काठमाडौँ, फागुन ३ गते । लागूऔषध नियन्त्रण ब्युरोले नेपालमा प्रयोग हुने औषधिजन्य लागूऔषधका मुख्य कारोबारीसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार थाइल्यान्डका, दुई भारतीय र सात जना नेपाली नागरिक छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ब्युरो लागूऔषधका मुख्य कारोबारीसम्म पुग्न सफल भएको हो ।
ब्युरोका प्रमुख विकासराज खनालका अनुसार पक्राउ पर्नेमा भारतबाट नेपालमा औषधिजन्य लागूऔषध तस्करी गर्ने मुख्य अभियुक्त भारत, विहार मधुवनीका फैज अहमद र नेपालमा थोक बिक्रेताको काम गर्ने सोलुखुम्बु, माप्यदूधकोसी गाउँपालिका–४ का लाक्पा शेर्पा छन् । फैजन नेपालमा लागूऔषधको कारोबारबाट सङ्कलन गरेको रकम लिन आएका बेला सुन्धाराबाट पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसैगरी ब्युरोले शेर्पालाई विशेष सुराकीका आधारमा लागूऔषधको गोदाम रहेको कामपा–२१ दलाछी टोलबाट पक्राउ गरेको हो ।
ब्युरोले शेर्पाको गोदामबाट २० हजार तीन सय थान लागूऔषध बरामद गरेको जनाएको छ । सो परिमाण एकै पटक बरामद भएको हालसम्मकै ठूलो परिमाण रहेको ब्युरोले जनाएको छ । लाक्पा शेर्पा २०७० असार ७ गते हातहतियार मुद्दामा पक्राउ परी तीन वर्ष कैद भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ । जेलबाट छुटेपछि शेर्पा तीन वर्षयता लागूऔषधको कारोबारमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ । शेर्पाको साथबाट प्रहरीले लागूऔषध कारोबारबाट सङ्कलन भएको चार लाख ५० हजार रुपियाँसमेत बरामद गरेको छ । उनीहरूसँगै भारतबाट काठमाडौँसम्म ल्याउन सवारीचालकका रूपमा काम गर्ने धनुषा, औरही–३ का रिहासद भन्ने अयान रेजा तथा रेजाबाट मुख्य कारोबारी शेर्पासम्म पु¥याउने धनुषा औरही–३, कपटोलकै जाकिर नदाफ धनुषाबाट पक्राउ परेका छन् ।
त्यसैगरी शेर्पाबाट खरिद गरी बजारसम्म पु-याउन काभ्रेपलाञ्चोक भुम्लु–४ का दीपक तामाङ तथा नुवाकोट–८ का लक्ष्मण बखती पक्राउ परेको ब्युरोले जनाएको छ ।
यसैगरी ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २३ किलो आठ सय ग्राम चरेससहित बैङ्कक उड्न लागेका चार थाई नागरिकलाई समेत नियन्त्रणमा लिएको छ ।
थाई लाइन एयरलाइन्सको उडानबाट बैङ्कक जान लागेका थाई नागरिक यावलुक जुवाश्री, परिचार्ट पम्प्रक, नट्टापोल ट्रिचैया र नटनारी ट्रिचैया रहेका छन् । नट्टापोल र नटनारी दाजुबहिनी हुन् । पक्राउ परेका चार जना यसअघि तीन पटक नेपाल आएको देखिएको र लागूऔषधको भरियाको काम गर्ने गरेको आशङ्का ब्युरोले गरेको छ ।
ब्युरोले खैरो हेरोइनसहित सिनामङ्गलबाट मोरङ लेटाङ–२ का रोशन रिसाल, मोरङ केराबारी–३ का अमित श्रेष्ठ पक्राउ परेका छन् । दुवै जनाको साथबाट लागूऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद गरिएको ब्युरोले जनाएको छ ।
बरामद लागूऔषधको अवैध बजार मूल्य ५१ लाख ४१ हजार नौ सय रुपियाँ रहेको जनाइएको छ । लागूऔषधसहित पक्राउ परेका नेपालीसहित विदेशी नागरिकलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।