• ९ चैत २०८२, सोमबार

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

blog

तेहरान, चैत ९ गते । इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन जारी रहेको जनाएको छ । आइतबार इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युद्ध सम्बन्धी अवस्थाका कारण आवश्यक सुरक्षा उपाय अपनाइएको उल्लेख गरिएको छ ।

विदेश मन्त्रालयले हर्मुज क्षेत्रमा जहाज सञ्चालन स्वतन्त्रता र समुद्री सुरक्षालाई सधैँ सम्मान गर्दै आएको बताएको छ । पछिल्लो समय संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणका कारण खाडी क्षेत्र र हर्मुज क्षेत्रमा जोखिमपूर्ण अवस्था सिर्जना भएको दाबी गरिएको छ ।

इरानले आफ्नो आत्मरक्षाको अधिकार प्रयोग गर्दै आक्रमणकारीविरुद्ध कदम चालिएको जनाएको छ । यस क्रममा उसले अमेरिकी सैन्य अड्डा तथा संरचनालाई लक्षित गरी आक्रमण गरेको पनि उल्लेख गरेको छ । विज्ञप्ति अनुसार, आक्रमणमा संलग्न वा समर्थन गर्ने देशका जहाजलाई हर्मुज क्षेत्र पार गर्न रोक लगाइएको छ । 

तर अन्य देशका गैर-शत्रुतापूर्ण जहाजले इरानी निकायसँग समन्वय गरी सुरक्षित रूपमा आवागमन गर्न सक्ने जनाइएको छ, यदि उनीहरूले इरान विरुद्धको गतिविधिमा सहभागिता जनाएका छैनन् भने । इरानले उक्त क्षेत्रमा दीगो शान्ति र स्थायित्व कायम गर्न बाह्य सैन्य आक्रमण अन्त्य हुनु आवश्यक रहेको जोड दिएको छ । 

साथै, अमेरिका र इजरायलका गतिविधि रोक्नुपर्ने र इरानका वैध हितको सम्मान हुनुपर्ने बताइएको छ । यसअघि इजरायल र अमेरिकाले संयुक्त रूपमा तेहरानसहित इरानका विभिन्न सहरमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनीसहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायल र मध्यपूर्वस्थित अमेरिकी आधारमा मिसाइल तथा ड्रोन आक्रमण गरी प्रतिक्रिया दिएको थियो । रासस/सिन्ह्वा