• ७ चैत २०८२, शनिबार

अलोका (कविता)

blog

सपनाहरू मनभरि अल्झाएर

सहरका चोक र गल्लीहरूका कोलाहल छलेर

भिडहरू छिचोलेर अलोका हिँडिरहिन्

शान्ति, सद्भाव र सहिष्णुताको विश्वयात्रामा

झन्डाविहीन आँखाहरूमा उज्यालो बोकेर ।


टुक्रिएका सडक जस्तै असमान पाइलाहरूमा

विश्वासको धड्कन पल्लवित भइरहेका छन्

शान्तिको पदमार्गमा समताको बिगुल घन्काउँदै

आडम्बर र दम्भको कोलाहल चिरेर

ॐ मणि पद्मे हुँ– स्वरमा स्वर मिलाएर

समयको जिउँदो सत्मार्ग देखाउँदै

लोभ र पाप सबै बिर्सिइन्

भिक्षुहरूको सत्सङ्गमा लोभिइन्

अलोका !

अलोका कुनै देवी होइनन्

न त चुनावी झन्डा झैँ फरफराउने मौसमी पताका नै

उनी त आकर्षणको केन्द्रमा मुस्कुरारहेकी किशोरी हुन्

जो घरको झ्यालबाट भविष्यको उज्यालो नापिरहेकी छन्

जहाँ नदीहरू दिशाहीन भुँमरीमा रुमल्लिँदै 

सपना र श्रमको बाँध भत्काउँदै बगेको बेला

लोडसेडिङको अँध्यारोमा

क्षणिक भए पनि एक्कासि बल्ने बत्ती झैँ

मार्ग देखाउन खोज्दै शान्ति र समझदारीको

‘बुद्धम् शरणम् गच्छामि’ को मन्त्र जपेर

अलोका,

सामाजिक सञ्जालको ट्रेन्डभन्दा बेग्लै

सद्भावको मौन आन्दोलन बोकेर चुपचाप अघि बढिन्

शान्तिकामी सुन्दर आत्माहरूसँग

सहिष्णुताको निःस्वार्थ भोक साट्दै

‘कर्म गर, फलको आशा नगर’ भावसाथ ।

अलोका,

टेक्ससदेखि वासिङ्टनका 

एक सय आठ अनिदा अविराम रातदिनहरू

सशक्त चारै पैताला खियाउँदै

तेइस सय माइलको दुरी छिचोल्दै 

दुःख र हाँसोसँगै घुलमिल गर्दै

समयको धुलोले इच्छाहरू 

धमिलो पारिरहँदा पनि

हार नमानी

‘डराउनु पर्दैन’ भाव साँचेर हृदयभरि

आँखाले प्रकाश लेखेर जीवनका गोरेटोहरूमा

अँध्यारोसित नतर्सेर उज्यालो अझै फक्राउँदै

मानवीय आस्थाका जुनेली आभासँग मितेरी कस्दै

निराशाका करुणामय क्रन्दनका सयपत्रीहरू पनि नमुर्झाई  

उल्लासमय वसन्त पर्खेर हृदयका अन्तरकुन्तरमा

विम्बमय शान्तियात्रा पूरा गरिन् निर्धक्क ।

अलोका,

भारतका गल्लीहरूबाट निस्केर

उजाड सीमाहरूलाई मानवीय रेखामा रूपान्तरित गर्दै

शान्ति पदयात्रा पूर्णता दिइन्

तर यात्रा त्यतिमै टुङ्गिँदैन

हरेक जँघारको मानवीय आकाशमा

एउटा सानो तर जिद्दी तारा बनेर

हरेक अन्यायको छायामा 

उज्यालोको अक्षर कोर्ने दिव्य कलम बनिन् ।

अलोका,

फगत नाम मात्र होइन, आन्दोलनको प्रकाश हो

आशाको चहकिलो स्वर हो

अनि, मानवता र विश्वशान्तिको धड्कन पनि हो ।