• १३ साउन २०८१, आइतबार

‘नेपाल मस्तिष्क र भारत मन हो’

blog

काठमाडौँ, कात्तिक १ गते । दुई दिने कलिङ्ग साहित्य महोत्सवको काठमाडौँ संस्करण सम्पन्न भएको छ । असोज २९–३० सम्म आयोजित उक्त महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले नेपाल र भारतका साझा संस्कृति, धार्मिक मान्यता, सामाजिक जीवन, जनस्तरको सम्बन्धबारे विविध चर्चा गर्नुभयो । 

‘नेपाल मस्तिष्क हो, भारत मन हो’ उपकुलपति गुरुङले थप्नुभयो, “मस्तिष्क र मन नमिलेमा ठूलो विसङ्गति उत्पन्न हुन्छ ।” 

भारतबाट आउनुभएका वरिष्ठ कवि अशोक बाजपेयीले भारत र नेपाल देश बन्नुभन्दा पहिलेदेखि हिन्दी र नेपाली भाषा बोल्न थालिनुभन्दा पहिलेदेखि नेपाल र भारतबीच हार्दिक सम्बन्ध रहेको विचार व्यक्त गर्नुभयो । 

नेपाल र भारतका गरी २०० कवि, साहित्यकार, लेखक, पत्रकार, कलाकार, पुुस्तक व्यवसायी सहभागी उक्त सम्मेलनमा छुट्टाछुट्टै ५० वटा सत्रमा नेपाली, हिन्दी, नेवारी भाषाका कविता वाचन, लघुकथा वाचन, गजल वाचन र यी विधाको वर्तमान अवस्थाबारे समीक्षा गरिएको थियो । 

यस्तै महोत्सवमा नेपाल र भारतमा विकसित साहित्यका नयाँ प्रवृत्तिबारे संवाद, नेपाल–भारत सम्बन्ध र कवि, लेखकहरूको भूमिका, नारी लेखन र शक्ति, नेपाल भारतबीचको धार्मिक मान्यता र लेखन कार्यमा पनि छुट्टाछुट्टै सत्रमा विचार विमर्श गरिएको थियो । 

महोत्सवमा आधुनिक कला प्रदर्शन र दुवै देशका कला तथा साहित्यको समीक्षा गरिएको थियो ।