• ७ भदौ २०८२, शनिबार

आश्चर्यको ताजमहल

blog

नयाँ दिल्लीको मानसिंह रोडस्थित होटेल ताजमहलको ग्यालरीमा हामी बसिरहेका थियौँ । भारतको परराष्ट्र मन्त्रालयका सञ्चार समन्वय अधिकृत नितिन गौतम आउनुभयो र भन्नुभयो, “ल भोलि तपाईंहरू बिहानै ६ बजे नै तयार भएर बस्नुहोला, ७ बजेभित्र नास्ता गरेर हामी आगराका लागि हिँड्छाैँ । कसैले पनि ढिला नगर्नुहोला नत्र छुट्नुहोला ।” अघिल्लो साँझ गौतमले त्यसो भनेर जानुभएपछि हामीमध्ये कोही खुसीले उफ्रियौँ भने कोही सामान्य भावमै बसिरहनुभयो । नयाँ दिल्लीको विभिन्न स्थान घुमे झैँ भोलि आगरा पनि यतै पर्छ होला भनेर केही साथी प्रतिक्रिया नदिई बस्नुभएको थियो तर आगरा र त्यहाँ रहेको सात आश्चर्यमध्ये एक स्थानबारे पहिल्यै थाहा पाएका साथी भने खुसीले गद्गद् हुनुहुन्थ्यो । आगरा नपुगेका एक साथीले भन्नुभयो, “एका बिहानै आगरा जाने किन ? के छ र त्यहाँ ?” अर्का साथीले जवाफ फर्काइहाल्नुभयो, “लौ थाहा छैन तपाईंलाई, ताजमहल क्या । सातौँ  आश्चर्य । त्यसको भव्यता कसरी बखान गर्नु भोलि आफैँ हेर्नुहोला नि ।” त्यसपछि ती साथीहरू उत्सुकतापूर्वक भोलिको प्रतीक्षामा अघिल्लो साँझ अलि चाँडै खाना खाएर आआफ्नो कोठातिर लागिहाले । 

नेपालका विभिन्न सञ्चार माध्यमका कार्यरत १० र भुटानका १० गरी २० जना पत्रकारको संयुक्त टोली भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा एक हप्ताका लागि भारत भ्रमण गएको थियो । गत असार १८ गते दिल्ली पुगेको पत्रकार टोलीले असार २१ गते आइतबार आगराको ताजमहल घुम्ने कार्यक्रम तय गरिएको थियो । आइतबार भारतमा सार्वजनिक बिदा भएर होला, त्यस दिन कुनै औपचारिक कार्यक्रम राखिएको थिएन । ताजमहल नै घुम्ने कार्यक्रमका लागि दिनभरिको समय निर्धारण गरिएको थियो । हामीलाई नयाँ दिल्लीको होटल ताजमहलमै राखिएको थियो । त्यसले पनि होटल ताजमहलदेखि आगराको भव्य ताजमहलसम्मको यात्रा निश्चय नै स्मरणीय हुने नै भयो । यद्यपि यो पङ्क्तिकार १८ वर्षअघि सन् २००७ मा ताजमहल घुम्ने अवसर पाएको थियो । नेपाली पत्रकारका लागि भारत सरकारले आयोजना गरेको पत्रकारितासम्बन्धी विशेष तालिम लिन ‘इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसन’ मा पुग्दा आगरा जाने र ताजमहलको अवलोकन गर्ने अवसर जुरेको थियो । १८ वर्षपछि पुनः त्यही ठाउँ पुग्ने भएपछि त्यतिखेर र अहिलेको अवस्थाबारे मनभित्र विभिन्न कुरा खेल्नु स्वाभाविकै थियो । मनभित्रको कौतूहलतासँगै ताजमहलको भव्यता चित्रण गर्दै भोलि बिहानै उठ्ने प्रतीक्षामा रात्रि विश्रामतिर लाग्यौँ । 

भोलिपल्ट बिहानै बिहान साढे छ बजे तल रेस्टुरेन्टमा आउँदा त सबै साथी आइसकेका रहेछन् । कतै नअलमलिकन हतार हतार नास्ता लिन थाले । त्यत्तिकैमा भारतीय सञ्चार समन्वय अधिकृत गौतम रेस्टुरेन्टमै आइपुग्नुभयो, “छिटो गर्नुस्, ७ बजिसक्यो, छिटो जानु पर्छ नत्र ढिला हुन्छ ।” हामी सबै जाउँ उठ्यौँ र होटलअगाडि रहेको बसतिर लम्क्यौँ । बसमा पुगेका हामी सबैको गौतमले सङ्ख्या गन्ती गर्नुभयो । एक जना अनुपस्थित हुनुहुन्थ्यो, त्यो पनि नेपालकै महिला पत्रकार । हामीले फोन सम्पर्क गर्‍यौं । उहाँले जान नसक्ने असमर्थता व्यक्त गर्नुभयो । एक दुई पटक त सबैले जाउँ जाउँ भनेर कर ग¥यौँ तर उहाँ नजाने भएपछि हामी हिँड्यौँ । नयाँ दिल्लीबाट ग्रेटर नोयडा हुँदै आगरातर्फको बाटो लाग्दा लाग्थ्यो हामी भारत होइनौँ  अर्कै देश पो आइपुगियो कि ! हामी तल बसमा गुडिरहेका थियौँ, माथि अर्कोतर्फबाट ट्रेन गुडिरहेको थियो । त्यसको माथि पनि अर्कोतर्फबाट आएको मेट्रो ट्रेन छिन छिनमै ओहोरदोहोर गरिरहेको थियो । पूर्वाधार तथा यातायातमा भारतले गरेको विकासको दृश्य आँखाअगाडि थियो । नयाँ दिल्ली–ग्रेटर नोयडा–आगरा राजमार्गको त कुरै नगरौँ । आहा ! कति सफा, कति फराकिलो, कति व्यवस्थित । राजमार्ग पनि यस्तो हुँदो रहेछ । ‘यमुना एक्सप्रेस हाइवे’ नाम दिइएको यसको लम्बाइ करिब १६५ किलोमिटर रहेको छ । छ लेनको यो राजमार्गमा उच्च सुरक्षा व्यवस्था, टोल प्लाजा, आपत्कालीन फोन सुविधा, पेट्रोल पम्प र सवारीसाधन मर्मतका लागि विभिन्न स्थानमा केन्द्र रहेका छन् । राजमार्गको दुवै किनारमा ‘नो पार्किङ, नो स्टोपिङ’ को बोर्ड ठाउँ ठाउँमा झुन्डिएको थियो । अर्थात् यो राजमार्गमा सवारीसाधन पार्किङ र रोक्न निषेध गरिएको छ । हरेक पाँच किलोमिटरमा राजमार्गको देब्रेतिर अलिभित्र पार्किङका लागि स्थान छुट्याइएको छ । करिब २० वटा ठुला सवारी पार्किङ गर्न सकिने त्यस स्थानमा सार्वजनिक शौचालय, होटेल र पेट्रोल पम्पको सुविधा छ । शौचालय प्रयोग गरेर यात्रु निस्कँदा हरेक पटक सफा गर्ने र अनि मात्रै अर्का व्यक्तिले प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । दुई जना सफाइकर्मी हरबखत तैनाथ । हाम्रो नेपालमा पनि यस्तै राजमार्ग भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । 

यमुना एक्सप्रेस राजमार्ग भारतको अत्याधुनिक राममार्गमध्ये एक हो । यसले नयाँ दिल्ली र आगराबिचको यात्रा दुरी करिब चार/पाँच घण्टा घटाएको बताइन्छ । दिल्लीबाट आगरा पुग्न बसमा दिनभरि लाग्थ्यो तर अहिले तीन घण्टामा पुगिन्छ । हामी पनि साढे तीन घण्टामा पुगेका थियौँ । राजमार्गमा बस गुडिरहँदा चालकले कुनै बेला नेपाली त कुनै बेला भुटानी गीत बजाउँथे । बसमा सवार हामी सबै रमाइरहेका थियौँ । एक पटक त भुटानका एक जना पत्रकारले ‘ब्लु तुथ’ बाट कनेक्ट गरेर भुटानको राष्ट्रिय गान नै बजाइदिएँ । त्यसपछि भुटानका पत्रकारहरू त अकमकाउँदै सिट अघिल्लितिरै राष्ट्रिय गान बजुन्जेलसम्म उभिरहे । हामी आगरा नजिक नजिक पुग्दै थियौँ । करिब पाँच किलोमिटर अगाडि एक ठाउँमा टोल प्लाजानजिक भारतीय प्रहरीले हाम्रो बस रोकेर किनारमा खडा गर्न भन्यो । हामी त के भयो भनेर कानेखुसी गर्न लाग्यौँ तर त्यत्तिकैमा हामीसँगै रहेका सञ्चार समन्वय अधिकृत गौतमले भन्नुभयो, “नआत्तिनुस, प्रहरी हाम्रो सुरक्षाका लागि आएको हो । यो उत्तर प्रदेश प्रहरीको भ्यान हो, यसले हामीलाई अगाडि स्कर्टिङ गर्दै लैजान्छ ।” हो रहेछ, प्रहरी भ्यानअगाडि अगाडि हामी त्यसको पछाडि पछाडि । प्रहरीको स्कर्टिङ देखेपछि हामीले सम्झ्यौँ, केही महिनाअघि भारतकै कश्मिरको पहलगाममा पर्यटकमाथि भएको आतङ्कवादी हमला । घुम्न आएका पर्यटकमाथि धर्म सोधी सोधी गोली प्रहार गरेको घटना ताजै थियो । त्यस घटनामा एक नेपाली पनि परेका थिए । पहलगाम घटनापछि भारतका सुरक्षाकर्मी अत्यन्त सतर्क र सचेत देखिएका छन् । पर्यटकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी भारतीय सुरक्षाकर्मीको चौतर्फी तैनाथी थियो । जसले गर्दा हामी ढुक्क थियौँ । 

हामी सवार बस सुरक्षित साथ आगरा पुगेर एक स्थानमा रोकियो । त्यहाँबाट विद्युतीय रिक्सामा ताजमहल जाने भनेर सुनाइयो । हामी सबै उत्रियौँ र विद्युतीय रिक्सामा सवार भयौँ । केही मिनेटमै ताजमहलको बाहिरी गेटअगाडि पुग्यौँ । त्यहाँ हामीलाई घुमाउने गाइडसँग परिचय गराइयो र भित्र लगियो । हामीलाई सामान्य सुरक्षा जाँच गराएर भित्र प्रवेश गराइयो । ताजमहल हेर्न आएका पर्यटकको लामो लाइन थियो । हजारौँको सङ्ख्यामा भित्र पनि लाइन नै थियो । हामीलाई प्रहरीको घेरामा राखेर ताजमहलको अवलोकनका लागि लगियो । भित्र परिसरमा प्रवेश गर्नेबित्तिकै सबैको मुखबाट निस्कियो, “ओहो ताजमहल, कति सुन्दर, कति भव्य, कति आकर्षक, कति मनमोहक ।” साँच्चै ताजमहलको भव्यता बखान गरेर साध्य नै छैन । लाग्थ्यो भर्खरै निर्माण सकेर तयार भएको हो । कति उज्यालो । हामीलाई गाइडले सोह्रो शताब्दीमा बनेको ताजमहलका बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो । गाइडका अनुसार यमुना नदीको किनारमा स्थित ताजमहल तत्कालीन मुगल वास्तुकला शैलीमा निर्माण गरिएको हो । 

सन् १६३२ देखि सन् १६४८ को बिचमा निर्माण गरिएको ताजमहल तत्कालीन मुगल सम्राट शाहजहाँले आफ्नी चौथी पत्नी मुमताजको सम्झनामा बनाएका थिए । सम्राट् शाहजहाँको पूरा नाम खुर्रम थियो भने रानी मुमताजको पूरा नाम अर्जुमन्द बानो बेगम थियो । मुमताजको उमेर १६ वर्षभन्दा पनि कम हुँदा शाहजहाँसँग विवाह भएको थियो । मुमताजले १४ सन्तान जन्माएका थिइन । आफ्ना १४ औँ सन्तान जन्माउँदा मृत्यु भएका रानी मुमताजको सम्झनामा शाहजहाँले ताजमहल बनाएका थिए । जसले मुमताजलाई शाहजहाँले कति प्रेम गर्थे भन्ने पुष्टि हुन्छ । आफ्नी प्रिय पत्नी मुमताजको निधनपछि विक्षिप्त बनेका शाहजहाँले मुमताजको समाधि स्मारक बनाउन आदेश दिए जुन ताजमहलको रूपमा परिचित भयो । यसमा भारतीय, इस्लामिक, पर्सियन (इरान) र टर्की वास्तुकला शैलीको मिश्रण छ । सेतो सङ्गमरमरबाट बनेको ताजमहलमा विभिन्न रत्न जडेर फूलबुट्टा कोरिएको छ । भारतकै राजस्थानमा रहेको मकराना खानीबाट ल्याइएको सङ्गमरमर बढी प्रयोग गरिएको छ भने केही तिब्बत, चीन, अफगानिस्तान र श्रीलङ्कालगायतका देशबाट ल्याइएको बताइन्छ । करिब ३० हजार टन सङ्गमरमर ढुङ्गा प्रयोग भएको र यसलाई बनाउन २० हजारभन्दा बढी कामदारले १६ वर्ष लागेको थियो । 

ताजमहलको भित्री मध्यभागमा रानी मुमताज र सम्राट् शाहजहाँको समाधि राखिएको छ । सन् १६३१ मा रानी मुमताजको निधन भएको थियो । त्यसको एक वर्षपछि ताजमहल निर्माण प्रारम्भ भएको थियो । सन् १६४८ तिर निर्माण सम्पन्न भएपछि मुमताजको समाधि ताजमहलको मध्यमागमा राखियो र सम्राट शाहजहाँ बेलाबखत आउने जाने गर्दथे । सन् १६६६ मा शाहजहाँको निधनपछि उनको पनि समाधि मुमताजकै छेउमा पश्चिततर्फ दायाँपट्टि राखियो । यही समाधिस्थल रहेको भव्य ताजमहल हेर्न दिनहुँ पर्यटकको भिड लाग्ने गर्छ । यसलाई युनेस्कोले सन् १९८३ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो । यस्तै सन् २००७ जुलाई ७ मा विश्वव्यापी मतदानमार्फत सातौँ आश्चर्यको रूपमा समावेश गरियो । ताजमहलको भित्र र बाहिर कुरानमा उल्लेखित शब्द सुन्दर कलाकृतिमा उतारिएको छ । ती शब्द ठुलो सानो नभई एकै आकारमा छन् । मुख्य गुम्बज, चार किनारमा मिनार, सुन्दर बगैँचा, छेउमा यमुना नदी र यसमा प्रयोग भएका कलात्मक सौन्दर्यले जोकोहीलाई मोहित तुल्याउँछ । यसको अर्को मुख्य विशेषता भनेको जुनसुकै दिशा वा कुनाबाट अवलोकन गर्दा एक नासको देखिन्छ । १८ वर्षअघि मैले देखेको ताजमहल आज पनि उस्तै नयाँ र आकर्षक देखिन्थ्यो । आगराकै बासिन्दा रहेका सञ्चार समन्वय अधिकृत गौतमले भन्नुभयो, “निर्माण हुँदाका बखत १६ औँ शताब्दीमा जस्तो देखिन्थ्यो, आज २१ औँ शताब्दीमा पनि उस्तै देखिन्छ, यो नै आश्चर्यको विषय हो ।’ नेपाल र भुटानका हामी पत्रकार टोली ताजमहल अवलोकन गरी दिउँसो ४ बजेतिर आगराबाट नयाँ दिल्लीतर्फ लाग्यौँ । त्यहाँको दृश्य र त्यसभित्रका अनेकौँ आश्चर्यका पाटा हाम्रा मनमस्तिष्कमा नबिर्सने गरी बस्न पुग्यो शाश्वत प्रेमको प्रतीक ‘आश्चर्यको ताजमहल’ का रूपमा ।  

Author
कुमार विवेकानन्द मिश्र

उहाँ गोरखापत्र दैनिकको नि. कार्यकारी सम्पादक हुनुहुन्छ ।