• २८ फागुन २०८२, बिहिबार

प्रतिस्पर्धामा कुनै पनि उम्मेदवार पराजित हुनुभएको होइन : नवनिर्वाचित सांसद मल्ल

blog

छत्रेश्वरी-२ मा आयोजित कार्यक्रममा आफ्ना धारणा व्यक्त गर्नुहुँदै नवनिर्वाचित सांसद मल्ल । तस्बिर : शंकर केसी

शंकर केसी

सल्यान, फागुन २७ गते । सल्यानबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रमेश मल्लले निर्वाचनमा प्रतिस्पर्धा गरेका कुनै पनि उम्मेदवार पराजित नभई सम्मानजनक मत प्राप्त गरेको बताउनुभएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका–२ दहखोलामा आयोजित कार्यक्रममा बोल्दै मल्लले लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा स्वाभाविक हुने र सबै उम्मेदवारले जनताको विश्वास पाएको बताउनुभयो।

उहाँले नेपालको निर्वाचन प्रणालीले सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचित गर्ने व्यवस्था रहेको उल्लेख गर्दै आफू पनि सोही प्रणालीअनुसार निर्वाचित भएको स्पष्ट पार्नुभयो। “भोट सबैले ल्याउनु भएको छ, हाम्रो निर्वाचन प्रणालीले पहिलो हुनेलाई निर्वाचित गर्छ, त्यसैले म निर्वाचित भएको हुँ,” मल्लले भन्नुभयो, “प्रतिस्पर्धामा रहेका साथीहरू पराजित हुनुभएको होइन, उहाँहरूले पनि सम्मानजनक मत प्राप्त गर्नुभएको छ।”

मल्लले आफूलाई मत दिने मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचन प्रक्रियामा सहभागी भएर अन्य दलका उम्मेदवारलाई मतदान गर्ने मतदातालाई पनि उत्तिकै सम्मान गर्ने बताउनुभयो। लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुने र त्यसबाट प्राप्त परिणाम नै जनताको अभिमत हुने उल्लेख गर्दै उहाँले लोकतन्त्रको सुन्दरता पनि यही प्रक्रियामा रहेको बताउनुभयो।

सो अवसरमा उहाँले छत्रेश्वरी-२ को वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको पनि उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी लगायतको सहभागिता थियो ।