित सहर मात्रै होइन एक व्यवस्थित र सुसज्जित सहरको रुपमा पहिचान बनाउन सफल भएको छ ।

आत्मनिर्भर भारत 

संसारको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारत क्षेत्रफलका हिसाबले संसारको सातौ ठुलो देश हो । जनसङ्ख्याको हिसाबले भने भारत संसारकै सबैभन्दा ठुलो देश हो । यहाँको जनसङ्ख्या एक अर्ब त्रिचालिस करोडको हाराहारी छ । यति ठुलो छिमेकी मुलुक भारतले निरन्तर आर्थिक प्रगति गर्दै गइरहेको छ । संसारमा छिटो आर्थिक प्रगति गर्ने राष्ट्रमा भारतको नाम अग्रपङ्क्तिमा छ । भारतीय अर्थतन्त्रको वार्षिक वृद्धि सात प्रतिशतभन्दा बढी रहेको छ । भारतको अर्थतन्त्र त्यसै सबल भएको होइन, त्यसका लागि विभिन्न तत्वले प्रमुख भूमिका खेलेको छ । शिक्षा, पूर्वाधार, सुशासन, सीप विकास, औद्योगिकीकरण, प्रविधि र समावेशी नीति जस्ता अनेकौँ विषयले भारतलाई विश्वकै बढदो प्रमुख अर्थतन्त्रको रुपमा स्थापित गरेको छ । 


भारतले गरेको विकास र प्रगति संसारकै लागि उदाहरणीय बनेको छ । समुन्नत र समृद्धितर्फ अग्रसर भारत आत्मनिर्भर बन्दै गएको छ । भारतको ठुलो अर्थतन्त्र, पूर्वाधार विकास, प्रविधि र बजार पहुँच नेपालका लागि अवसरको राम्रो स्रोत बन्नसक्छ । खुला सीमा रहेको भारत नेपालबिचको सम्बन्ध अतुलनीय छ । देश र सरकार तहमा मात्रै नभएर नागरिक तहमा सदियाैँदेखि कायम सम्बन्ध अटुट छ । नेपालले उर्जा, व्यापार, पूर्वाधार, प्रविधि, शिक्षा र  पर्यटन जस्ता क्षेत्रमा कूटनीतिक व्यवहारिकता अपनाएर भारतको प्रगतिबाट लाभ लिनसक्छ । भारतको आर्थिक प्रगति र विकास नेपालका लागि विकासको सवारीमा चढने अवसर हो ।

Author
कुमार विवेकानन्द मिश्र

उहाँ गोरखापत्र दैनिकको नि. कार्यकारी सम्पादक हुनुहुन्छ । 

लेखक बाट थप