• २८ फागुन २०८२, बिहिबार

महावीर पुनलाई दुर्व्यवहार गरेकाे आराेपमा एक पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन २८ गते । म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरमा आफ्नो पुस्तक बिक्री गरिरहेका बेला पुनमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

कास्की प्रहरीले सो घटनामा पुनमाथि दुर्व्यवहार गर्ने पोखरा–१३, बाँझापाटन बस्ने ४३ वर्षीया विकास गुरुङलाई बिहीबार पक्राउ गरेको हो । “सामाजिक सञ्जालमा उहाँलाई अभद्र व्यवहार भएको भिडियो सार्वजनिक भएपछि अनुसन्धानका क्रममा त्यस्तो व्यवहार गर्ने एक जनालाई बिहीबार नियन्त्रणमा लिएका छौँ,” जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले भन्नुभयो । 

पोखरा–९, महेन्द्रपुलबाट गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । यसरी पक्राउ पर्ने गुरुङ यसअघि तीन पटक लागुऔषध मुद्धामा सजाय पाएका व्यक्त भएको खुलेको छ । 

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका पुन अहिले पोखराका विभिन्न ठाउँमा आफ्नो पुस्तक बिक्री गरिरहनुभएको छ ।