• २० असोज २०८१, आइतबार

समानुपातिकतर्फको मतपत्र ढुवानी जारी

blog

काठमाडौँ, कात्तिक १ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको छ। निर्वाचन आयोगका अनुसार सोमबार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ  जिल्लामा मतपत्र ढुवानी भएको छ। 

प्रदेश १, मधेश र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको हो। प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधि सभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन्। ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही र सिन्धुली जिल्लामा यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ। 

यसैबीच प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ महिला उम्मेदवारको सङ्ख्या ५५ प्रतिशत बढिरहेको देखिएको छ। प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको कुल सङ्ख्या दुई हजार ४०२ छ। यसमा महिला उम्मेदवारको सङ्ख्या एक हजार ३१३ छ भने पुरुष उम्मेदवारको सङ्ख्या एक हजार ८९ छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश सभातर्फ महिला समानुपातिक उम्मेदवारको सङ्या दुई हजार ४२६ छ। 

आयोगका अनुसार प्रदेश सभाको समानुपातिकतर्फ पुरुष उम्मेदवारको सङ्ख्या एक हजार ६२९ छ। प्रदेश सभाको समानुपातिकतर्फ कुल चार हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ। प्रदेश १ मा ४०६ महिला र २५५ पुरुष, मधेशमा ५७० महिला र ३७७ पुरुष, बागमतीमा ४७१ महिला र ३५४ पुरुष, गण्डकीमा २२१ महिला र १४५ पुरुष, लुम्बिनीमा ४०३ महिला र २५४ पुरुष, कर्णालीमा १३१ महिला र ९१ पुरुष तथा सुदूरपश्चिम प्रदेशमा २२४ महिला र १५३ पुरुष उम्मेदवार रहेका आयोगले जनाएको छ। 

आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ। सो निर्वाचनमा ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्दैछन्। देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र रहनेछन्।