आज १० वर्षपछि मैले बाउलाई देखेँ । जब जब बाउको अभाव खट्किन्थ्यो म उनलाई खुब सम्झिन्थेँ । सोच्थेँ, के बाउ बाँचेका छन् होला ? कि मसँग आँखा जुधेको त्यो रात नै उनी कतै नदीमा फालहाले ? भासिइसके कि कमलामा ? तर खै किन त्यो रात, अन्धकारमा विलीन हुने बाउ जीवित रहेको आभास मलाई बरोबर भइरहन्थ्यो ।
१० वर्षदेखि म स्वयंलाई सराप्दै आएको थिएँ, किन त्यो दिन सबै थाहा हुँदाहुँदै पनि म बाउको नाच हेर्न गएको थिएँ ? बाउले हामी सानो छँदा कहिल्यै पनि आफूसँग लान्थेनन् । अझ बहिनीलाई त सँगै लिएर हिँडेको मलाई सम्झना छैन । किन त्यसो गर्थे भन्ने कुरा जब उमेर भयो अनि बल्ल थाहा पाएँ ।
तर आज अचानक बाउ देखा परेपछि म त्यो भयानक अन्धकार रातभन्दा पनि स्तब्ध हुन पुगेको छु । उनलाई यो अवस्थामा देख्नु पर्ला भन्ने सोचेको थिइनँ । उनी माग्नेको लस्करमा बसेका छन्, न अनुहार छ न त काया । पहिले पहिले जब उनी शृङ्गार गर्थे, पुरुष भेषमा पनि ‘कातिल’ लाग्थे । के हालत बनाइसके हाम्रा बाउले ? मलाई उनले चिन्न सकेनन् । यो भूमिकामा मलाई देखेपछि र अझ चिनेपछि उनी पक्कै निराश हुन्थे । ठिकै भयो नचिनेको पनि । “तिमीहरू पढेलेखेका छौ, आफ्नो स्वतन्त्र बाटो रोज्नू, म जस्तो नबन्नू” भन्थे सधैँ तर मलाई जीवनभरिको मनको भारी दिएर आफू भने अन्धकारमा विलीन भए ।
हो, त्यो दिन पनि जुगल साहुको घरमा मुण्डन संस्कार थियो । बाउ बिहानैदेखि उनको घरमा नाचगानमा सरिक हुनेवाला थिए । जुगल साहुकी सासूले नातिको मुण्डनमा आफ्नो आँचलमाथि नटुवा नचाउने भाकल गर्नुभएको थियो अरे । बिहानै बोलाए पनि दिउँसो मुण्डन संस्कार सुरु भयो र बालकको नानी (मावल हजुरआमा) ले लगाउनुभएको नयाँ सफेद धोतीको आँचलमाथि बाउ खुब भङ्गिमासाथ नाचे ।
बाउ अनुभवी नटुवा थिए, हाम्रो पुर्खौंदेखिको कौशल उनमा सरेको थियो । नटुवानाचमा उनी सारा परोपट्टामा कहलिएका थिए । जहाँ नाच्न जान्थे, त्यहाँका महिलालाई मक्ख पारेर कसरी निछाउर (दक्षिणा) लिनुपर्छ, त्यो उनलाई राम्रोसँग थाहा थियो । सात गाउँ कुटुम्ब भएको घरमा त झन् उनले आफ्नो विशेष कला देखाउँथे । त्यो दिन पनि नाची नाची ‘हजमा रे ! बौवाकी मौसी (सानिमा) तोरे देबौ रे, रे मामी (माइजू) तोरे देबौ रे...’ परिहासपूर्ण गीत गाएर राम्रै ‘निछाउर’ पाए । दिनभरि रमाइलो भयो ।
भोजभात सकेपछि साहुका नातागोताका मर्दहरूले बाउलाई घेरेर ‘नाच देखाएर जा’ भनेपछि बाउले भङ्गिमासाथ नाच सुरु गरे । महफिल जम्दै गएको थियो । रात छिप्पिँदै गएपछि म र मेरा दुई जना साथी भने मिठो भोज खाने लोभमा त्यहाँसम्म डोरिएका थियौँ । भर्खर २२ वर्ष लाग्दै थिएँ, मूलढोकाबाट भित्र पस्नासाथ देखेँ, बाउले सधैँ लगाउने घाघरा र चोलो लगाएर नाचिरहेका छन् । एकमन फर्किजाऊँ भए पनि साथै गएका रमेश र दिनकरले भोज चलिरहेको ठाउँतिर इसारा गरे । हामी त्यता जाने मौका खोज्दै थियौँ, यत्तिकैमा बाउ नाचिरहेको बरन्डामा रक्सीले मातेका एक जना चढे र उनले लगाएको चोलो उचालिदिए । बाउ अलिकति रिसाएको भङ्गिमासाथ निक्खर सेतो ब्रा देखाई देखाई नाच्न थाले । पुरुषमा जोस आइसकेको थियो, थुप्रै बरन्डा उक्ले । मेरो अनुहारको रङ भने उडिसकेको थियो । बाउको त्यो अनुहार त मैले देखेकै थिइनँ । बाउ नटुवा हुन् र उनी महिलाको वस्त्र लगाएर महिला जस्तै गाजल र लालीपोतो लगाएर नाच्छन् भन्ने त हामीलाई थाहा थियो । किनभने कहिलेकाहीँ घरबाटै सजिसजाउ भएर निस्किन्थे । त्यो माहोल हाम्रो लागि नयाँ थिएन । उनी टोलसमाजभरि र छिमेकको गाउँभरि नै नाच्दै हिँड्थे । मुण्डन, व्रतबन्ध, विवाहदेखि कुनै पनि माङ्गलिक कार्यमा उनी घाघरा लगाएर नाच्थे तर हामीले बाउलाई नाचेको प्रत्यक्ष देखेका थिएनौँ । माईले बाउको कुनै पनि सभामा जान दिन्नथी तर पुरुषहरूबिच, बाउको त्यो नङ्गा नाच हेर्दा मलाई धर्ती भासिएको जस्तो भयो । अझ मेरा साथीहरू मैसँग थिए, उनीहरूले पनि ती सारा दृश्य देखेका थिए ।
बाउ उनीहरूलाई खुसी पार्दै नाच्न थाले । त्यसपछि थुप्रैले मुखमा रुपियाँ लिएर उनको जिउ महिलाका हुन् जस्तो गर्दै उनको छेउमै पुग्न थाले, बाउले पनि पैसा लिएर ब्राभित्र कोच्न थाले । यतिमा एक जनाले बाउलाई नराम्रोसँग अँगालो हाले, अरू पनि आए, मलाई भने बान्ता आउला जस्तो भयो । बाउ नाची नाची उनीहरूलाई मनोरञ्जन गर्दै महिला जस्तो भङ्गिमामा यताउता दगुर्न थाले । मानौँ, उनी स्वयम् पनि आफूलाई महिला नै ठान्न थालेका थिए । सोही क्रममा बाउको आँखा एक्कासि ममाथि पर्यो । उनी एकछिन अडिए... हामी त्यहाँबाट भाग्यौँ ।
त्यसपछि म रक्सीले चुर भएर राति १२ बजेतिर घर फर्कें, के के बोलेँ मलाई थाहा भएन । झगडा र गालीगलौज गरेँ अरे । भोलिपल्ट म ब्युँझिँदा भने बाउ कतै निस्किसकेका थिए । उनले सधैँ बोक्ने झोला र उनका नटुवाका घाघरा–चोली पनि त्यहीँ थियो । उनी फर्केनन् । फर्कंदै फर्केनन् । कसैलाई केही नभनी, नबोली निस्के ।
उनी पुरुष हुन् भन्ने थाहा पाएर पनि उनको शरीरमाथिको महिलाको आवरणले कति रसिक हुन सकेको हाम्रो पुरुष समाज ? उदेक लाग्थ्यो मलाई यस्ता कुरा सोचेर । किन बाउले आफ्नो नटुवाको संस्कृतिलाई बाबु–भैयाका लागि मनोरञ्जन बनाइदिए ? तर सोच्छु– बाउले त्यो अभद्र व्यवहार कति सहे होलान् ?
हाम्रो भाग्य बदल्न उनले आफूलाई नुमाइसका साधन बनाए । के कसैका बाउको माया त्यो हदसम्मको पनि हुन सक्छ ?
र आज म पनि त्यही हदमा पुगेको छु । बाउको, ‘यो पेसा नअपनाउनु’ भन्ने हिदायत केही काम लागेन । उनी हिँडेपछि काम खोज्दै म कति भौतारिएँ कति । अन्ततः मैले परिवार पाल्न पुनः उनकै स्थान ओगटेँ । आज बनारसको घाटमा पनि एउटा उपनयन संस्कारमा नाच्न भनेरै आएको हुँ । भाग्यवश बाउलाई अस्सी घाटको माग्नेहरूको एउटा लस्करमा देखेँ ।
उनी साधु जस्तै भएका थिए । मैले बाउ भनेर अँगालो हाल्दा उनी चकित भए । मैले नटुवाको भेष पखालिसकेको थिएँ उद्यपि उनले मलाई चिनेनन् । मैले भनेँ, “बाउ किन हामीलाई छोडेर हिँडेको ? म केबाट के भएँ ? किन मलाई त्यस रात झापड नहानेको ? मलाई घरबाट निकालेको भए पनि हुने, किन हामीलाई बेसहारा बनाएर भागेको... ?”
म निकैबेर सुँक्क सुँक्क गरिरहेँ । हामीलाई अचम्म मान्दै हेर्नेको भिड हट्दै गयो । बाउले बल्ल मुख खोले र भने, “मलाई थाहा थियो म हिँडेपछि तिमीहरूले मेरो खोजी गर्ने छौं, त्यही भएर म यता आएँ । सोचेको थिएँ, यो जुनीमा अब हाम्रो भेट हुने छैन... जे भयो त्यो हाम्रो भाग्यमा लेखेको थियो । मलाई थाहा छ, तिमी मसँग रिसाएका छौ, रिसाउनु वा दुःखि हुनु तिम्रो अधिकार हो । कुनै पनि सन्तानले आफ्नो बाउलाई त्यो अवस्थामा देख्न सक्दैन, जुन अवस्थामा तिमीले मलाई देख्नु पर्यो, अपराधी त म पनि थिएँ बेटवा ! म ग्लानिवश भागेको थिएँ ।”
“बाउ हौ... !” म पुनः भक्कानिएँ ।
“नरोऊ, अर्को कुरा तिमीले मलाई घृणा गर्न सक्छौ तर बिन्ती त्यसो नगर्नू । नटुवाको जीवन नै नुमाइस हो, त्यो रात तिमीले जे देख्यौ त्यो त नटुवा समुदायमाथि सदियौँदेखि चल्दै आएको छ । पहिलो पटक देखेर तिमी विचलित भयौ तर मेरो हजुरबा र तेरो हजुरबाले पनि सोही भूमिकामा सबैलाई मनोरञ्जन दिनुभयो । नदेखिने थुप्रै पाटा छन्, के के भनूँ ?”
म सुनिरहेँ । उनले थप्दै गए, “यो रसिया समाजले सदियौँदेखि नटुवालाई वेश्या जत्तिकै देख्यो, हामी त नाच्ने कलाकार पो हौँ त । त्यही भएर मेरो कुनै दोष थिएन बेटवा ! अन्य कुनै इलम पनि त सिकिएन उमेरमा तर तिमीहरूलाई कहिल्यै पनि नटुवा बनेर समाजको अगाडि मखौल बन्न नपरोस् । तिम्री माईलाई पनि म पुरुष भएर महिलाको वस्त्र लगाएको कहिल्यै मन परेन । मेरो कारण तिम्रो किशोर मनमा पर्न गएको खराब छविलाई पखालिदिनू । मैले आफ्नो पेसामा त्यस्ता थुप्रै कर्म बेहोर्नु पर्यो जसले मलाई कति रात सुत्न दिन्थेन...।”
उनी साधु जस्तै भाका बोल्न थालेका थिए । “तिम्री माईलाई कस्तो छ ? तिमी यहाँ किन आएको, छोटका भाइबहिनको खयाल त राख्छौ ?” बल्ल उनी होसमा आए जस्तो लाग्यो । मैले भनेँ, “म नाच्न आएको बाउ, बडका मिसरजीले छोरा पाए, विश्वनाथको आँगनमा नटुवा नचाउने भाकल गरेका थिए ।” बाउको कालो गहिरो आँखामा उदासी छायो । काशी विश्वनाथको मन्दिरतिर मुख फर्काएर उनले केही बर्बराए । तर खोइ के ? भन्छन् नटुवाको बोली लाग्दो रहेछ... ।