• २९ फागुन २०८२, शुक्रबार

देवीकोट दर्शन दौड : पुरुषतर्फ बुढा र महिलातर्फ न्यौपाने प्रथम

blog

प्रथम खुला पुरुष तथा महिला क्रसकन्ट्री दौड प्रतियोगिताका बिजेता खेलाडी । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, फागुन २९ गते । प्रथम खुला पुरुष तथा महिला क्रसकन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ जुम्लाकी  पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको छ । 

दाङको राप्ती गाउँपालिकाको नवौं स्थापना दिवसका अवसरमा शुक्रवार आयोजना गरिएको प्रथम खुला पुरुष तथा महिला क्रसकन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको छ । प्रथम हुनुभएका बुढा र न्यौपानेले नगद ५०-५० हजार रुपियाँसहित पुरस्कृत हुनुभएको हो । दौडमा अर्जुन बुढाले २५ मिनेट ४४ सेकेन्ड र न्यौपानेले ४८ मिनेट ३ सेकेन्डमा दुरी पार गर्नुभएको थियो । 

त्यसैगरी प्रतियोगितामा पुरुषतर्फ जुम्लाका चन्द्र रावत ३४ मिनेट ४१ सेकेन्डका साथ दोस्रो तथा जुम्लाकै युवकराज बुढा ३६ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थानमा हुन सफल हुनुभएको छ । प्रतियोगिताम दाङ तुलसीपुरका विशालकुमार महत ४० मिनेट ४ सेकेन्डमा चौथो, गोरखाका सञ्जय श्रेष्ठ ४१ मिनेट १७ सेकेन्डमा पाँचौँ र दार्चुलाका अक्कल पाल ४१ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै छैटौँ स्थानमा हुन सफल हुनुभयो । 

प्रतियोगिता महिलातर्फ जुम्लाकै कल्पना बुढा ५० मिनेट ३ सेकेन्डमा दोस्रो, जुम्लाकै सन्देवा बुढा ५२ मिनेट २४ सेकेन्डका साथ तेस्रो स्थान, जुम्लाकी सुन्तली पाण्डे ५८ मिनेट १८ सेकेन्डमा चौथो, सुदूरपश्चिमकी सरस्वती भट्टराई ५८ मिनेट ६ सेकेन्डमा पाँचौँ र जुम्लाकी अन्तिमा बुढा ५९ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै छैटौँ लिन सफल हुनुभएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार र मेडलहित द्वितीय हुने खेलाडीलाई नगद ४० हजार र तृतीय हुनेलाई ३० हजार र अन्य खेलाडीलाई पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो । 

बिजेता खेलाडी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेय, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ २ सय ३३ जना र महिलातर्फ ७७ गरी कुल ३ सय १० खेलाडीको सहभागीता रहेको थियो ।