काठमाडौँ, चैत ९ गते । संकटा फुटबल क्लबले रोकिएको राष्ट्रिय लिग र फुटबल प्रतियोगिता छिटो सञ्चालन गर्न माग गरेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा संकटा क्लबका अध्यक्ष इद्रमान तुलाधरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिता स्थगित गर्दा लगानी जोखिममा परेको बताउनुभयो ।
यही चैत ५ गते अध्यागमन विभागले श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई सहभागी नगराउन एन्फालाई पत्राचार गरेपछि एन्फाले काठमाडौँमा जारी राष्ट्रिय पुरुष लिग र शहिद स्मारक महिला फुटबल लिग अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित गरेको थियो ।
अध्यक्ष तुलाधरले क्लबले पुरुष लिगका लागि ७० लाख र महिला लिगका लागि ८० लाख रुपियाँ खर्च भएको पनि बताउनुभयो । संकटाले आफ्नो क्लबमा विदेशी खेलाडीहरूको श्रम स्वीकृति प्रक्रिया पूरा गरी एन्फलालाई बुझाएको पनि अध्यक्ष तुलाधरको भनाइ छ ।
तुलाधर आफै एन्फाको प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत हुनुहुन्छ । हालको आर्थिक भार, प्रतियोगिता अनिश्चित तथा व्यवस्थापनमा देखिएको चुनौतीले क्लबलाई प्रत्यक्ष असर परेको छ, तुलाधरले भन्नुभयो ।
क्लबले सम्बन्धित निकाय तथा सरोकार पक्षले विशेष ध्यान दिन आवश्यक रहेको पनि जनाएको छ । प्रतियोगिता यथाशीघ्र सञ्चालन गर्न, विदेशी खेलाडीको श्रम स्वीकृति तत्काल प्रदान गर्न माग पनि गरेको छ ।