• १८ चैत २०८२, बुधबार

बाथरोगको पीडा

blog

नेपालमा स्वास्थ्य समस्या जटिल र खर्चिलो बन्दै छ । परिवर्तित खानपान र जीवनशैली नै यसको प्रमुख कारक हो । सर्ने र नसर्ने दुवै रोगबाट नेपाली समाज प्रभावित छ । कतिपय रोग उपचारको प्राथमिकतामा समेत परेको छैन तर यस्तो रोगबाट लाखौँ मानिसले पीडा भोगिरहेका छन् । बाथरोग यस्तै प्राथमिकतामा नपरेको रोग हो । यसबाट धेरै मानिसले दुःख र पीडा भोग्दै आएका छन् । यो रोग बढ्दो क्रममा छ । बाथरोगको पहिचान तथा उपचारमा प्राथमिकता दिन नसक्दा बिरामीहरू उपचारको पहुँचबाहिर छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर कुल जनसङ्ख्याको करिब ३० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बाथरोग देखिएको छ । नेपालमा पनि बाथरोगको अवस्था जटिल बन्दै छ । यो हाडजोर्नी तथा मांसपेशीसम्बन्धी रोग हो । करिब १० प्रतिशत जनसङ्ख्यामा बाथरोग रहेको अनुमान छ । झन्डै ३० लाख नेपाली कुनै न कुनै प्रकारको बाथरोगबाट प्रभावित छन् । तीमध्ये १५ देखि २० प्रतिशत बिरामीमा कम्मर, ढाड दुख्ने तथा घुँडाको समस्या छ । ग्रामीण क्षेत्रमा शारीरिक श्रम बढी गर्ने जनसङ्ख्यामा बाथरोगको समस्या झनै बढी छ । सहरी सुखभोगी जीवनशैली अर्को समस्या हो । बाथरोगको सही पहिचान अझै चुनौतीपूर्ण छ । अधिकांश बिरामीले सुरुवाती लक्षणलाई सामान्य दुखाइ सम्झेर बेवास्ता गर्छन् ।

बाथरोगका प्रमुख लक्षणमा औँला दुख्ने र सुन्निने, बिहान उठ्दा हातखुट्टा कक्रक्क पर्ने, जोर्नी दुख्ने, खुट्टाका बुढी औँलामा रातोपन देखिने र दुखाइ हुने, शरीरका विभिन्न भागमा सुन्निने जस्ता समस्या देखिन्छन् । कतिपय अवस्थामा बाथरोगले शरीरका अन्य अङ्ग जस्तै मुटु, फोक्सो र मिर्गौलामा समेत असर गर्न सक्छ । यसले बाथरोगलाई अझ गम्भीर बनाउँछ । नेपालमा बाथरोगसम्बन्धी अध्ययन तथा अनुसन्धानको अवस्था पनि सन्तोषजनक छैन । सीमित स्वास्थ्य संस्थाले अनुसन्धान गरे पनि राष्ट्रियस्तरमा व्यापक तथ्याङ्क सङ्कलन र दीर्घकालीन अध्ययनको अभाव छ । यसै सन्दर्भमा दक्षिण एसियामा बाथरोगसम्बन्धी बहस, अनुसन्धान र नवीनतम उपचार प्रविधिको विकासका लागि दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सोमबार सङ्घीय राजधानी काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनमा सैद्धान्तिक छलफलमा सीमित नरही व्यावहारिक समाधान खोज्नेतर्फ दक्षिण एसियाका विभिन्न देशबाट बाथरोग विशेषज्ञ, प्राध्यापक तथा नीतिनिर्माणमा संलग्न विज्ञहरूको सहभागिता थियो । विशेषज्ञ सेवा, समयमै पहिचान र आधुनिक प्रविधिको पहुँच अझै सीमित रहेको अवस्थामा गरिएको यस्तो सम्मेलनबाट निकालिएको निष्कर्ष कार्यान्वयन गर्न सके नेपाली समाज लाभान्वित हुन सक्छ । 

नेपालमा बाथरोग नियन्त्रण तथा व्यवस्थापनका लागि स्पष्ट नीति तथा कार्यक्रम अभाव छ । सरकारले नसर्ने रोग नियन्त्रण कार्यक्रम अन्तर्गत केही प्रयास भए पनि बाथरोगलाई प्राथमिकता दिन सकेको छैन । प्रत्येक प्रदेश अस्पतालमा बाथरोग विशेषज्ञको व्यवस्था गर्ने तथा आवश्यक औषधीको उपलब्धता तथा जनचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर छ । त्यहाँ बिरामीले समयमै उपचार पाउन सक्दैनन् । सरकारी अस्पतालमा बाथरोगसम्बन्धी छुट्टै विशेषज्ञ पदको दरबन्दीसमेत छैन । हाल अधिकांश सरकारी अस्पतालमा जनरल फिजिसियनकै भरमा बाथरोगको उपचार भइरहेको छ । बाथरोग एक वा दुई प्रकारको मात्र नभई सयभन्दा बढी प्रकारका छन् । यति धेरै प्रकारणको रोगको उपचार गर्न नेपालमा विशेषज्ञ चिकित्सकको अभाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाथरोगका लागि छुट्टै एकाइ स्थापना गर्ने विषयमा पर्याप्त पहल हुन सकेको छैन । 

जनसङ्ख्या बढ्यो, रोग बढे तर दरबन्दी पुरानै छ । सरकारले दरबन्दीलाई पुनर्संरचना गरी हरेक रोगको विशेषज्ञ चिकित्सकको दरबन्दी थप गर्नुपर्ने अवस्था छ । आर्थिक रूपमा कमजोर बिरामीका लागि बाथरोगको उपचार झनै कठिन हुँदै छ । बाथरोग दीर्घकालीन रोग भएकाले यसको उपचार लामो समयसम्म गर्नुपर्ने हुन्छ । यसका लागि नियमित औषधी, परीक्षण र चिकित्सकीय निगरानी आवश्यक पर्छ । दीर्घकालीन उपचार गर्नुपर्ने हुँदा गरिब तथा विपन्न वर्गका बिरामी उपचारबाट वञ्चित हुने अवस्था छ । नेपालमा बाथरोग विशेषज्ञ चिकित्सकको सङ्ख्या अत्यन्तै न्यून छ । प्राप्त जानकारी अनुसार देशभर जम्मा १५ जना बाथरोग विशेषज्ञ चिकित्सक छन्, जसले ठुलो जनसङ्ख्यालाई सेवा दिनुपर्ने अवस्था छ । यसले गर्दा बिरामीले लामो समय कुर्नुपर्ने, निजी अस्पतालतर्फ धाउनुपर्ने वा उपचार नै नपाउने अवस्था सिर्जना भएको छ । अतः यो रोग लाग्नबाट बच्न सचेतना आवश्यक छ । रोग लागिहाल्यो भने बेलैमा उपचार गराएर निको हुने प्रयास गर्नु पर्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु जाती हुने कुरालाई मनन गरिनु वाञ्छनीय हुन्छ ।