काठमाडौँ (एजेन्सी), फागुन २८ गते । संयुक्त राष्ट्रसङ्घका एक शीर्ष विज्ञले मध्यपूर्वमा जारी युद्ध र सहायतामा विश्वव्यापी ध्यान केन्द्रित हुँदा म्यान्माको मानवअधिकार उल्लङ्घन र मानवीय सङ्कट अझ भयावह हुने चेतावनी दिनुभएको छ। म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक टम एन्ड्रयुजले एएफपीलाई दिएको अन्तर्वार्तामा म्यान्माको सैन्य जुन्ताले नागरिकमाथि निरन्तर आक्रमण गरिरहेको र मानवीय सहायतामा अवरोध पुर्याइरहेको बताउनुभएको हो।
एन्ड्रयुजले भन्नुभयो, “मध्यपूर्वको युद्धले म्यान्माको सङ्कटलाई नाटकीय रूपमा बढाउने जोखिम छ। यसले अन्तर्राष्ट्रिय दृष्टिकोणबाट म्यान्मालाई अझ बढी ओझेलमा पार्न सक्छ। अहिलेको अवस्था निकै बिग्रिएको छ र यो अझ खराब हुन सक्छ।” हार्वर्ड विश्वविद्यालयको दक्षिणपूर्वी एसिया मानवअधिकार परियोजनाका प्रमुख एन्ड्रयुज अमेरिकी पूर्वसांसदसमेत हुनुहुन्छ।
गत फेब्रुअरी २८ मा इरानमाथि भएको हवाई आक्रमणपछि मध्यपूर्वमा सुरु भएको युद्धअघि नै म्यान्मामा मानवीय सहायतामा उल्लेख्य कमी आएको उहाँले औँल्याउनुभएको छ। विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कोषमा भएको सहायता कटौतीका कारण म्यान्माको स्थिति पहिले नै कमजोर बनेको थियो। अन्तर्राष्ट्रिय ध्यान र स्रोतहरू मध्यपूर्वमा केन्द्रित हुँदा म्यान्माले पाउने सहायता अब अझ घट्ने सम्भावना छ।
विशेष प्रतिवेदक एन्ड्रयुजले म्यान्मामा अधिकारको रक्षा र सहायताका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घ नै यतिबेला 'घेराबन्दीमा' परेको महसुस भएको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई विशुद्ध 'लेनदेन'का रूपमा हेरिएको तथ्यको निन्दा गर्दै 'शक्ति नै सत्य हो' भन्ने मान्यता स्वीकार गर्ने संसार असाधारण रूपमा खतरनाक हुने उल्लेख गर्नुभयो।
म्यान्माको अवस्था अहिले निकै भयावह छ। सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेको पहिलो वर्षमा नागरिक लक्षित नौवटा हवाई आक्रमण भएका थिए। तर, गत वर्ष मात्रै सर्वसाधारणलाई निशाना बनाएर एक हजार १४० वटा हवाई आक्रमण भएका छन्। “मानिसहरू केवल गृहयुद्धको द्वन्द्वमा मात्र फसेका छैनन्, उनीहरूलाई योजनाबद्ध रूपमा निशाना बनाइएको छ,” एन्ड्रयुजले भन्नुभयो।
यद्यपि, हालैका वर्षहरूमा अन्तर्राष्ट्रिय दबाबका कारण सैन्य जुन्तामा हुने हतियारको प्रवाहमा भने केही कमी आएको उहाँले जानकारी दिनुभएको छ।