• १० माघ २०८१, बिहिबार

सुदूरपश्चिममा १३ जना उम्मेदवारको जमानत जफत

blog

भावना जोशी
अत्तरिया, मङ्सिर १९ गते ।
सुदूरपश्चिममा उपनिर्वाचनका १३ जना उम्मेदवारको जमानत जफत भएको छ । पाँच स्थानमा भएको उपनिर्वाचनमा २६ जना उम्मेदवार  रहनुभएको थियो ।

निर्वाचन कार्यालय सुदूरपश्चिमका अनुसार नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा उम्मेदवार दिएकोमा तीन जनाको जमानत जफत भएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई स्थानमा उम्मेदवार उठाएकोमा दुबै उम्मेदवारले जमानत जोगाउन नसकेको बताइएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा अध्यक्षको उम्मेदवार बन्नुभएको रास्वपाका जानकी कुमारी खड्का कुँवरले ३१ मत मात्रै प्राप्त गर्नुभयो ।

पूर्वीचौकी गाउँपालिका–६ मा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत प्राप्त गर्नुभएको थियो भने उहाँले पनि जमानत बचाउन सक्नुभएन ।

बझाङको सुर्मा गाउँपालिका–४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्करबहादुर बोहराको जमानत जफत भएको छ । बोहराले १७ मत मात्रै ल्याउनु भएको थियो ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरकोे २५ मत मात्रै प्राप्त गर्नु भयो । सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा नौ जना उम्मेदवारको जमानत जफत भएको छ । नेकपा (एकीकृत समाजवादी)का जितेन्द्रबहादुर चन्द, रास्वपाका रामदत्त भट्ट, स्वतन्त्र थानेश्वर लेखक, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौरा, माओवादी केन्द्रका नानाराम कोली, स्वतन्त्र युवराज चन्द, राप्रपा नेपालका दिलबहादुर धामी, नेमकिपाका दलबहादुर बोहरा र जनमत पार्टीका यादवबहादुर चन्दले जमानत जोगाउन सक्नुभएन । जमानत फिर्ता पाउन सदर मतको १० प्रतिशत मत कटाउनु पर्ने प्रवधान रहेको छ ।