दक्षिणपूर्वी एसियामा सङ्घीय व्यवस्था अवलम्बन गर्ने एक मात्र मुलुक मलेसिया आर्थिक तवरले समृद्ध मुलुक मानिन्छ । बेलायती शासनबाट मुक्ति पाएपछि ५० वर्षसम्म वार्षिक कुल गार्हस्थ्य उत्पादन ६.५ प्रतिशतले वृद्धि भएको मलेसियाका आर्थिक तथ्याङ्कले बताउँछन् । दक्षिणपूर्वी एसियामा यो मुलुक नयाँ औद्योगिक बजार अर्थतन्त्र भएको तेस्रो ठूलो तथा विश्वमा ३६ औँ ठूलो मुलुक मानिन्छ । सन् १९५७ मा बेलायती आधिपत्यबाट स्वतन्त्रता प्राप्त गर्नुअघि पोर्चुगल, नेदरल्यान्डजस्ता युरोपेली मुलुकबाट शासित यो मुलुकले निकै ठूलो सङ्घर्ष गरेर स्वतन्त्रता प्राप्त गरेको यहाँ उल्लेखनीय छ । स्वतन्त्रतासँगै महाथिर मोहम्मदलगायतका सक्षम राजनेताबाट नेतृत्व पाएको फलस्वरूप मलेसियाले आर्थिक समृद्धिमा निकै नै फड्को मारेको विगत छ ।
छोटो समयमा आर्थिक विकासमा तीव्रता हासिल गरेको मलेसियाको यथार्थ विश्वसामु स्पष्ट छ । मलेसियाले बाह्य लगानी प्रोत्साहित गरेर प्राकृतिक स्रोतसाधनको उपयोग ग-यो । त्यसैको फलस्वरूप औद्योगिक उत्पादन, विज्ञान, पर्यटन, वाणिज्यजस्ता विविध क्षेत्रमा यो मुलुकले आफ्नो क्षमता प्रदर्शन गरिरहेको छ । स्वाधीनताका सुरुका अवस्थामा आर्थिक दृष्टिकोणबाट नेपाल र मलेसियाको समृद्धि लगभग एकै प्रकारको भए पनि दृढ राजनीतिक इच्छाशक्तिसहित यो मुलुकले आर्थिक समृद्धिमा निकै फड्को पार गरिसकेको वास्तविकता बिर्सन मिल्दैन । हाल मलेसियाले विश्वकै २३औँ ठूलो निर्यातकर्ता तथा २५औँ ठूलो आयातकर्ता मुलुकका रूपमा आफ्नो आर्थिक परिचय स्थापित गर्न सक्षम भएबाट यस मुलुकको आर्थिक समृद्धिको अनुमान गर्न सकिन्छ ।
औद्योगिक उत्पादन तथा आर्थिक समृद्धिसँगै अगाडि बढिरहेको मलेसिया नेपालीका निम्ति विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय रोजगारीका निम्ति निकट गन्तव्यका रूपमा देखा परिरहेको छ । दैनिक सयौँ नेपाली युवा श्रमिक हवाई मार्गबाट मलेसिया प्रस्थान गरिरहेका हुन्छन् । मलेसिया र नेपालबीचको यो रोजगार तथा श्रमिक सम्बन्धमा कहिलेकाहीँ केही अमिलोपन पनि देखिएको पाइन्छ । केही समयअघि मात्र मलेसियामा केही नेपाली श्रमिक कम्पनीद्वारा बन्धक बनाएर अलपत्र पारिएका समाचार पनि सार्वजनिक भएका थिए । यस्ता घटना बेलाबेलामा सुनिनमा आइरहन्छन् । यस्तै नेपालमा एक किसिमको सेवासुविधा तथा तलबको कुरा गरेर मलेसियामा सोहीअनुरूपको सेवासुविधा नेपाली श्रमिकले नपाएको गुनासो पनि चिन्ताको विषय हो । यी विषयको समाधान गर्दै नेपाल र मलेसियाबीचको सम्बन्धलाई सुमधुर तथा सुदृढ पार्नु दुवै मुलुकको हितमा हुने देखिन्छ ।
मलेसियाले श्रम आपूर्तिमा भोगिरहेको समस्यालाई न्यूनीकरण गर्न प्रयास गरिरहेको देखिन्छ भने नेपालले अझै केही वर्ष आन्तरिक रोजगारीको अवस्था बलियो नहुँदासम्म सुविधाजनक बाह्य रोजगारीतिर आँखा लगाउनैपर्ने हुन्छ । मलेसियाका गृहमन्त्रीबाट भएको नेपाल भ्रमणले यस सम्बन्धमा थप सघाउने तथ्यमा विश्वस्त हुन सकिने आधार तयार भएको छ । उच्चस्तरीय छलफल तथा भेटवार्ताका क्रममा पनि यी विषयले प्रमुखता पाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मलेसियाका गृहमन्त्रीसँगको भेटमा नेपाली कामदारको हित, सुरक्षा तथा कल्याणको विषयमा सुनिश्चित गर्न दिनुभएको जोडले कामदारको विषयमा नेपाली चिन्ता तथा चासो प्रकट भएको छ । प्रधानमन्त्री प्रचण्डको चासोसँगै मलेसियाका गृहमन्त्रीले नेपाली कामदारलाई सहज हुने गरी नीतिगत तथा कानुनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त भएबाट वर्तमान स्थितिमा थप सहजता हुने तथ्यमा विश्वस्त हुन सकिन्छ ।
सबैभन्दा महत्त्वपूर्ण तथ्य तथा विषय भनेको कुनै पनि मुलुकले आफ्ना नागरिकलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गरेर विदेश धाउनुपर्ने बाध्यता आउन नदिनु नै हो । यसका निम्ति मुलुकमा राजनीतिक स्थिरता, राजनीतिक दृढ इच्छाशक्तिका साथै अन्य धेरै विषय सकारात्मक हुनुपर्दछ । नेपालले तत्कालै विदेशी रोजगार गन्तव्यमा आफ्ना नागरिकलाई नपठाउन सम्भव नभए पनि आफ्ना नागरिक कामदारको हक, हित तथा कल्याणका निम्ति द्विपक्षीय संवाद तथा छलफललाई निरन्तरता दिइराख्नुपर्दछ । नेपाल र मलेसियाबीचको पछिल्लो चरणको वार्तालाई यसै कडीको निरन्तरताका रूपमा हेरिनुपर्दछ । नेपालको मुख्य चिन्ता तथा चासो नेपाली कामदारको हक, हित, सुरक्षा, उचित पारिश्रमिक, सुविधाका निम्ति सम्बद्ध पक्षसँग निरन्तर वार्ता तथा संवादमा केन्द्रित रहनु महत्त्वपूर्ण हुन्छ । मलेसियामा नेपालीले बढी सुविधासहित रोजगारी पाउने व्यवस्थाका निम्ति संस्थागत पहल आवश्यक छ । त्यहाँ नेपालीले बिनाझन्झट श्रमको मूल्य पाउने, सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने र प्राप्त आर्जन सहज तवरबाट नेपाल ल्याउन सहयोगी हुनुपर्ने देखिन्छ । सुरक्षित श्रम गन्तव्यका निम्ति दुवै मुलुकका अधिकारीबीच हुने संवाद र सहमतिले ठूलो महत्त्व राख्नेछ ।