चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ९ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबे यतिबेला मतदाता भेट गर्नमा व्यस्त रहनुभएको छ ।
नवनिर्वाचित सांसद अर्थात प्रतिनिधिसभा सदस्य थेबेले गाउँ–गाउँमा पुगेर मतदातासँग भेट गरिरहनुभएको हो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि थेबेले यतिबेला जिल्लाको पूर्वी क्षेत्र सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका मतदातासँग भेट गर्दै हिँड्नुभएको छ । सिरिजङ्घा गाउँपालिकाका केही र सिदिङ्वा गाउँपालिकाका प्रत्येक वडामा पुगेर सांसद थेबेले मतदातासँग भेट गरी रहनुभएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउन सहयोग गरेकोमा मतदातालाई धन्यवाद दिन र स्थानीय जनताको समस्या तथा गुनासोहरू सुन्नलाई थेबे गाउँ–गाउँ पुग्नुभएको बताइएको छ । सांसद निर्वाचित भएपछि थेबेको गृह गाउँ सिरिजङ्घा गाउँपालिका–१, सिनाम पुगेर उहाँले स्थानीय मतदाता तथा आफन्तसँग भेट गर्नुभएको छ ।
सोही गाउँपालिका–२, आम्बेगुदिनमा पुगेर मतदातासँग भेटगरी धन्यवाद दिनुका साथै उनीहरूको सुझाव, समस्या र गुनासोबारे थेबेले जानकारी लिनुभएको छ । उहाँले स्थानीय मतदाताको बधाई तथा शुभकामना ग्रहण गर्दै आउनुभएको छ ।
यसैगरी आइतबार सिदिङ्वा गाउँपालिका–१, काली खोला पुगेर सांसद थेबेले मतदातासँग भेट गर्नुभएको छ । उहाँले सिदिङ्वा गाउँपालिकाको वडा २ सादेवा, वडा ३ आङ्खोप, वडा ४ साब्लाखु, वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेका मतदातासँग पनि भेट गरी सक्नुभएको छ । मतदातासँग भेट गरेर सांसदले धन्यवाद दिने र उनीहरूको सुझाव तथा गुनासोहरू सुन्ने कार्य जारी राख्नुभएको छ ।
भेटका क्रममा मतदाताले शिक्षा, स्वास्थ्यसहित विकास निर्माण र स्थानीय आवश्यकताका पूर्वाधार तथा योजनाका लागि बजेट व्यवस्था गरिदिन र जिल्लाको समग्र विकास साथै समृद्धि गर्नेतर्फ विशेष ध्यान दिन स्थानीयले सुझाव दिने गरेका छन् । स्थानीय अर्थात मतदाताले निर्वाचनअघि भोट माग्ने क्रममा गरेका बाचाहरू पूरा गर्न थेबेसमक्ष माग गरेको बुझिएको छ ।
मतदातालाई भेटघाट गर्ने कार्यक्रमसँगै गएको चैत १ को हावाहुरीले क्षति गरेको सिदिङवाका विभिन्न ठाउँको सांसद थेबेले स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । हावाहुरीले क्षति गरेको सार्वजनिक तथा निजी संरचनाहरुको निरीक्षणसँगै पीडित परिवारहरूसँग उहाँले भेट गर्नुभएको छ ।
सो समयको हावाहुरीले सिदिङ्वा गाउँपालिकाका विभिन्न वडामा रुख ढलेर केही निजी घर तथा सार्वजनिक संरचनामा क्षति गरेको थियो । त्यस्तै, हावाहुरीले सार्वजनिक संरचना अन्तर्गत वडा कार्यालय र विद्यालयहरूको छाना उडाएर क्षति गरेको थियो भने करिब डेढ दर्जन परिवार स्थानीवासीको घरको छाना हावाहुरीले उडाएको थियो । हावाहुरीले पुर्याएको विभिन्न क्षतिबाट साढे ७५ लाख रुपियाँ बढीको नोक्सानी हुन पुगेको प्रहरीले तथ्याङ्क सङ्कलन गरेको छ ।
यता नवनिर्वाचित सांसदको मतदाता भेट गर्ने कार्यक्रममा नेकपा (एमाले) ताप्लेजुङका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु, सचिव सन्तोष चाम्लिङ राई लगायतका नेता, कार्यकर्ता सहभागी हुनुभएको छ ।
स्थानीय मतदाताले दिएको सुझाव तथा समस्या र गुनासोका आधारमा आफूले जिम्मेवारी निर्वाह गर्ने सांसद थेबेले प्रतिबद्धता जनाउँदै आउनुभएको बताइएको छ ।