• २८ फागुन २०८२, बिहिबार

ल्याउन थालियो रोकिएका यात्रु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २८ गते । नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई) दुबईको विमानस्थलमा रोकिएका यात्रु ल्याउन सुरु गरेको छ । पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिका कारण दुबई विमानस्थल चैत २ गतेदेखि १४ गतेसम्म पूर्ण बन्द हुने भएपछि निगमले तत्कालका लागि दुई वटा विशेष उडानमार्फत यात्रु ल्याउन वाइडबडी जहाज परिचालन गरेको हो । 

निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले भन्नुभयो, “यसअघि काठमाडौँ–दुबई–काठमाडौँ रुटमा साताको छ दिन उडान गर्दै आए पनि पश्चिम एसियामा जारी द्वन्द्वका कारण पछिल्लो १२ दिनदेखि त्यहाँको उडान रोकिएको छ ।”  उहाँका अनुसार चैत २ गतेदेखि १४ गतेसम्म दुबई विमानस्थलमा आपत्कालीन, उद्धार, चार्टर्ड तथा डाइभर्ट भएका जहाजलाई समेत अवतरण गर्न नदिने भन्ने सूचना प्राप्त भएकाले तत्कालका लागि त्यहाँ रोकिएका यात्रु ल्याउन बुधबार र बिहीबार दुई व्यावसायिक उडान गर्न लागिएको हो । नेपालका रोकिएका यात्रु बोकेर बुधबार राति पहिलो उडान हुने र बिहीबार बिहान दुबईबाट काठमाडौँ आउने र फिर्ता भएपछि अर्को उडानको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता पुनका अनुसार परराष्ट्र मन्त्रालयले समेत आपत्कालीन अवस्थामा हुन सक्ने उद्धार उडानका लागि तयार रहन निर्देशन दिएकाले निगमले हवाई आकाशमा प्रतिबन्ध लागेका खाडी मुलुकबाट फ्लाई ओभरको अनुमति लिनेलगायतका प्राविधिक तयारी गरिरहेको छ । पश्चिम एसिया क्षेत्रका देश युएई, साउदी अरब, कतार, कुवेत, इजरायल, जोर्डन, लेबनान, बराइनलगायतका देशमा लाखौँ नेपाली छन् । ती देशमा रहेका नेपालीको अवस्थाबारे बुझ्न परराष्ट्र मन्त्रालयको निर्देशनमा नेपाली राजदूतावास र महावाणिज्य दूतावासले जारी गरेका अनलाइन पोर्टलमा ५० हजारभन्दा बढी नेपालीले आफ्नो विवरण भरेका छन् । फागुन १६ गतेदेखि कतार, युएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाईक्षेत्रमा प्रतिबन्ध हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त गन्तव्यतर्फ हुँदै आएका दैनिक डेढ दर्जन उडान रद्द हुँदै आएका छन् । हाल दुबई विमानस्थलबाट फ्लाई दुबईले एक र सारहाज विमानस्थलबाट एयर अरेबियाले भने दैनिक तीन उडान गरिरहेका छन् ।