• १८ असार २०८१, मङ्गलबार

यू–१२ टिम टेनिसमा नेपाल पराजित

blog

टेनिसमा माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दै नेपालकी शिभाली गुरुङ । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ ३० गते । नेपाल आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा सोमबार पराजित भएको छ । नेपालको छात्र र छात्रा दुवै टोली पराजित भएको हो । सातदोवाटो स्थित टेनिस कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको छात्रमा श्रीलंकाले नेपाललाई ३–० ले हरायो ।  

सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६–०, ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४, ६–४ को सोझो सेटमा हराउनुभयो । डबल्समा मयुरन र मुथुथन्थ्रीको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–२, ६–२ को सोझो सेटमा स्तब्ध बनायो । छात्रमै बंगलादेशले माल्दिभ्स तथा भारतले भुटानलाई समान ३–० ले पन्छायो । 

नेपाल टेनिस संघको आयोजना गरेको प्रतियोगिताको छात्रामा माल्दिभ्सले नेपाललाई २–१ ले निराश  बनायो । सिंगल्समा प्राज्ना मानन्धरले कलिमलाई ६–१, ६–२ को सोझो सेटमा पाखा लगाउनुभयो । अर्को खेलमा निशानले शिभाली गुरुङलाई ६–१, ३–६, ६–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याउनुभएको थियो । 

निर्णायक खेलमा निशान र अलीको जोडीले शिभाली र प्राज्नाको जोडीलाई ६–०, ६–२ ले पाखा लगाउन सफल भयो । अन्य खेलमा श्रीलंकाले बंगलादेश तथा भारतले भुटानलाई समान ३–० ले हरायो । 

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा दक्षिण एसियाका सातै देशको सहभागिता रहेको छ । प्रतियोगितामा छात्र र छात्रामा विजेताले काजकिस्तानमा आयोजना हुने एसिया कपमा सहभागिताको अवसर पाउने छन् ।