• १० माघ २०८१, बिहिबार

गुल्मीमा ६ उम्मेदवारको जमानत जफत

blog

स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, मङ्सिर २० गते ।
मुसिकोट नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा छ जना उम्मेदवारको जमानत जफत भएको छ ।

यही मङ्सिर १६ गते सम्पन्न भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित तीन स्वतन्त्र उम्मेदवारको एक हजार रुपियाँ जमानत जफल भएको हो ।

निर्वाचन निर्देशिका अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत नआउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान छ । जमानत जोगाउनका लागि वडामा उम्मेदवारहरुले कम्तीमा पनि दुई सय ३० मत ल्याउनुपर्ने थियो ।

माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार दुर्गा बिकको एक सय ४३, रास्वपाका विकास थापाको ४३, राप्रापाका श्वरी खातीको पाँच, स्वतन्त्र उम्मेदवार योगेन्द्र पोखरेलको एक तथा कुलबहादुर थापा र पोमानन्द खरेलको शून्य मत प्राप्त भएको थियो ।

मुसिकोट १ को उपनिर्वाचनमा  नेपाली कांग्रेस र नेकपा (एमाले)बाहेक सबै उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिनुभयो । कुल चार हजार ९३ मतदाता रहेको वडामा दुई हजार तीन सय ३४ मत खसेको थियो ।

जसमा दुई हजार तीन सय छ मत सदर भएको छ भने २८ मत बदर भएको हो । उक्त वडामा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार १८४ मत ल्याएर विजयी हुनुभएको छ ।