• २२ वैशाख २०८१, शनिबार

फागुन ७ को गौरव

blog

आज फागुन ७ गते । नेपालीले अधिकार पाएको अर्थात् प्रजातन्त्र स्थापना भएको दिन । मुलुकभर नै ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस धूमधामका साथ मनाइँदै छ । वि.सं. २००७ फागुन ७ गते नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनविरुद्धको आन्दोलन सफल भएकै कारण पनि यो दिन नेपालीमाझ चिरस्मरणीय छ । जनक्रान्तिकै फलस्वरूप जहानियाँ राणा शासनको पतन भएर मुलुकमा प्रजातन्त्रको शुभबिहानी सम्भव भएको तथ्य हामीसामु छ । यसका निम्ति महान् शहीदहरूको ठूलो शहादत छ भने हजारौँ हजार क्रान्ति योद्धाले बुद्धि, विवेक, श्रम र पसिना खर्चेका छन् ।

२००७ सालको क्रान्ति सफल पार्न नेपाली कांग्रेस र बीपी कोइरालालगायत शीर्ष नेतृत्वलगायत ठूलो राजतनीतिक तह र तप्काको योगदान अमूल्य छ । जहानियाँ राणा शासनबाट जनता मात्र रैती हुनुपरेको थिएन, राजतन्त्र नै बन्धकजस्तै बन्नु परेको थियो । त्यो बन्धनलाई तोड्न राजा त्रिभुवनले क्रान्तिलाई साथ दिएको अनुपम ऐतिहासिक परिघटनाको सफल दिनसमेत हो फागुन ७ । मुलुक गणतान्त्रिक नयाँ युगमा प्रवेश गरेको छ र नयाँ युगका निम्ति चेतनाको जग बसाउन सात सालको क्रान्तिले बृहत् महत्व राख्दछ । त्यसैले फागुन ७ लाई प्रजातन्त्र दिवसका रूपमा निरन्तर हर्षोल्लासका साथ मनाइन्छ । यो दिनले नागरिक अधिकार, मुलुकको समृद्धिको साथै राष्ट्र र राष्ट्रियताप्रतिको दृढ प्रणका दिनका रूपमा लिइनुपर्दछ । सबै नेपालीले यस दिनप्रति गौरवानुभूतिसहित उत्सवमा सहभागी हुनु इतिहासप्रतिको न्यायसमेत हो ।

यो ऐतिहासिक दिनका सन्दर्भमा सङ्घीय सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्य रूपले मनाउन अपिल गरेको छ । त्यसै अवसरमा यस दिवसलाई मुलुकभरि साहित्यिक, सांस्कृतिक, शैक्षिकलगायतका विभिन्न रचनात्मक गतिविधिसहित मनाइने कार्यक्रम तय गरिएको छ । यो दिवस भव्य रूपमा मनाउन सङ्घमा प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा नै समारोह समिति नै गठन गरिएबाट यो दिवसलाई राष्ट्रले प्रदान गर्ने महत्व स्पष्ट हुन आउँछ । विभिन्न ज्ञात, अज्ञात शहीदहरूको जीवन आहुतिकै कारण आज हामी नेपाली प्रजातन्त्रिक अधिकारहरूको उपभोग गरिरहेका छौंँ । यस दिनमा शहीदप्रति कृतज्ञता व्यक्त गर्नु सम्पूर्ण नेपालीको दायित्व हो । शहीदले मुलुक तथा जनताप्रति त्याग भाव नराखेको भए अझै कैयौँ वर्ष नेपाल जहानियाँ राणा शासनको अधीनमा रहनुपर्ने थियो । यसैको मूल मर्म नै प्रजातन्त्र दिवस मनाउनुको अर्थमा समाहित रहेको भन्न सकिन्छ । 

मुलुकमा प्रजातन्त्र स्थापनाको ७३ वर्ष भइसक्दा पनि अझै कैयौँ विषय तथा क्षेत्रमा हामी पछौटे अवस्थामै छौंँ र यो हामी सबैले मनन गर्नुपर्ने गम्भीर विषय हो । सात दशकअघि मुलुकले प्रजातन्त्र उपभोगको सुरुवात गरिरहँदा हामीभन्दा धेरै कुरामा पिछडिएका कतिपय मुलुकको आर्थिक तथा समृृद्धिको पाटो वर्तमानमा निकै उच्च रहेको विश्वसामु यथार्थ छ । यस सन्दर्भमा औंँल्याउनुपर्दा विकास, समृद्धिका पक्षमा हामी पछि परेको कटु यथार्थ हो । मुलुक आर्थिक गतिविधिका साथै विकास, निर्माणलगायतका पक्षमा जुन गतिले अगाडि बढ्नुपर्ने थियो, त्यस गतिमा पक्कै पनि अगाडि बढ्न सकेको छैन । भ्रष्टाचार, कुशासन, हरेक क्षेत्रमा अति राजनीतीकरण, नातावाद, अराजकता आदि विकृति र कुशासन मुलुक पिछडिनुका मुख्य कारण हुन सक्छन् । यस्ता तमाम विकृति र विसङ्गतिबाट मुक्त भई समृद्ध भविष्यका निम्ति प्रतिबद्धता व्यक्त गर्ने सुनौलो दिनसमेत हो फागुन ७ ।

राष्ट्रिय प्रजातन्त्र दिवस मनाइरहँदा अब आर्थक विकासको मार्गचित्र स्पष्ट देख्न सक्ने चाहना स्वाभाविक हो । मुलुकलाई समृद्धशाली राष्ट्र बनाउने प्रण सबै नेपालीले गर्नु आवश्यक देखिएको छ । सात दशकभन्दा बढीको संस्थागत लोकतान्त्रिक प्रणालीको उपयोग गरेर जनताको जीवनस्तर उठाउन सबैको सहकार्य त्यत्तिकै जरुरी छ । प्रजातन्त्र दिवसको यस पुनित दिनमा मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्ने तथा यसलाई व्यवहारमा उतार्ने महत्वपूर्ण दिन हो भन्ने बिर्सन मिल्दैन । विगतमा भएका गल्ती, कमी, कमजोरीमा सुधार गरेर आगामी दिनमा मुलुकलाई विकसित तथा समृद्ध बनाउने शपथ लिने दिनका रूपमा समेत यो दिवसलाई लिइनुपर्दछ । शहीदहरूको सपना साकार पार्न नेपाल र नेपालीको मुहार फेर्नु अनिवार्य छ । यो महान् दिन ल्याउने योगदान गर्ने ज्ञात, अज्ञात शहीदप्रति श्रद्धासुमनसहित सबै नेपालीलाई ७३औंँ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।