• २४ चैत २०८२, मङ्गलबार

लागुऔषधविरुद्ध कठोर कदम

blog

युवापुस्ता मुलुकको भविष्य मात्र होइनन्, वर्तमानका सशक्त ऊर्जा हुन् । युवापुस्ताको लगन र क्षमताबाटै समाजले प्रगतिको गति लिन सक्छ । विश्वभर नै युवालाई आफ्नो लक्ष्यान्तर गर्ने अनेक बाधक तत्व खडा भएका हुन्छन् । लागुऔषधको कुलत त्यस्तै मूल बाधक तत्व हुन सक्छ । लागुऔषधविरुद्ध अनेक कार्य सञ्चालनमा भए पनि यसमा चाहेको सफलता प्राप्त हुन सकेको छैन । लागुऔषधले युवापुस्तालाई सताइरहेको छ । लागुऔषधको प्रयोग सहरदेखि गाउँसम्म फैलिन थालेको प्रति चिन्ता बढ्दो छ । यसको रोकथामका निम्ति बेलैमा प्रभावकारी कदम चाल्नु आवश्यक छ । लागुऔषध प्रयोगकर्ताको पुनस्र्थापनामा लामो समयदेखि सक्रिय रहँदै आएको संस्था नार्कोनन् नेपालका प्रमुख वसन्त कुँवरका अनुसार लागुऔषधको कुलतमा फस्नेमध्ये सबैभन्दा बढी १५ वर्षका किशोरदेखि २५ वर्षका युवासम्म छन् । ऊर्जाशील पुस्ता नै समस्याबाट पीडित छन् । केही सर्वेक्षणबाट उपलब्ध तथ्याङ्क अनुसार नेपालमा झन्डै १० देखि ११ लाख लागुऔषध प्रयोगकर्ता रहेका छन् । यो भनेको प्रत्येक पाँच घरमा एक जना दुव्र्यसनी हुनु हो । त्यसैले लागुऔषधविरुद्ध सरकारी र निजी क्षेत्रमा एकीकृत अभियान अगाडि बढाउनु वाञ्छनीय छ । चिन्तालाग्दो अवस्था त लागुऔषधको विस्तार भइरहेको तथ्याङ्कले देखाइरहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा लागुऔषध कारोबार, ओसारपसार र प्रयोग झन्डै १० प्रतिशत वृद्धि भएको छ ।

सुरक्षा निकायको सर्वेक्षणमा सबै तथ्याङ्क नआउन पनि सक्छ । लुकेर बसेको समस्या अझ व्यापक पनि हुन सक्छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा लागुऔषध कारोबार र ओसारपसारमा संलग्न चार हजार ५४६ जना पक्राउ परेकामा १४९ जना विदेशी थिए । उनीहरूको साथबाट गाँजा, चरेस, हेरोइन, अफिम, कोकिनलगायत तीन लाख ३५ हजार ७१० थान फर्मास्युटिकल बरामद भएको थियो । अघिल्लो आव २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न अभियोगमा पक्राउ परेका करिब आठ हजार देखिएका छन् । सङ्ख्या बढेको छ । पक्राउ परेकाहरूको साथबाट करिब ५० लाख थानभन्दा बढी फर्मास्युटिकल बरामद भएको छ । यसले लागुऔषधको विस्तार अत्यासलाग्दो देखाउँछ । सरकारी औपचारिक तथ्याङ्क अनुसार नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या एक लाख ३४ हजार देखिए पनि सङ्ख्या अझै व्यापक हुन सक्छ । लागुऔषधको समस्या समाधान गर्न प्रभावकारी कदम चाल्नु अति आवश्यक भइसकेको छ । त्यसका निम्ति मूलतः तीन वटा नीतिमा काम गर्नु उचित हुन्छ । पहिलो, लागुऔषधको माग घटाउनु पर्छ । दोस्रो, माग घटाउने नीति र योजनासँगै आपूर्तिलाई कठोर तवरले नियन्त्रण गर्नु पर्छ । तेस्रो, घट्दो माग र आपूर्तिलाई अगाडि बढाउँदै लागुऔषधबाट युवापुस्तामा भइरहेको क्षति न्यूनीकरण गर्ने नीति लिई योजना र कार्यक्रममा काम गरिनु पर्छ । माग, आपूर्ति र क्षति न्यूनीकरणलाई एकीकृत रूपमा काम गर्दै जाँदा युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन सकिने विश्वास छ ।

अहिले लागुऔषध नियन्त्रण ऐनका साथै लागुऔषध नियन्त्रण राष्ट्रिय नीति पनि रहेको छ । ऐन र नीति पुराना छन् । तिनलाई समयसापेक्ष  संशोधन गर्नुपर्ने आवाज उठिरहेको छ । यो नीतिगत र कानुनी सुधारले लागुऔषधविरुद्ध काम गर्न सजिलो हुने छ । लागुऔषध तस्करले अनेक तौरतरिका अवलम्बन गर्न सक्छन् । २०३३ सालको पुरानो ऐनलाई आधुनिक प्रविधिले चुनौती दिएको छ । कानुनी र नीतिगत सुधार आवश्यक भएको छ । नीति र कानुनमा सुधारले कडा दण्ड र सजायको व्यवस्था गर्न सक्छ । सङ्गठित आपराधिक सञ्जाल र तस्करविरुद्ध शून्य सहनशीलतामा काम गर्नु पर्छ । लागुऔषधविरुद्धका संस्थागत निकायलाई स्रोतसाधनको अभाव हुन दिनु हुँदैन । लागुऔषधविरुद्धको सचेतना कार्यक्रम पनि सञ्चालन गरिनु पर्छ । विद्यालयस्तरमा गरिने गतिविधिले सचेतना विस्तार हुन सक्ने छ । लागुऔषधको जोखिममा पर्न सक्ने समूह पहिचान गरी एकीकृत कार्य सञ्चालन गरिनु पर्छ । खुला सिमानाले पनि लागुऔषध कारोबारी मौलाएको भनिन्छ । सिमानामा निगरानी बढाउनु पर्छ । वर्तमान सरकारप्रति युवाको ठुलो भरोसा छ । प्रतिनिधि सभा २०८२ को निर्वाचन जेनजी विद्रोहको उत्पादन मात्र होइन, जनादेशसमेत युवा समर्थित अधिक नेतृत्वलाई प्राप्त भएको छ । युवालाई जोखिममा लैजाने कुकार्य लागुऔषधविरुद्ध निर्मम कदम आवश्यक छ । कुलतमा फसेका युवालाई जोखिमबाट बाहिर निकाल्नुपर्ने छ । सरकार र निजी क्षेत्र मिलेर यस दिशामा धेरै काम गर्न सकिने छ ।