• ९ चैत २०८२, सोमबार

दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

blog

मटावाँ, बरघर भलमन्सा संघका पदाधिकारीसहित बैठकमा छलफल गरिदै । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, चैत ९ गते । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ । मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा यहि चैत २६ र २७ गते दाङको चखौरामा अन्तरप्रदेश सम्मेलन आयोजना गर्न लागिएको हो। 

संघका केन्द्रीय अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले उक्त सम्मेलन गर्ने निर्णय गरेको हो। बैठकले विभिन्न जिल्लामा संगठन विस्तारलाई पनि तीव्रता दिएको जनाएको छ। महासंघका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतलगायत जिल्लामा शाखा विस्तार भइसकेको छ।

संघले स्थानीय तहदेखि प्रदेश सरकारसम्म मटावाँ तथा बरघरसम्बन्धी ऐन निर्माण गर्न दबाब दिँदैआएको छ। सम्मेलनमा लुम्बिनी प्रदेशका करिब पाँचसय मटावाहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। यस्तै, सम्मेलनमार्फत संगठन सुदृढीकरण, अनुभव आदानप्रदान तथा समुदायका मुद्दामा साझा धारणा निर्माण गर्ने लक्ष्य लिएको संघका केन्द्रीय अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।