काठमाडौँ, चैत ६ गते । आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। निकै महत्वसाथ लिने गरिएको केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी सङ्घले बाजी मारेको छ। सो क्याम्पसको स्ववियु सभापतिमा श्यामराज ओझा निर्वाचित हुनुभएको छ।
थापाथली इन्जिनियरिङ क्याम्पसमा पनि नेपाल विद्यार्थी सङ्घका विक्रम शाही ‘पुष्कर’ सभापतिमा विजयी हुनुभएको छ। यसैगरी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका विराज अर्याल, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेविसङ्घका नवीन श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यसैगरी रुपन्देहीको सियारीस्थित लीलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी सङ्घको प्यानल नै विजयी भएको छ। पाल्पाको उद्बुद्ध कलेज तथा दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्विरोध निर्वाचित भएको छ।
त्रिविका २१२ वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार निर्वाचनमा ६० प्रतिशत विद्यार्थी मतदानमा सहभागी भएका छन्। स्ववियु निर्वाचन १४ वर्षपछि भएको हो।
निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्यसचिव डा. पशुपति अधिकारीका अनुसार छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। सबैभन्दा बढी विद्यार्थी भएका पुराना क्याम्पस घण्टाघरस्थित त्रिचन्द्र बहुमुखी क्याम्पस, मीनभवनस्थित नेपाल कमर्स क्याम्पस, पाटनढोकास्थित पाटन बहुमुखी क्याम्पस, लैनचौरस्थित अमृत साइन्स क्याम्पस, भृकुटीमण्डपस्थित विश्वभाषा क्याम्पस र कोटेश्वर बहुमुखी क्याम्पसमा भने आइतबार निर्वाचन हुन सकेन। त्यसैगरी पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, दार्चुलाका शङ्खरपुर क्याम्पस र लतिनाथ क्याम्पस, डोटीको डोटी बहुमुखी क्याम्पस तथा आठबीस शिक्षा क्याम्पसमा मदतान स्थगित भएको छ। बाजुराको बाजुरा क्याम्पसमा विद्यार्थी सङ्गठनबीचको झडप हुँदा मतदान प्रक्रिया स्थगित भएको छ। उक्त क्याम्पसमा विद्यार्थीबीचको झडपलाई साम्य पार्न प्रहरीले २४ राउन्ड हवाई फायर गरेको थियो।
त्रिभुवन विश्वविद्यालय मातहतका ८० वटा क्याम्पसको निर्वाचन यसअघि नै निर्विरोध रूपमा सम्पन्न भएको थियो। जसमा अनेरास्ववियु २९ वटा क्याम्पसमा, अखिल क्रान्तिकारी ३२ वटा क्याम्पसमा, नेविसङ्घ १९ वटा क्याम्पसमा नेतृत्व चयन भएको थियो। आइतबार थप चारवटा क्याम्पसमा समेत निर्विरोध निर्वाचित भएको डा. अधिकारीले जानकारी दिनुभयो।
फर्जी मतदान गरेको आरोपमा काठमाडौँ प्रहरीले पुतलीसडकस्थित शङ्करदेव क्याम्पसबाट १० जना नक्कली विद्यार्थीलाई पक्राउ गरेको छ। उनीहरूलाई अभिभावकको रोहबरमा जिम्मा लगाइएको काठमाडौँ प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो।
त्रिभुवन विश्वविद्यालयले निर्वाचन गर्न बाँकी रहेका १६ वटा क्याम्पसमा यही चैत ८ गते निर्वाचन गर्ने कार्यतालिकासमेत सार्वजनिक गरेको सदस्य–सचिव डा. अधिकारीले जानकारी दिनुभयो।