• १३ साउन २०८१, आइतबार

‘सानासाना सपना’ मञ्चन

blog

नेपालगञ्ज समाचारदाता 

नेपालगञ्ज, कात्तिक १ गते । कोहलपुरमा पहिलो पटक प्रदर्शन गरिएको शिल्पी थिएटरको मुक्त रङ्गमञ्च नाटक ‘सानासाना सपना’को मञ्चनमा दर्शकहरूको उत्साहजनक उपस्थिति देखियो ।

नाटक हेरिसकेपछि धेरै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । नाटक हेरेका बहुसङ्ख्यकले नाटक धेरै उत्कृष्ट रहेको बताए । नाटकले भुइँ मान्छेहरूका ‘सानासाना सपना’ समेटेको छ ।

नाटक हेरिसकेपछि कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुखसमेत रहनुभएका कवि रवीबाबु प्रतीक्षाले नाटकले सार्वजनिक सेवा प्रवाहमा हुने ढिलासुस्ती र जनताले पाउने दुःखमाथि व्यङ्ग्य गरेको बताउनुभयो । 

नेपाली समाजले सार्वजनिक सेवा प्रवाहको सामाजिक सेवाभन्दा शिल्पी थिएटरको सचेतना धेरैमाथि उठेको उहाँले टिप्पणी गर्नुभयो । 

युवा अर्पु खनालले नाटक आफूलाई असाध्यै मन परेको बताउनुभयो । उहाँले नाटकले उठाएका कुरा हामीले हरेक दिन भोगिरहेको जनाउँदै कर्मचारी र जनप्रतिनिधिले गर्ने ढिला सुस्तीको मार आम नागरिकले भोग्नु परिरहेकाले नाटक निकै सान्दर्भिक रहेको बताउनुभयो । कोहलपुर मेडिकल कलेजका डाक्टर देवेन्द्र आचार्यले नाटकले मन छोएको प्रतिक्रिया दिनुभयो । 

नाटकका परिकल्पनाकार र निर्देशक युवराज घिमिरेका अनुसार शिल्पी थिएटरले नाटक प्रदर्शनको नयाँ माध्यम र कोसिसको रूपमा मुक्त रङ्गमञ्जको प्रयोग गरिरहेको छ । 

दियालो परिवारको स्थानीय आयोजनामा नाटक ‘सानासाना सपना’को उत्साहजनक मञ्चन भएको उहाँले बताउनुभयो । दर्शकहरूको उत्साहजनक उपस्थितिले मोफसलमा नाटकको भोक कति छ भन्ने कुरा स्पष्ट भएको उहाँको भनाइ छ ।

निर्देशक युवराज घिमिरेका अनुसार नाटक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी कुल २१ स्थानमा मञ्चन गरिनेछ ।

नाटकमा मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, झकेन्द्र बीसी ज्योति पोखरेल, सविन कट्टेल, रवीन परियार, गोविन्द ओली, हिमाल भुजेल शुशीला लुहार, योगेन्द (ज्याक) बराल, स्मारिका फुयाँल, निर्मल साउद र समित भण्डारीले अभिनय गरेका छन् । प्रत्यक्ष सङ्गीत अनुप तिमिल्सिना र स्मारिका फुयालको रहेको छ ।